गत मे २५ मा भारतको वन्यजन्तु ट्रष्टले ट्वीटरमा घडियाल गोहीको फोटो पोष्ट गर्दै लेख्यो -तपाईं सायद लकडाउनमा हुनुहुन्छ होला तर यो घडियाल गोहीले ११०० किलोमिटरको यात्रा गरेको छ।’
भोलिपल्ट भारतको अंग्रेजी दैनिक ‘द इन्डियन एक्सप्रेस’ले यही ट्वीटको आधारमा घडियाल गोहीको यात्राबारे समाचार बनायो।
मे महिनाको १७ तारिखमा स्थानीय माझीको जालमा परेको उक्त गोहीलाई चितवन राष्ट्रिय निकुञ्जले ६१ दिनअघि राप्ती नदीमा छाडेको थियो।
यो विषयले त्यतिखेर संरक्षणकर्मीहरूको माझमा निकै चर्चा पायो।
चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख बाबुराम लामिछानेले वन्यजन्तु ट्रष्ट इन्डियाले पोष्ट गरेको फोटोलाई रिट्वीट गर्दै लेखे - यो अविश्वसनीय हो।
यो घडियालसँगै राप्ती नदीमा एकैपटक छोडिएको अर्को गोही एक हजार १५ किलोमिटर पर भारतको महानन्द नदीमा माझीको जालमा पर्यो।
निकुञ्ज अन्तर्गतको घडियाल प्रजनन् तथा संरक्षण केन्द्रले यो वर्ष ५० वटा गोहीहरूलाई नदीमा छोडेको थियो।
यहाँ जन्मिएर हुर्किएका गोहीहरूलाई पुच्छरमा नम्बर लगाएर लम्बाई, तौल जाँच गरी विभिन्न समयमा नदीमा छाड्ने गरिन्छ।
प्रजनन् केन्द्रका प्रमुख समेत रहेका चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार गोहीले नदी किनारको बालुवा खोस्रिएर अण्डा पार्छन्। त्यो अण्डालाई पुनः बालुवाले छोपेर गोही नदीमा बस्छ।
समय पुगेपछि माउले अण्डा पारेको ठाउँ पुनः खोस्रिएर बच्चा निकाल्छ। यसरी एउटै गोहीले वर्षमा ४५ वटासम्म अण्डा पार्छ। ती अण्डाबाट निस्किएर बाँचेका घडियाललाई निकुञ्जले केही वर्षपछि विभिन्न नदीमा छोड्छ।
घडियाल जोगाउन र वृद्धि गर्नका लागि यसो गर्ने गरिएको खड्काले बताए।
भारतको वेस्ट बंगाल र महानन्द नदीमा भेटिएका दुई घडियाल यिनै मध्ये दुई थिए।
यी त भारतीय माझीको जालमा परेपछि सार्वजनिक भएका कुरा मात्रै भए। यसरी कति गोही भारत पुगे भन्ने तथ्यांक नेपालमा छैन।
घडियाल गोही संसारमै दुर्लभ मानिने सरीसृप प्राणी हो। गोहीका २३ प्रजाति मध्येको एक घडियाल नेपाल, भारत र बंगलादेशमा मात्रै पाइने जानकारहरू बताउँछन्।
सबभन्दा धेरै भने भारतमा छन्। भारतको गंगा नदी गोहीको मुख्य बासस्थान मानिन्छ।
घडियाल प्रजनन् तथा संरक्षण केन्द्रका अनुसार दुर्लभ प्रजातिको घडियाल गोहीलाई नेपालमा संरक्षण गर्न थालिएको ४ दशक बढी भयो। त्यसअघि यसको खासै वास्ता गरिएको थिएन। त्यतिखेर चितवनको नारायणी नदीमा गोही, डल्फिन धेरै भेटिन्थे।
घडियाल संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जले २०३५ सालमा उक्त केन्द्रको स्थापना गरेको थियो।
यो अवधिमा यहाँ प्रजनन् भएका १५ सय १५ वटा गोहीहरूलाई नारायणी, राप्ती, कर्णाली, बबई, सप्तकोशी, कालीगण्डकी लगायतका नदीमा छाडिएको केन्द्रले जनाएको छ। तर पछिल्लो गणनामा नारायणी, राप्ती र बबई नदीमा घडियाल गोहीको संख्या करिब २५० मात्र छ।
