ग्लोबल नेपाली
कपिलवस्तुमा जन्मे–हुर्केका डा. केशव गिरीलाई किशोरावस्थादेखि नै राजनीतिमा रूचि थियो। विश्वका घटना सम्बन्धी समाचार सुन्थे। राजनीतिक घटना र आन्दोलनका कुरामा ध्यान दिन्थे।
तत्कालीन विद्रोही नेकपा माओवादीको सशस्त्र युद्ध देखेपछि उनीभित्र राजनीतिबारे चासो झन् बढ्यो। त्यो सशस्त्र युद्धको अन्त्यकालतिर उनले कपिलवस्तु र नवलपरासीमा माओवादी लडाकुले गरेको आक्रमण देखे। आक्रमणमा महिला लडाकुहरू पनि थिए। कमान्डरको भूमिकामा महिलालाई देख्दा झनै अचम्ममा परे।
'कपिलवस्तु र नवलपरासीमा माओवादीले गरेको आक्रमणमा महिला लडाकु देखेर म निकै अचम्ममा परेको थिएँ,' उनले भने, 'महिलाहरू चुलोचौकोबाट निस्केर युद्ध लड्न कसरी सम्भव भयो भन्ने कौतुहल भइरह्यो।'
त्यो युद्ध कहिले सकिएला, युद्धपछि महिला लडाकुहरूले के पाऊलान् भन्ने प्रश्न पनि दिमागमा घुमिह्यो।
'मलाई त युद्ध पुरूषले मात्रै लड्न सक्छन् भन्ने लाग्थ्यो। घरको छतमाथि हेलिकप्टर देख्दा पनि आमालाई भित्र लुक्नुस् भन्थेँ,' उनले भने।
समय बित्दै गयो। उनी 'अन्तर्राष्ट्रिय सम्बन्ध' विषयमा स्नातकोत्तर तहको पढाइका लागि बेलायत गए। नेपालमा महिला लडाकु युद्धमा सामेल भएको घटनाले उनको मस्तिष्कमा गहिरो छाप पारेको थियो। उनी महिला लडाकुबारे थेसिस (शोधपत्र) लेख्न चाहन्थे, त्यसै गरे।
लडाकुको विषयमा स्नातकोत्तरको थेसिस मात्र होइन्, अस्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नीबाट पिएचडी (विद्यावारिधि) को अनुसन्धान पनि यसै विषयमा गरे।
अनुसन्धान क्रममा केशवले नेपालका दस वटा जिल्ला घुमेर माओवादी सशस्त्र युद्धमा सामेल महिला लडाकुहरूसँग कुराकानी गरे।
'दलित भनेर हेपाइमा, थिचोमिचोमा परेका, सीमान्तकृत र मध्यम वर्गीय महिलाहरू लडाकु भएको पाएँ,' केशवले भने, 'उनीहरू सामाजिक परिवर्तन ल्याउनुपर्छ भनेर युद्धमा लागेका थिए। समाजलाई पितृसत्तात्मक सोचबाट बाहिर ल्याउनुपर्छ, घरेलु हिंसा अन्त्य गर्नुपर्छ भनेर लडाकु भएका थिए।'

केशवले युद्धपछि महिलाको जीवनमा ठूलै परिवर्तन भएको सुनेका थिए। उनले यसबारे पनि खोज गरे। अनुसन्धान क्रममा त्यस किसिमको ठूलो परिवर्तन भएको फेला पारेनन्। युद्धमा लागेका महिलाहरूले परिवर्तनको अनुभव गर्न नपाएको उनले बताए।
जो पहिलेदेखि शक्ति संरचनासँग नजिक थिए, उनीहरू नै पदमा पुगेको भेटे।
'जो पहिल्यैदेखि शक्ति केन्द्रसँग नजिक थिए, युद्धपछि उनीहरूले नै धेरै लाभ पाए,' उनले भने, 'अरूले पाउँदै नपाएको भन्ने होइन, जति परिवर्तनको आकांक्षा थियो, त्यति भएको देखिनँ। तर धेरै महिला राजनीतिक, सामाजिक, आर्थिक रूपमा सचेत र चिन्तनशील रहेको पाएँ।'
