इटहरी उपमहानगरपालिकाले पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई होस्टलमा राख्न प्रतिबन्ध लगाएको छ।
इटहरीको एउटा निजी विद्यालयको होस्टेलमा आइतबार राति सुतेकै स्थानमा एक जना विद्यार्थीको मृत्यु भएपछि उपमहानगरले उक्त निर्णय गरेको हो।
त्यस घटनापछि उपमहानगरले विद्यालयका छात्रावासहरूको अनुगमन समेत गरेको छ।
त्यसक्रममा केही होस्टल नचलाउन, केहीलाई मापदण्ड पूरा गर्न उपमहानगरले निर्देशन दिएको छ।
‘मापदण्ड पूरा नगर्ने छात्रावासहरूमा ताला लगाइनेछ’, मेयर हेमकर्ण पौडेलले भने, ‘पाँच वर्षभन्दा मुनिका बच्चालाई कुनै पनि बहानामा होस्टल राख्न नपाइने नियम लगाएका छौं।’
आइतबार राति इटहरी सेकेन्डरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षे जेनिस श्रेष्ठको मृत्यु भएको थियो।
इटहरीका उपमहानगर प्रमुख पौडेलको नेतृत्वमा मंगलबार पहिलो चरणमा होस्टलमै विद्यार्थीको मृत्यु भएको सेकेन्डरी माध्यमिक विद्यालयसहित पिसजोन आवासीय माध्यमिक विद्यालय, मोर्डन प्रिपेटरी माध्यमिक विद्यालय, ग्रिनपिस माध्यमिक विद्यालय र शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा अनुगमन गरिएको हो।
सेकेन्डरी माध्यमिक विद्यालयले मापदण्ड पूरा नगरिकन सञ्चालन गरेको पाइएको पौडेलले बताए। सेकेन्डरी माध्यमिक विद्यालयको होस्टेल रूममा उपमहानगरले तालाबन्दी गरेको छ।