गुल्मीको कालिगण्डकी गाउँपालिकाले आइतबारदेखि अनिवार्य रुपमा सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।
कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले सूचना जारी गर्दै वैशाख १४ गतेबाट अनिवार्य रुपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएका हुन्।
शिक्षकहरुको आन्दोलनका कारण पालिकाभित्रका विद्यालयहरुको अध्ययन अध्यापनमा समस्या परेकोले वैशाख १४ गतेदेखि विद्यालय समयमा अनिवार्य रूपमा विद्यालयमा उपस्थित भएर नियमित पठनपाठन सञ्चालन गर्न शिक्षक कर्मचारीहरुलाई आग्रह गरेको हो।
गाउँपालिकाको निर्देशनको अवज्ञा गर्ने विद्यालयका शिक्षक तथा कर्मचारीलाई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइने पनि सूचनामा उल्लेख छ।
गाउँपालिका अध्यक्ष थापाले विद्यालयमा उपस्थित भएर विद्यालय संचालन नगर्ने शिक्षक कर्मचारीहरुलाई राजीनामा दिन वा सरुवा भएर अन्यत्र जान पनि निर्देशन दिएका छन्।
यस्तै रुपन्देहीको रोहिणी गाउँपालिकाले पनि आइतबारदेखि अनिवार्य रुपमा सामुदायिक विद्यालयहरु संचालन गर्न निर्देशन दिएको छ।
गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले सूचना जारी गर्दै वैशाख १४ गते आइतबारदेखि सामुदायिक विद्यालयहरुमा अनिवार्य रूपमा पठनपाठन सुरु गर्न निर्देशन दिएका हुन्।
गाउँपालिकाले जारी गरेको सूचनामा शिक्षकहरुलाई वैशाख १४ गतेदेखि अनिवार्य रुपमा विद्यालयमा उपस्थित भइ नतिजा प्रकाशन, विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायतका कामलाई अगाडी बढाउन भनिएको छ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षक कर्मचारीहरुको काठमाण्डौंमा जारी आन्दोलनले देशभरका सामुदायिक विद्यालयहरुको पठनपाठन मात्र होइन नतिजा प्रकाशन र भर्ना कार्यक्रम समेत अगाडि बढ्न सकेको छैन।