आफ्नो पिएचडी थेसिसले 'द अस्ट्रेलिया पोलिटिकल स्टडिज एसोसिएसन' ले प्रदान गर्ने 'बेस्ट अवार्ड' पाएको समेत उनले बताए।
केशव हाल बेलायतस्थित सेन्ट एन्ड्र्युज विश्वविद्यालयमा 'अन्तर्राष्ट्रिय सम्बन्ध' विषयका स्थायी उपप्राध्यापकका रूपमा कार्यरत छन्। अध्यापनसँगै उनी दक्षिण एसियाली मुलुकहरूका 'विद्रोही राजनीतिक संगठन' बारे अनुसन्धान गर्दै छन्। यस निम्ति उनी नेपाल, भारत, बंगलादेश, अफगानिस्तान र पाकिस्तानमा केन्द्रित छन्।
द्वन्द्वका कारण, विद्रोही संगठनले अपनाउने तरिका, द्वन्द्व हुन नदिने उपाय लगायतमा आफूले अनुसन्धान गरिरहेको उनले बताए।
'हिंसात्मक द्वन्द्व किन हुन्छ भनेर जान्ने रूचि थियो। इसरायली र प्यालेस्टिनीहरू किन लड्छन् होला भन्ने लागिरहन्थ्यो,' केशवले भने, 'राजनीतिमा हुने फरक मतहरू मिलाएर अघि बढ्ने विषयमा अध्ययन गर्नु आवश्यक देखेर यो क्षेत्र रोजेको हुँ। अध्ययन–अनुसन्धान भएन भने द्वन्द्व रोक्ने उपाय पनि थाहा हुँदैन।'
उनी अर्को अनुसन्धानमा पनि लागेका छन्। विषय हो — लभ इन पोलिटिकल भायलेन्स अर्थात् राजनीतिक हिंसामा प्रेम।
उनी राजनीतिक हिंसामा प्रेमको भूमिका खोजी गर्दै छन्।
'प्रेममा संसार चलिरहेको हुन्छ। व्यक्तिगत र व्यावसायिक सम्बन्धदेखि विश्व सम्बन्धसम्म प्रेममा अन्तर्निहित छ। यस कारण राजनीतिक हिंसामा प्रेमको भूमिकाबारे पनि अनुसन्धान आवश्यक छ,' उनले भने।
नेपाल, भारत, थाइल्यान्ड, पाकिस्तान लगायतका मुलुकमा सञ्जाल बनाएरै अनुसन्धान विस्तार गर्ने उनको योजना छ। नेपाली राजनीतिमा रहेका पछिल्ला विद्रोही समूहहरू पनि नियाल्दै छन्। विद्रोही संगठनबारे अध्ययनका लागि एउटा अनुसन्धान केन्द्र स्थापना गर्ने पनि सोचेका छन्।
समाज र देश बुझ्न अध्ययन–अनुसन्धान आवश्यक हुन्छ। यस निम्ति राज्यले स्रोत व्यवस्था गर्नुपर्ने उनको धारणा छ।
'राजनीतिक विषयमा पनि अध्ययन–अनुसन्धान हुन जरूरी छ नत्र भयावह स्थिति हुन सक्छ,' उनले भने, 'नेताले जे भन्यो त्यही पत्याउने झुन्ड तयार हुन्छ। यसले जोखिम बढाउँछ।'
उनका अनुसार राजनीतिमा समाज बुझ्नु सबभन्दा ठूलो काम हो। जात, धर्म, लिंग, वर्ग सबै नबुझेसम्म व्यक्तिले आफूलाई बुझ्न सक्दैन। यही मान्यतामा उनी संसारभरका हिंसात्मक तथा विद्रोही राजनीतिक संगठनबारे अध्ययन गर्न कम्मर कसेर लागेका छन्।
भन्छन्, 'संसारभरका विद्रोही संगठनबारे अध्ययन गर्ने मेरो सोच छ। केही वर्ष यसैमा घोत्लिनेछु।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com