कर्णाली, सप्तकोशी र कालीगण्डकी नदीमा गोही देखिनै छाडे। यी नदी भारतको गंगा नदीका सहायक नदीहरू हुन् त्यसैले नेपालमा छाडिएका गोहीहरू बहावसँगै बगेर भारत पुग्ने गरेको खड्काले बताए।
‘नदीमा बस्ने माछा, गोहीका लागि कुनै सीमा हुँदैन, उनीहरू कहिले भारत पुग्छन्, कहिले फर्किएर नेपाल नै आउँछन्,' उनले भने, ‘पछिल्ला दिनमा गोहीहरू भारत जाने क्रम उस्तै रहे पनि फर्किएर यहीँ आउने क्रम घटेको हो कि जस्तो लाग्छ।’
यी नदीका बराज ढोका बन्द हुँदा गोहीहरू फर्किएर आउन नसकेको संरक्षणकर्मीहरूको अनुमान छ।
गोही कम हुनुका अन्य कारण हुन्- नदीमा बढ्दो मानव चहलपहल, प्रदूषण, जथाभावी उत्खनन्।
खड्काका अनुसार माछा मार्न प्रयोग गरिने जालमा जेलिएर गोहीहरू मर्ने गरेका छन्। त्यसैगरी, माछा मार्दा प्रयोग गरिने विष, जथाभावी फालिने फोहोरको रसायनले पनि गोहीलाई गम्भीर असर परिरहेको छ। जथाभावी उत्खननको प्रभाव त अझ ठूलो छ।
नदीबाट ढुंगा, गिटी, बालुवा, काठपातहरू झिक्ने चलन बढ्न थालेपछि गोहीहरू माथि जोखिम बढेको खड्काले बताए।
‘डाइनोसर भन्दा पुरानो जीवका रूपमा चिनिने घडियाललाई धेरैपछि आएका मान्छेले सक्ने भए,' खड्का भन्छन्, 'बासस्थानकै समस्याका कारण गोही लोप हुने खतरामा पुग्दैछन्।'
सफा पानी भएको गहिरो नदी घडियाल गोहीको बासस्थान हो। ती नदीको ढुंगा, बालुवा, काठहरूमा गोहीको जीवन चल्छ। तिनै नदीमा पाइने माछा गोहीको मुख्य आहारा हो।
‘तर यी सबै मान्छेले प्रयोग गर्न थाले,' खड्का भन्छन्, ‘नदीमा छाडिएका मध्ये एक–दुई प्रतिशतलाई जोगाउन पनि समस्या हुन थाल्यो।’
उनका अनुसार नारायणी नदी सफा र चहलपहल कम हुँदा गोहीको प्रमुख बासस्थान नै यही थियो। चितवनमा बढ्दो सहरीकरण असर नदीमा पर्यो। बिस्तारै सहरको फोहोर फाल्ने स्थान नै नदी बन्न पुग्यो।
यसको प्रत्यक्ष असर जलचर प्राणीले भोग्दै आएका छन्।
चितवन निकुञ्जमा रहेको प्रजनन् केन्द्रमा अहिले साना ठूला गरी ५०० वटा गोही छन्। तीमध्ये एउटा मात्रै भाले छ। त्यो पनि बुढो भइसकेको छ। नारायणी नदीमा भने ५ वटा भाले वयस्क गोही रहेको तथ्यांक निकुञ्जसँग छ।
गोहीले जन्माएका अधिकांश बच्चाहरू पोथी हुन्छन्। भालेको संख्या कम छ। त्यसैले प्रजननमा समस्या हुने अवस्था आएको खड्का बताउँछन्।
‘प्रजनन् केन्द्रमा भालेको व्यवस्था कसरी गर्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ,' उनले भने।
गोहीले अण्डा पार्ने र बच्चा निस्कने संख्या सुरूआतमा धेरै भए पनि त्यसको मृत्युदर भने बढी हुन्छ। प्रकृति संरक्षण कोषका प्रमुख लामिछाने गोहीलाई वयस्क बनाउन निकै गाह्रो हुने बताउँछन्।
उनका अनुसार जन्मदेखि एक वर्ष हुँदासम्म यसको मृत्युदर सबभन्दा बढी हुन्छ। प्रजनन् केन्द्रमा जन्मिएका बच्चाहरूमध्ये करिब ६० देखि ७० प्रतिशतसम्म मात्र बाँच्छन्। यिनमा पनि हुर्कने निकै कम हुन्छन्।
