बर्दियामा बबई नदीले बगाएका तीन जनाको अवस्था अज्ञात छ। बाढीका क्रममा दाउरा संकलनका लागि गएका गुलरिया नगरपालिकाका तीन जना युवालाई आइतबार बबईको बाढीले बगाएको थियो।
गुलरिया– १२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारूलाई मध्याह्न १२ बजे, गुलरिया– ८ थपुवाका २७ वर्षीय अक्षय चौधरीलाई साढे १ बजे र गुलरिया– २ पण्डितपुरका २७ वर्षीय महेश चौधरीलाई साढे ४ बजे बाढीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहराले सेतोपाटीलाई बताए।
उनीहरू तीन जना बबईमा बाढी आएको समयमा दाउरा संकलन गर्न गएको र उनीहरू अलग अलग ठाउँबाट बगेको उनले जानकारी दिए।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले खोजी गर्दा पनि उनीहरू फेला पार्न नसकेको र सोमबार बिहानैबाट फेरि खोजी सुरू हुने उनले बताए।
बेपत्ताको खोजी र डुबानमा परेकाहरूको उद्धारका लागि ११ जना नेपाली सेना, ४९ जना सशस्त्र प्रहरी र एक सय दस जना नेपाल प्रहरी दिनभर परिचानल भएको बोहराले जानकारी दिए।
दाउरा संकलन गर्न गएकी मध्यबाँसगढी नगरपालिका– ३ की ४० वर्षीया रामजानी थारूको भने सकुशल उद्धार गरिएको थियो। डुडुवा खोलामा बाढी आएको समयमा दाउरा संकलन गर्न गएकी थारू नदीको टापूमा फसेकी थिइन्। उनलाई प्रहरी निरीक्षक सुधिर खड्काको कमान्डमा खटिएको सात जनाको प्रहरी टोलीले सकुशल उद्धार गरेको डिएसपी बोहराले बताए।
त्यस्तै भारी वर्षाका कारण घरहरू डुबानमा परेका छन्। अहिलेसम्म ८४ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
बर्दिया नगरपालिका– ८ भगतपुरमा आठ घर डुबानमा परेका छन्। तीमध्ये चार घर परिवारका २२ जना विस्थापित भएका छन्। उनीहरूलाई सरस्वती आवासीय माध्यमिक विद्यालय, भगतपुरमा राखिएको छ।
यही वडाको दूधामा ४० घर डुबानमा परेका छन्। तीमध्ये तीन घर परिवारका १४ जना विस्थापित भएको र उनीहरूलाई युवक मावि, दूधामा स्थानान्तरण गरिएको डिएसपी बोहराले जानकारी दिए।
वडा नम्बर– ६ गुलरामा १५ घर डुबानमा परेका छन्।
त्यस्तै बाँसगढी नगरपालिका– ८ रेशमपुरमा ६० घर डुबानमा परेका छन्। तीमध्ये चार घर परिवारका २३ जना विस्थापित भएकाले उनीहरूलाई रेशमपुर सामुदायिक भवनमा राखिएको छ।
बाँसगढी – ९ कुनैठीमा एक सय २० घर डुबानमा परेको प्रहरीले जानकारी दिएको छ। वडा नम्बर ८ अन्तर्गत वनगौरीमा स्थानीयका ३० घर डुबानमा परेको र सात घर परिवारका २५ जना विस्थापित भएका छन्। उनीहरूलाई बालविकास केन्द्र, ककौरामा स्थानान्तरण गरिएको डिएसपी बोहराले जानकारी दिए।
बर्दियामा आइतबार भारी वर्षा भएको थियो। बबईमा बाढीले खतराको तह पार गरेको थियो भने तटीय क्षेत्रका अधिकांस भूभाग जलमग्न बनेका छन्।