भुटानी शरणार्थीहरूको मुद्दा अहिले फेरि चर्चामा छ।
एक महिनायता अमेरिकाले भुटान डिपोर्ट गरेका कम्तिमा १८ जना शरणार्थी त्यहाँबाट लखेटिएर नेपाल आइपुगेका छन्। मानव अधिकार संस्थाहरूका अनुसार अमेरिकाले ६३ जना भुटानी शरणार्थी डिपोर्ट गर्न ठिक्क पारेको छ।
यसै सम्बन्धमा हामीले अमेरिकामा रहेका एक यस्ता व्यक्तिसँग कुरा गरेका छौं जो पहिलेका भुटानी शरणार्थी हुन् र अहिले अमेरिकी राज्यका सांसद।
सन् २००९ मा तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगेका ४५ वर्षीय सुरज बुढाथोकी सन् २०२४ को निर्वाचनमा अमेरिकी राज्य न्यू ह्यामसायरको संसद सदस्य (हाउस अफ रिप्रिजेन्टेटिभ) निर्वाचित भएका थिए।
भुटानी शरणार्थी समुदायबाट अमेरिकी संसद सदस्य भएका उनी एक्ला व्यक्ति हुन्।
बुढाथोकीसँग हामीले अमेरिकामा रहेका भुटानी शरणार्थीले भोग्नुपरेको 'डिपोर्टेसन' बारे कुरा गरेका छौं। उनले अमेरिकी सांसदका रूपमा यो मुद्दा कसरी हेरेका छन् र कसरी संसदमा आवाज उठाइरहेका छन् भनेर सोधेका छौं।
सँगसँगै, शरणार्थीका रूपमा नेपाल आउँदाको सम्झनादेखि नेपालबाट अमेरिका पुनर्स्थापना र त्यहाँको राजनीतिमा प्रवेशको कुरा गरेका छौं। उनी भुटानी सरकारलाई एउटा प्रस्ताव पठाउने तयारीमा पनि छन्।
सुरू गरौं, बुढाथोकीले एक अमेरिकी सांसदका रूपमा पछिल्लो घटनाक्रम कसरी हेरेका छन्?

अमेरिकाले विभिन्न आपराधिक गतिविधिमा लागेको भन्दै भुटानी शरणार्थीहरू डिपोर्ट गर्नु बिल्कुलै गलत भएकोमा उनी प्रस्ट छन्।
राजनीतिक र मानव अधिकारको आँखाले हेर्दा मात्र होइन, शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय मान्यताका आधारमा पनि डोनाल्ड ट्रम्प प्रशासनबाट भुटानी समुदायमाथि अन्याय भइरहेको उनी बताउँछन्।
'हामी (भुटानी शरणार्थी) आफ्नो इच्छाले मात्र अमेरिका आएका होइनौं। एउटा देशले नागरिक हक खोसेर अमानवीय ढंगले निकालेपछि अमेरिकाले शरणार्थीका रूपमा पहिचान गरेर यहाँ ल्याएको हो। हाम्रो कानुनी बसोबास स्थल अमेरिका नै हो। हाम्रो घर अमेरिका नै हो,' बुढाथोकीले भने, 'अमेरिकाले बसोबासको कानुनी हक दिएर ल्याएका शरणार्थीलाई एकाएक डिपोर्ट गर्न कानुनी रूपले पनि मिल्दैन।'
उनले अगाडि भने, 'अहिले जो जो डिपोर्टेसनमा परेका छन्, उनीहरूका आमाबुबा, श्रीमती र छोराछोरी अमेरिकामै छन्। तिनका बच्चाहरूलाई आफ्नो बुबा किन अमेरिकाबाट निकालिए भन्ने थाहा छैन। श्रीमतीहरूलाई नयाँ ठाउँमा एक्लै संघर्ष गर्न बाध्य पारिएको छ। बुढेसकालमा पुगेका आमाबुबालाई जवान छोराहरूबाट अलग गराइएको छ। एक दर्जनभन्दा बढी परिवार छिन्नभिन्न पारिएको छ। अमेरिकी सरकारले भुटानी शरणार्थी समुदायमाथि यो हदसम्मको आतंक तत्काल बन्द गर्नुपर्छ।'
डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि अमेरिकाले अन्य देशका आप्रवासीलाई पनि धमाधम डिपोर्ट गरिरहेको छ। तर अन्य आप्रवासी र भुटानी शरणार्थीको मामिला फरक भएको बुढाथोकी बताउँछन्।
'उनीहरूसँग फर्केर जान आफ्नो देश छ, टेक्ने भूमि छ। हामीसँग आफ्नो देश छैन। जुन देशमा हामी जन्मियौं, त्यही देशले हामीलाई आफ्नो नागरिक मान्न अस्वीकार गरेर निकालेको हो। अमेरिकाले हाम्रो सुरक्षा, जीविका र राष्ट्रियताको ग्यारेन्टी गरेर यहाँ ल्याएको हो। अहिले अमेरिकाले आफ्नो बाचा तोडेको छ,' उनले भने।
'हामीलाई डिपोर्ट गरेर भुटान पठाउनु भनेको आगोको भुङ्ग्रोमा हाल्नुजस्तै हो। त्यो देशले हामीलाई कस्तो व्यवहार गर्छ भन्ने अहिलेकै घटनाक्रमबाट प्रस्ट भइसकेको छ,' उनले अगाडि भने, 'त्यसैले भुटानी शरणार्थीलाई डिपोर्ट गर्ने क्रम तत्काल रोकिनुपर्छ भनेर हामी राजनीतिक रूपमा आवाज उठाइरहेका छौं।'
अमेरिकाले डिपोर्ट गरिएका व्यक्ति आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ। हामीले यसबारे पनि बुढाथोकीलाई सोध्यौं।
जबाफमा उनले भने, 'जुन जुन व्यक्ति डिपोर्ट भएका छन्, तिनले विगतमा गल्ती गरेका भए पनि कानुनी सजाय भोगिसकेका छन्। एकचोटि सजाय भोगिसकेका व्यक्तिलाई फेरि त्यही अपराधमा डिपोर्ट गर्नु भनेको दोहोरो सजाय दिनु हो।'
'कानुनी रूपमा थप सजाय दिनुपर्ने स्थिति छ भने पनि त्यसको सुनुवाइ अमेरिकाभित्रै हुनुपर्छ। यहीँको अदालतले सजाय दिनुपर्छ। उनीहरूले त्यो सजाय अमेरिकी भूमिमै भोग्न पाउनुपर्छ,' उनले भने।
पछिल्लो घटनाक्रमले अमेरिकामा रहेको भुटानी शरणार्थी समुदायमा अन्यौल र त्रासको वातावरण छाएको उनले बताए।
नयाँ भविष्यको सपना देखेर आएको देशले पनि जुनसुकै बेला निकाल्न सक्दो रहेछ भन्ने मनस्थिति भुटानी शरणार्थीहरूमा बढेको उनको भनाइ छ।
'आफ्नो मातृभूमि भुटानले अन्यायपूर्वक लखेटे पनि नेपालले आश्रय दियो र अमेरिकाले पनि आफ्नै ठानेर अपनायो भन्ने हामीले सोचेका थियौं। तर यो घटनाले हामीलाई झसंग बनाएको छ। अमेरिकाले त हामीलाई आफ्नो सदस्य ठानेकै रहेनछ; हामी जसरी भुटानबाट निकालियौं, त्यसरी नै यहाँबाट पनि निकालिन सक्दा रहेछौं भन्ने डर शरणार्थी समुदायमा व्याप्त छ,' बुढाथोकीले भने।
संसद सदस्यका रूपमा तपाईं यो मुद्दा कसरी उठाइरहनुभएको छ त?
