स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा फरार रहेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार पक्राउ गरेको एसएसपी रमेश बस्नेतले जानकारी दिए।
उनका अनुसार राईलाई कपनबाट पक्राउ गरिएको हो।
सांसद राई स्वर्णलक्ष्मी सहकारीकी सहसचिव थिइन्।
उनी भोजपुरकी समानुपातिक सांसद हुन्।
राई उक्त सहकारीमा २०७४ मंसिर ४ गतेदेखि २०७६ भदौ २१ गतेसम्म सहसचिव थिइन्।
सरकारी वकिलको कार्यालय काठमाडौंले स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितलाई प्रतिवादी बनाएर एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो मागसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो। लामिछानेसँग ६० लाख धरौटी माग गरिएको थियो।
तर त्यति बेला माया राईलाई प्रतिवादी बनाइएको थिएन।
राईलाई उन्मुक्ति दिएको भन्दै प्रहरी र सरकारी वकिलको आलोचना समेत भएको थियो। पछि सरकारी वकिलले उनीमाथि पनि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थिए।
निर्देशनसँगै प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो। पुर्जी लिएको लामो समयपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।