बेमौसमी अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा शनिबारबाट सुचारू हुने भएको छ।
भारी वर्षाका कारण स्थानीय केसलिया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरिया जलमग्न भएपछि गत मङ्गलबारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण रोकिएका थिए।
विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार शनिबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उडान हुनेछ। त्यसपछि मौसमको अवस्था र विमानस्थलको स्थिति हेरेर पूर्ण रूपमा विमानस्थल सञ्चालनमा आउनेछ।
विमानस्थलको सबै उपकरणको चेकजाँच नसकिएकोले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उडान हुने कार्यालयले जनाएको छ।
विमानस्थलको सबै उपकरण चेकजाँचपछि मात्र साँझपछिको उडान सुचारु हुने नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख उत्सब खरेलले बताए। मौसम सफा हुँदै गएको तथा विमानस्थलको पानी सुक्दै गएकाले शनिबारदेखि नियमित उडान सुरू हुने विमान कम्पनीहरुले बताएका छन् । उनीहरुले शनिबारको उडानको लागि टिकट बुकिङ गरिरहेका छन् ।
मौसम सफा हुँदै गएको तथा विमानस्थलको पानी सुक्दै गएकाले शनिबारदेखि नियमित उडान सुरू गर्न लागेको बुद्ध एयरले जानकारी दिएको छ।
विमानस्थल पूर्ण रूपमा डुबानमा परेपछि गत मङ्गलबारदेखि रोकिएको उडान भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म ७ वटा उडान भर्ने बुद्ध एयरका कम्युनिकेशन अफिसर दिपेन्द्र कर्णले सेतोपाटीलाई जानकारी दिए।
यस्तै यसअघि दैनिक ५ उडान गर्दै आएको यति एयरलाइन्सले भोलि पनि सबै ५ उडान नै गर्ने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले सेतोपाटीलाई जानकारी दिए।
विराटनगर विमानस्थलबाट यसअघि दैनिक रूपमा काठमाडौंका लागि बुद्ध एयरले नौ, यती एयरलाइन्सले पाँच, सौर्य एयर र श्री एयरलाइन्सले चार–चार र गुण एयरले एकवटा उडान गर्दै आएका थिए। डुबानका कारण दैनिक रूपमा हुने करिब २५ वडा उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन् ।
विराटनगरबाट हुने उडान सेवा अवरुद्ध भएपछि विमान कम्पनीहरूले विराटनगरको विकल्पमा भद्रपुरबाट उडान थपेर सेवा दिइरहेका थिए।