हाम्रो यो प्रश्नमा उनले भुटानी शरणार्थीहरूको 'डिपोर्टेसन' लाई राजनीतिक मुद्दाका रूपमा उठाउन निरन्तर पहल गरिरहेको जानकारी दिए।
उनी भुटानी शरणार्थीहरूको डिपोर्टेसनविरूद्ध राजनीतिक मत बलियो बनाउने अभियानमा लागेका छन्। यसका लागि आफू सदस्य रहेको न्यू ह्यामसायर राज्यको संसदमा वकालत गर्ने त छँदैछ, त्यसबाहेक अमेरिकी कंग्रेस र सिनेटका प्रभावशाली सदस्यहरूलाई भेटेर लबिङ गरिरहेका छन्। कतिलाई व्यक्तिगत भेटेर त कतिलाई इमेलमार्फत् यो मुद्दाको संवेदनशीलता बुझाइरहेका छन्।
त्यस्तै, अमेरिकाको विदेश मन्त्रालयमा भुटान मामिला हेर्ने अधिकारीहरूलाई पनि पछिल्लो घटनाक्रमबारे अपडेट गराइरहेको उनले बताए।
'विदेश मन्त्रालयका अधिकारीहरूलाई भेटेर भुटानी शरणार्थी डिपोर्ट गर्नु किन गलत हो भनेर बुझाइरहेका छौं। सँगसँगै, डिपोर्ट गरिएका व्यक्तिलाई भुटानले कस्तो व्यवहार गरिरहेको छ र कसरी उनीहरू फेरि नेपालतिरै लखेटिएका छन् भनेर आधिकारिक जानकारी दिएका छौं,' उनले भने।
'यसमा म एक्लै छैन। सांसदका रूपमा मैले सक्रियता लिएको भए पनि हामी सबै भुटानी शरणार्थी यो अभियानमा लागेका छौं।'
अहिलेलाई बुढाथोकीको मुख्य एजेन्डा थप भुटानी शरणार्थीको डिपोर्टेसनमा रोक लगाउनु र डिपोर्ट भइसकेकालाई अमेरिका फिर्ता ल्याउनु हो।
'अमेरिकाले राजनीतिक र मानव अधिकार दृष्टिले भुटानी शरणार्थीहरूमाथि जे गल्ती गरिरहेको छ, त्यो तत्काल रोकियोस् र डिपोर्ट भइसकेका व्यक्तिलाई सुरक्षित अमेरिका फर्काइयोस् भन्ने हाम्रो माग छ,' उनले भने।
यता बुढाथोकीले राजनीतिक रूपमा यो मुद्दा उठाइरहेका बेला मानव अधिकार संस्थाहरू कानुनी ढोका ढकढकाउने तयारीमा पनि छन्।
भुटानी शरणार्थीहरूको डिपोर्टेसन तत्काल रोकियोस् र डिपोर्ट भइसकेकालाई फिर्ता ल्याइयोस् भन्दै अमेरिकी अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको मानव अधिकारवादी अभियन्ता गोपालकृष्ण सिवाकोटीले हामीसँगको कुराकानीमा बताएका छन्। हेर्नुहोस्: अमेरिकाले 'रेड जोन' मा राखेपछि मात्र भुटानले स्वीकार गरेको थियो डिपोर्ट गरिएका शरणार्थी
यसरी राजनीतिक र कानुनी लबिङ गरेर अमेरिकाको वैदेशिक नीतिमा दखल दिन सजिलो छैन भन्ने बुढाथोकीलाई राम्ररी थाहा छ।
'अमेरिकामा भुटानी जनसंख्या एक लाख हाराहारी छ। यति सानो जनसंख्याका लागि अमेरिकाले आफ्नो वैदेशिक नीति परिवर्तन गर्न गाह्रो छ,' उनले भने, 'तैपनि कोसिस छाड्नु हुन्न। यो हाम्रो सिंगो समुदायको भविष्यको सवाल छ। हामी सबैले आ–आफ्नो तर्फबाट गर्नुपर्ने काम सक्रिय रूपले गरिरहेका छौं।'

अब हामी सुरज बुढाथोकीको शरणार्थी जीवन र राजनीतिक यात्राको कुरा गरौं।
साढे तीन दशकअघि भुटानबाट लखेटिएर शरणार्थीका रूपमा नेपाल हुँदै अमेरिका पुगेका बुढाथोकी कसरी त्यहाँको सांसद भए?