‘साना बच्चालाई माछाले पनि खाइदिन्छन्, चराबाट बच्न पनि गाह्रो हुन्छ’, उनले भने, ‘त्यसमाथि मान्छेबाट पनि उस्तै खतरा छ।’
यद्यपी राप्ती नदीको जिन्दगानीघाटदेखि सौराहासम्म र नारायणीको गोलाघाटदेखि अमलटारी क्षेत्रमा गोहीको संख्या धेरै छ। यस क्षेत्रमा गोहीले अण्डा पारेको र कोरलेको प्राय: देख्न सकिन्छ।
पर्यटकको पथप्रदर्शकको काम गर्दै आएका विष्णु थापाले यही साल नदी किनारको एकै ठाउँमा गोहीका १ सय २३ वटा बच्चा देखेको बताए।
‘मैले देखेको केही दिनमा अत्यधिक वर्षा भयो, नदीमा बाढी आयो,' उनले भने, ‘तिनलाई जोगाउनै मुश्किल छ।’
माछा मार्नेलाई कडाइ गर्छौंः निकुञ्ज
प्रमुख संरक्षण अधिकृत अणनाथ बराल कुनै एक निकायले मात्रै चाहेर संरक्षणको अभियान सफल नहुने बताउँछन्।
‘हामीले प्रजनन् गराउने, हुर्काउनेदेखि नदीमा छाडेर हेरविचार गर्नेसम्म गर्दै आएका छौं तर अवस्था सन्तोषजनक छैन,' उनले भने, ‘नदीका छेउमा बनेका उद्योग धन्दाबाट निस्कने फोहोर, अवैधरूपमा माछा मार्न जानेको चाप लगायतका कारण संरक्षणमा बाधा भइरहेको छ।'
दुर्लभ जीवजन्तुको बासस्थानमा मानवीय चहलपहल नियन्त्रण गर्न खोज्दा शक्ति केन्द्रको दबाव सहनुपरेको उनी बताउँछन्।
‘प्राकृतिक बासस्थान नै नभएपछि जीवलाई कसरी बचाउने?' उनी भन्छन्, ‘अब पनि बासस्थान जोगाउन सकिएन भने गोही प्रजनन् केन्द्रमा मात्र भेटिने दिन टाढा छैन।'
उनले नदीमा विभिन्न जाल प्रयोग गरेर माछा मार्नेलाई नियन्त्रणको प्रयास भइरहेको बताए।
साथै, निकुञ्ज नजिकका क्षेत्रमा अवैधानिक संरचना निर्माणमा कडाइ गरिने बताए।
निकुञ्ज आसपासमा बसोबास गर्ने बोटे, माझी, मुसहरहरूले माछा मार्ने कामलाई आफ्नो अधिकार ठान्छन्। परम्परादेखिको माछा मार्ने चलनलाई विस्थापन गर्न नपाइने माग उनीहरूको छ।
निकुञ्जभित्र माछा मार्न गएका स्थानीयहरूले सुरक्षाकर्मीहरूको पिटाइ खाएकादेखि मृत्यु भएकासम्म घटना सार्वजनिक भइरहन्छन्।
निकुञ्ज यस विषयमा थप कडा हुने बरालले बताए।
‘माछा मार्ने लाइसेन्समा नियन्त्रण गर्न थालेका छौं’, उनले भने, ‘उनीहरूको जीवनस्तर उकास्नका लागि अन्य गतिविधिमा सघाउन सकिन्छ तर दुर्लभ जन्तुको बासस्थानमा असर गर्ने काममा सहयोग गर्न सकिँदैन।’
उनले निकुञ्ज र स्थानीयको द्वन्द्व घटाउन स्थानीयलाई आत्मनिर्भर बनाउन सरकारले ध्यान दिनुपर्ने बताए।
निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादव मान्छेले माछा मारेर खाने क्रम बढेपछि गोहीले आवश्यक आहारा पनि पाउन छाडेको बताउँछन्।
२०२७ सालमा चितवन निकुञ्ज स्थापना हुँदाबाटै काम सुरू गरेका यादव विगतमा नदीहरूमा देखिने गरेका ठूला माछाहरू अहिले देखिनै छाडेको बताउँछन्।
‘मान्छेले सानैमा मारेर सक्न थाले, गोहीको आहारा मान्छेले खाइदिएपछि कसरी बचाउने?,’ उनले भने, ‘दुर्लभ वन्यजन्तु जोगाउने हो भने मानव चहलपहलमा नियन्त्रण गर्नुको विकल्प छैन।’