नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दैलेख दुनेचौर गाउँपालिका-५ घर भई ललितपुर महानगरपालिका-२५ बस्ने ४० वर्षीया जानकी न्यौपानेलाई पक्राउ गरेको हो।
उनले आफू कानुन मन्त्रालयको उपसचिव हुँ, अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको भन्दै ठगी गरेको आरोप छ।
विमानस्थलमा विभिन्न शीर्षकमा ठेक्का पारिदिने र राजश्व र धरौटी बुझाउनका लागि भनेर ७ लाख ६० हजार ८ सय रुपैयाँ लिएको आरोप उनीमाथि छ।
अन्य दुई जनालाई पनि अनुदान र ठेक्का मिलाइदिने भनेर रकम लिएको आरोप छ।
यसरी ठगेको आरोपपछि प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको छ।