सुरजको जन्म सन् १९८० मा भुटानको साम्राङ जिल्लामा भएको हो। उनी सन् १९९० मार्च ३ मा आमाबुबाको हात समातेर शरणार्थीका रूपमा नेपाल छिरेका थिए। त्यति बेला जम्मा १० वर्षका थिए।
उनलाई अहिले पनि आफ्नो गाउँको धमिलो सम्झना छ।
उनलाई याद छ — गाउँमा सबभन्दा आखिरको घर उनकै थियो। उनको घर सकिएपछि जंगल सुरू हुन्थ्यो।
उनलाई याद छ — उनीहरूको धान फल्ने पाखो बारी थियो। बारीमा बोडी, सिमी लगायतका तरकारी पनि मनग्गे फल्थे।
उनलाई याद छ — उनको गाउँमा हात्तीको ठूलो डर थियो। राति हात्ती कराउँदा उनलाई आमाले खाटमुनि लुकाउँथिन्।
उनलाई यो पनि याद छ — उनीहरूको गाउँमा पानीको साह्रै दुःख थियो। उनीहरू गाउँभन्दा टाढाको कुवाबाट पानी ओसार्थे।
उनलाई यो पनि राम्ररी याद छ — भुटान छाडेर हिँड्नुअघि उनी गाउँकै स्कुलमा दुई कक्षा पढ्दै थिए। उनी बाटोभरि साथीहरूसँग गोल खेल्दै स्कुल जान्थे। र, फर्किँदा पनि गोल खेल्दै घर आइपुग्थे।
एकदिन स्कुलमा भुटानी सेनाले धावा बोल्यो।
कक्षा चलिरहँदा भुटानी सैनिकका तीन–चारवटा गाडी आए। स्कुलमा भागाभाग भयो। अरू विद्यार्थीहरूसँगै सुरज पनि भागेर घर आइपुगे।
त्यो दिन उनको बुबा लगभग आधा रातमा घर आइपुगेका थिए। उनी भुटानको सरकारी कोइला खानीमा काम गर्थे। धेरैजसो समय सिलिगुडीतिर हुन्थे।
'राति एक्कासि घर आएर उहाँले हामी सबैका लत्ताकपडा पोको पार्न थाल्नुभयो,' सुरजले सम्झे, 'अब नेपाल जाने भन्दै रातारात हामीलाई घरबाट निकाल्नुभयो।'
उनलाई राम्ररी याद छ — घर छाड्नुअघि उनकी आमाले गोठमा बाँधेका गाईवस्तु खोलिदिएकी थिइन्।
उनलाई राम्ररी याद छ — घर छाड्नुअघि उनकी आमाले भकारीमा बाँकी बचेका मकै आँगनमा छरिदिएकी थिइन्।
उनलाई राम्ररी याद छ — आधा रातमै गाउँ छाडेर उनीहरू फुन्सोलिङ नाकासम्म आएका थिए र त्यहाँबाट ट्रक चढेर पानीटंकी पुगेका थिए। पहिलोचोटि गाडी चढेकाले उनले बाटोभरि बान्ता गरेका थिए।
उनलाई यो पनि राम्ररी याद छ — नेपालको सीमामा कसैले उनीहरूलाई पानी र खानेकुरा दिँदै भनेका थिए, 'यिनीहरू भुटानी राजाले दुःख दिएर लखेटेका व्यक्ति हुन्।'
उनलाई यो पनि राम्ररी याद छ — तिनै व्यक्तिले देखाइदिएको बाटो नाप्दै उनीहरू माईखोला किनार पुगेका थिए र त्यहीँ आफ्नो शरणागत जीवन सुरू गरेका थिए।
'त्यो रात बुबाले एक्कासि भुटान छाड्ने निर्णय किन गर्नुभएछ त?' मैले सोधेँ, 'तपाईंले यसबारे बुबासँग कुरा गर्नुभएन?'
