काठमाडौं महानगरपालिका वडा नं १ स्थित कमलपोखरी निर्माण काम रोक्न पुरातत्व विभागले आदेश दिए पनि त्यहाँ रातारात डोजर चलाइएको छ। सोमबार महानगरलाई पत्राचार गर्दै पुरातत्वले पोखरी संरक्षणका निम्ति काम रोक्न आदेश दिएको हो।
तर सोमबारै राति कमलपोखरीमा धमाधम डोजर चलाइएको छ। सम्पदा संरक्षण अभियन्ता आलोकसिद्दी तुलाधरका अनुसार राति ९ बजेतिर कमलपोखरीमा तीव्र गतिमा डोजर चलिरहेको छ।
'पुरातत्वले पठाएको चिठी महानगरपालिकाले पाइसके पनि यसरी रातारात काम काम गर्दैछ,' तुलाधरले सेतोपाटीसँग भने, 'यो एकदमै अवैध हो। पुरातत्वसँग समन्वय गरेर काम गर्नु पर्नेमा झन् यसरी रातारात डोजर चलाउनु भनेको भूमाफिया शैली भयो।'
उनले एकपटक कमलपोखरी मासिएपछि फेरि ब्युँताउन झन् गाह्रो हुने भन्दै तत्काल काम रोक्नुपर्ने बताए। पोखरीको इतिहास नामेट पार्दै रानीपोखरीजस्तो ‘स्विमिङ पुल’ बनाउन आँटेको भन्दै पुरातत्वले काम रोक्न आदेश दिए पनि रातारात डोजर चलाइएकोमा उनले आक्रोश व्यक्त गरे।
ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणलाई असर पर्ने गरी महानगरपालिकाले निर्माण काम अगाडि बढाएकाले पुरातत्वले काम रोक्न आदेश दिएको हो।
'पोखरीको मौलिकतालाई असर नपर्ने गरी पोखरी संरक्षण गर्न अनुरोध छ,' संग्रहालय अधिकृत पुरुषोत्तम आचार्यले पत्रमा लेखेका छन्, 'पोखरी निर्माण गर्दा परम्परागत निर्माण सामग्री तथा प्रविधि प्रयोग गरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ को परिधिभित्र रही कार्य गर्न र गराउन विभागीय निर्णयअनुसार अनुरोध गर्दछु।'

महानगरले कमलपोखरी निर्माणका लागि करिब ९ करोड ४७ लाख रूपैयाँ बजेट छुट्याएको छ। हाल यसको निर्माणका लागि भनेर पोखरी सुकाइएको छ भने वरिपरि कंक्रिट संरचना र बीचमा कंक्रिटकै कमल फूल बनाउने नगरपालिकाको योजना हो।
पोखरीको ऐतिहासिकता र मौलिकता कायम राख्दै परम्परागत शैलीमै बनाइयोस् भनेर अभियन्ताहरू जुर्मुराइरहेका छन्। गत शुक्रबार रानीपोखरीबाट पाठ नसिकेकाले आफूहरू लज्जित भएको भन्दै उनीहरूले आफ्नै अनुहारमा कमलपोखरीको माटो पनि दलेका थिए।
सोमबार राति यहाँ धमाधम डोजर चलेपछि अभियन्ता तुलाधरले ट्विटरमार्फत् यो काम तत्काल रोक्न आग्रह गरेका छन्।
'कमलपोखरी सधैंका लागि मासिने गरी डोजर चलिरहेको छ। कसैले केही गरी यो काम रोक्न मद्दत गर्नुस्,' उनले अनुरोध गरेका छन्।