ट्राफिक प्रहरीले एक जना सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको देखिने भिडिओ बिहीबारदेखि सामाजिक सञ्जाल फेसबुक लगायतमा भाइरल छ।
भिडिओमा सवारीसाधान आवतजावत भइरहेको देखिन्छ भने सडक छेउमा ट्राफिक प्रहरीले एक पुरूषलाई कुटपिट गरेको देखिन्छ।
एक ट्राफिक प्रहरीले ती पुरूषलाई खुट्टाले हान्दै, उचाल्दै पछारेका छन् भने ती पुरूष अचेत भएको देखिन्छ।
साथै ट्राफिक प्रहरीले कागजातसमेत ती पुरूषको मुखमा फालिदिएका थिए। त्यहाँ चार जना ट्राफिक प्रहरी देखिए पनि एक जनाले कुटपिट गरेको भिडिओमा देखिन्छ।
उक्त भिडिओ सामाजिक सञ्जालमा आएपछि धेरैले प्रहरीको व्यवहारलाई लिएर आलोचना गरेका छन्।
यो कुटपिटको घटना कहिलेको हो खुलेको छैन। प्रहरीले भने यो भिडिओ तत्कालको नभएको दाबी गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले भने, ‘उक्त भिडिओमा प्रहरीले ज्याकेट लगाएका छन्, त्यसैले हालसालैको होइन, जाडोको बेलाको हुन सक्छ।'
भिडिओ पुरानै भए पनि कुन ठाउँको हो र कुटपिटमा संलग्न को हुन् भन्नेबारे खोजी भइरहेको उनले बताए।
यसबारे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले पनि छानबिनका लागि भनिसकिएको बताए।
'हामीले पनि भिडिओ हेर्यौ, यसबारे छानबिन गर्न ट्राफिक प्रहरी कार्यालयलाई भनिएको छ,' उनले भने।