'गरेँ नि,' सुरजले यति भनेर वृत्तान्त सुनाए।
त्यो बेला भुटानबाट नेपालीभाषी समुदाय लावालश्करसहित देश छाड्ने क्रम सुरू भइसकेको थियो। त्यसै क्रममा उनको बुबा काम गर्ने कोइला खानीमा कसैले तोडफोड गरेछ। तोडफोड गर्नेहरू को हुन् थाहा छैन। तिनले अफिस भताभुंग पारेर खानीमा प्रयोग हुने बिस्फोटक पदार्थ लुटेर लगेछन्। यो घटनाले सुरजका बुबा निकै डराएछन्।
खानीमा रहेका ड्रुक्पाहरूले पहिले पनि नेपालीभाषी कर्मचारीलाई बिनाकारण कुट्ने–पिट्ने गर्थे। त्यो घटनापछि झन् कति पिटाइ खानुपर्ने हो भनेर उनी डरले थुरथुर भएछन्। र, भुटान छाड्ने निधो गर्दै हाँपदाँप घर पुगेछन्।
सुरजलाई राम्ररी याद छ — आमा, बुबा, दाइ र बहिनीका साथ गाउँ छाड्दा उनीहरू चकमन्न रातमा जंगलको बाटो हिँडेका थिए। त्यो बेला सायद जंगली हात्तीको भन्दा ठूलो डर भुटानी सरकारको थियो!
सुरजको जिन्दगीमा एउटा राम्रो पक्ष के रह्यो भने, माईखोलामा शरणार्थी जीवन बिताउँदा पनि उनको पढाइ छुटेन। उनले आफै पनि पढाइ छुट्न कहिल्यै दिएनन्।
शिविरकै स्कुलबाट एसएलसी दिएका उनले गौरादह बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह पास गरे। त्यसपछि भद्रपुरको मेची बहुमुखी क्याम्पसबाट अंग्रेजी र राजनीतिशास्त्रमा स्नातक गरे।
शिविरको बसाइले भुटान र नेपालको राजनीतिमा स्वाभाविक रूचि जगाइसकेको थियो। उनी शिविरभित्र हुने राजनीतिक विरोध र छलफल कार्यक्रमहरूमा सरिक भइरहन्थे। स्नातक पढ्दा उनको राजनीतिक रूझान झनै बढ्यो। उनी नेविसंघमा आबद्ध भएर विद्यार्थी राजनीतिमा लागे। कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग त्यति बेला राम्रो चिनजान भएको उनी सम्झन्छन्।
झापामा स्नातक सकेपछि उनी काठमाडौं आए र त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्याम्पसमा अंग्रेजीमा स्नातकोत्तर पढ्न थाले।
त्यसैबीच संयुक्त राष्ट्रसंघको समन्वयमा भुटानी शरणार्थीहरूको तेस्रो देश पुनर्वास सुरू भयो। अमेरिका, अस्ट्रेलिया, क्यानडा र केही युरोपेली मुलुकहरूले भुटानी शरणार्थी लैजान थाले।
त्यसैमा सहभागी भएर सन् २००९ फेब्रुअरीमा सुरज पनि अमेरिका उडे।
उनी पहिला एक्लै गएका थिए। पछि आमाबुबा, दाइ र बहिनी पनि गए। अहिले दाइ भर्मन्ट राज्यमा छन् भने बहिनी फ्लोरिडामा छिन्। अमेरिका गएपछि भुटानी समुदायकै केटी विवाह गरेका सुरजका एक छोरा र एक छोरी छन्।
उनी सुरूमा अमेरिकाको जर्जिया राज्य गएका थिए। केही समय त्यहीँ बसोबास गरेर न्यू ह्यामसायर सरे।
अमेरिका पुगेपछि पनि उनले पढाइलाई निरन्तरता दिइरहे। चुनावी अभियान कसरी सञ्चालन गर्ने भन्ने विषयमा स्नातक गरे र त्यसपछि अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरे। अहिले न्यू ह्यामसायरकै सेब्रोक विश्वविद्यालयबाट सामाजिक रूपान्तरण र द्वन्द्व व्यवस्थापनमा पिएचडी गर्दै छन्।
