सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन्।
आज बिहान बराहक्षेत्र मन्दिरमा पूजा गर्न गएका यहाँको इटहरी उपमहानगरपालिका–१६ बालग्रामका १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बाँस्तोला नदीमा डुबेर बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले बराहक्षेत्र—१ क्षेत्रस्थित नदीमा दुवै जना डुबेर बेपत्ता भएको बताए। दुवै जना मामाभाञ्जा हुन्। भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि बचाउन जाँदा मामा पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
दुवै जनाको गोताखोरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी गरिरहेको प्रवक्ता खतिवडाले जानकारी दिए।