बुटवलमा संचालित १० औं मणिमुकुन्द कप इन्डो नेपाल क्लब च्याम्पियनसिप २०८२ भलिवल प्रतियोगितामा नेपाल प्रहरी र नेपाल आर्मी विजयी भएका छन्।
आइतबार राती भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेश भलिवल संघलाई पराजित गरेको थियो। पहिलो सेटमा २५ -११ को अन्तरले गण्डकी प्रदेशलाई पराजित गरेको प्रहरीले दोश्रो र तेश्रो सेट भने हात पार्न सकेन।
दोस्रो सेटमा गण्डकी प्रदेशसँग २५-२२ मा पराजित नेपाल प्रहरी तेस्रो सेटमा २५-२३ मा पराजित भयो भने चौथो र पाँचौ सेटमा गण्डकीलाई पराजित गर्यो। नेपाल पुलिसले चौथो सेटमा ३०-२८ र पाँचौ सेटमा १५-९ को अन्तरमा नजिता आफ्नो पोल्टामा पार्न सफल भयो।
त्यसैगरी दोस्रो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले शसस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गरी आफ्नो पक्षमा जित पार्न सफल भयो। प्रतियोगिताको पहिलो सेट २७-२५ को अन्तरमा जितेको त्रिभुवन आर्मी क्लव दोश्रो र तेश्रो सेटमा भने ३०-२८ र २५-२१ मा पराजित भएको थियो।
अत्यन्तै प्रतिस्पर्धात्मक भएको चौथो र पाँचौं सेट भने नेपाल आर्मीले आफ्नो पक्षमा पार्न सफल भयो। आर्मीले चौथो सेटमा २५-२१ र पाँचौं सेट १५-१२ को अन्तरमा जित निकालेको थियो।
शनिबारदेखि सुरु भएको मणिमुकुन्दक भलिबल प्रतियोगिताको रात्रीकालीन खेलमा पहिलो दिन गलकोट भलिबल क्लब बागलुङ र भारत गुजरातको साग भलिबल एकेडेमी विजयी भएको थियो।
सोमबारको पहिलो खेल साँझ ७ बजे गण्डकी प्रदेश र कोशी प्रदेश भलिबल क्लबबीच तथा दोस्रो खेल भारत गुजरातको साग भलिबल एकेडेमी र त्रिभुवन आर्मीका बिच हुने आयोजकले जनाएको छ।
यसअघि दिउँसोमा आयोजना हुँदै आएको प्रतियोगिता यसपटक भने साँझ ७ बजेदेखि राति १० बजेसम्म आयोजना गरिएको हो।
वैशाख १३ गतेसम्म संचालन हुने प्रतियोगितामा ३ विभागीय र एक भारतीय सहित ८ वटा टोली सहभागी छन्।
यसअघि प्रतियोगितामा सहभागी हुने जनाएको सुदुर पश्चिम अन्तिम समयमा सहभागी हुन आएन। प्रतियोगिताको विजेता टिमले ३ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
उपविजेताले २ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ।
तेस्रो स्थान हासिल गर्ने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै, सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई ६६ हजार ६ सय ६६ रुपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए।
भण्डारीका अनुसार प्रतियोगिताका अन्य ८ विधामा पनि नगद १० हजारदेखि १५ हजार रुपैयाँसम्म पुरस्कार प्रदान गरिने छ।