अमेरिकी राजनीतिमा सुरजको प्रवेश सन् २०२० बाट भयो।
उनले त्यति बेलाको राष्ट्रपति निर्वाचनमा बर्नी स्यान्डर्सको चुनावी अभियानबाट राजनीतिक करिअर सुरू गरेका थिए। चुनावी अभियानमा सक्रिय सहभागी हुँदा माथिल्लो तहका नेताहरूसँग चिनजान र सम्पर्क बढेको उनी बताउँछन्।
'राजनीतिमा रूचि त पहिलेदेखि थियो। तर त्यो अभियानमा सहभागी भएपछि मैले अमेरिकी राजनीति र चुनावी अभियानलाई नजिकबाट हेर्ने मौका पाएँ,' सुरजले भने, 'त्यसले मलाई आफै पनि राजनीतिमा लाग्ने प्रेरणा दियो। न्यू ह्यामसायरका जनता र खासगरी भुटानी शरणार्थी समुदायको हितका लागि राजनीतिकै माध्यमबाट केही योगदान गर्न सक्छु भनेर म यसमा लागेँ।'
सन् २०२४ को निर्वाचनमा उनले न्यू ह्यामसायर राज्यकै संसद सदस्यको चुनाव लड्ने निधो गरे। र, विजयी पनि भए।
'म न्यू ह्यामसायरको दोस्रो ठूलो जिल्लाको प्रतिनिधित्व गर्छु,' उनले भने, 'न्यू ह्यामसायरको सांसदका रूपमा यहाँका सार्वजनिक स्कुलहरूको बजेट कटौती रोक्ने र सम्पत्ति कर बढ्न नदिने एजेन्डालाई मुख्य रूपमा उठाइरहेको छु।'
शरणार्थी तथा आप्रवासीको हित प्रतिकूल हुने विधेयकहरू विरूद्ध पनि उनी दह्रो आवाज उठाउँछन्।
'पछिल्लो समय शरणार्थीका रूपमा अमेरिका आएका, यहीँ आश्रय लिएका, पढ्न आएका वा अमेरिका बस्ने छोराछोरी भेट्न आएका अभिभावकहरूप्रति राज्यले अनुदार नीति लिन खोजेको छ। तिनलाई ग्रिनकार्ड नपाएसम्म ड्राइभिङ लाइसेन्स नदिने विधेयक ल्याइएको छ। यो विधेयक पास भयो भने आप्रवासीहरूको जीवन साह्रै कष्टकर हुनेछ। म अहिले यसको विरोधमा लागेको छु,' उनले भने।
अहिले भुटानी शरणार्थीहरूको डिपोर्टेसनको विरोध पनि उनको मुख्य राजनीतिक एजेन्डा बनेको छ।
'कम्तिमा अमेरिकी कंग्रेस र सिनेट सदस्यहरूलाई यो मुद्दाको संवेदनशीलता बुझाउन सकियो र उनीहरूलाई आफ्नो पक्षमा पार्न सकियो भने हाम्रो लागि ठूलो जित हो,' उनले भने, 'त्यसैलाई टेकेर हामी थप कदम अघि बढाउन सक्छौं।'
'अमेरिकाका लागि हाम्रो एक लाख जनसंख्या भनेको पक्कै सानो हो, तर एक लाख जना सडकमा ओर्ले भने त्यसले दिने दबाब सानो हुँदैन,' अमेरिकी संसदमा भुटानी शरणार्थी समुदायको प्रतिनिधित्व गरिरहेका सुरज बुढाथोकीले भने।
उनका अनुसार अमेरिकाका ४० वटा राज्यमा भुटानी शरणार्थीहरू छरिएका छन्। ती सबै शरणार्थीका माध्यमबाट कंग्रेस र सिनेट सदस्यहरूलाई इमेल पठाउने, आफ्नो समस्या सुनाउने र लबिङ गर्ने काम भइरहेको छ।
उनी व्यक्तिगत रूपमा पनि आफ्नो समुदायलाई यो मुद्दामा आवाज उठाउन प्रेरित गरिरहेका छन्।
'सन् १९९० देखि नै हामी विभिन्न खालका अन्याय र अत्याचारको सिकार हुँदै आएका छौं। हामीलाई आफ्नै देशले अन्यायपूर्वक लखेट्यो। हाम्रो श्रीसम्पत्ति हरण गर्यो। हामी त्यति बेला चुपचाप आफ्नो भूमि छाडेर निस्क्यौं। अहिले पनि चुपचाप बस्यौं भने एकदिन अमेरिकाबाट पनि निस्कनुपर्ने अवस्था आउनसक्छ,' उनले भने।
उनले अगाडि भने, 'अब हामीले आफ्नो निम्ति अरू कोही बोलिदेला भन्ने आसमा पर्खेर बस्ने होइन। किनारमा बसेर गुनासो मात्र गर्नेभन्दा मैदानको बीचमा आएर आफ्नो अधिकार र न्यायको निम्ति बोल्न थाल्नुपर्छ। आफ्नो हकको निम्ति आवाज उठाउनुपर्छ। आफूमाथि भएको अन्याय सबैलाई सुनाउनुपर्छ। म यही भन्दै भुटानी शरणार्थी समुदायलाई आफ्नो हकको लडाइँ लड्न प्रेरित गरिरहेको छु।'

अमेरिकी सरकारसँग भुटानी शरणार्थीको पक्षमा आवाज उठाइरहेका सुरज बुढाथोकीले भुटान सरकारसँग समन्वयको पहल पनि छाडेका छैनन्।
भुटान सरकारले आजभन्दा साढे तीन दशकअघि लखेटेका नेपालीभाषी भुटानीलाई आफ्नो नागरिक स्वीकार गरेर त्यति बेलाको अन्याय सच्यायोस् भन्ने उनको चाहना छ। यसका लागि भुटान सरकारसँग द्वन्द्व व्यवस्थापन र शान्ति पुनर्स्थापनाको प्रस्ताव पठाउने तयारीमा लागेको उनी बताउँछन्।
'म भुटान सरकारलाई समस्त शरणार्थी समुदायका तर्फबाट द्वन्द्व व्यवस्थापन र शान्ति पुनर्स्थापनाको प्रस्ताव पठाउँदैछु,' उनले भने, 'त्यसको मार्गचित्र तयार पार्ने काम गरिरहेको छु। अन्तिम रूप लिएपछि अन्तर्राष्ट्रिय समुदायलाई अगाडि राखेर भुटान सरकारसमक्ष उक्त प्रस्ताव बुझाउनेछु।'
'संसारभरि शरणार्थीका रूपमा रहेका नेपालीभाषी भुटानीहरूको आत्मा भुटानी माटोमा बसेको छ। भुटानसँग उनीहरूको सालनाल गाँसिएको छ। उनीहरू कम्तिमा एकचोटि भुटान गएर त्यहाँको माटो छुन चाहन्छन्। कोही त अन्तिम सास भुटानी माटोमै फेर्न पाइयोस् भन्ने चाहना राखेर बसेका छन्। भुटान सरकारले ती लाखौं शरणार्थीहरूको स्वदेश फिर्तीको आवाज सुन्नुपर्छ,' उनले भने।
उनले यो पनि भने, 'साढे तीन दशक पुरानो घाउलाई अब सधैंको निम्ति उपचार गर्ने बेला आएको छ। यो द्वन्द्व अब सधैंका लागि अन्त्य हुनुपर्छ।'
उनी सधैंका लागि द्वन्द्व अन्त्य गर्न शान्तिको खाका बुनिरहेका बेला भुटान सरकारको रवैया भने बदलिएको छैन। अमेरिकाले डिपोर्ट गरेका व्यक्तिलाई अपनाउन इन्कार गर्नु र फेरि लखेटेर नेपालतिरै पठाइदिनुले नेपालीभाषी समुदायप्रति भुटानको सोच आज पनि उस्तै रहेको छर्लंग पार्छ।
सुरज बुढाथोकीले भुटान सरकारसँग द्वन्द्व व्यवस्थापन गर्न लामो बाटो तय गर्नुछ।
त्योभन्दा अगाडि त, भुटानी शरणार्थीलाई हेर्ने अमेरिकी सरकारको दृष्टि नै बदल्नुछ।
***