ग्लोबल नेपाली
स्याङ्जाका कमलराज भण्डारी हाल युरोपेली मुलुक पोल्यान्डमा छन्। उनी सन् २०१७ मा पोल्यान्ड पुगेका हुन्।
बितेको आठ वर्षमा उनले युरोपमा रोजगारीका सिलसिलामा अनेक सास्ती भोगे।
उनको अनुभवले भन्छ – सुनेको युरोप र भोगेको निकै फरक छ, सुनेको जस्तो सजिलो छैन युरोप।
कमल भारतको बाटो हुँदै सन् २०१७ मा पोल्यान्ड गएका हुन्।
केही वर्ष मलेसिया र खाडीमा बिताएपछि राम्रो अवसरको खोजीमा उनले युरोप रोजेका थिए। उनी चिनजानकै मान्छेमार्फत् गएका थिए। पोल्यान्ड जान करिब ६ लाख रूपैयाँ खर्च भएको बताए।
'कति दलालले त १०–१२ लाख (रूपैयाँ) पनि लिँदा रहेछन्। मैले चिनेको मान्छे यहाँ भएकाले केही सस्तो पर्यो,' उनले भने।
केही वर्षयता युरोपमोहले कतिपय नेपाली युवा भारत हुँदै र अन्य अवैध तरिकाले युरोप पुग्ने गरेका छन्। यसरी बाटो लाग्दा गन्तव्यमा नपुगी फर्किनुपरेका घटना पनि छन्। कतिपयले शारीरिक र मानसिक यातना पनि भोग्नुपरेको छ।
कमल गन्तव्यसम्म त सजिलै पुगे तर काम पाउन निकै मुस्किल भयो। करिब तीन महिना बेरोजगार बसे। त्यसरी बस्दा दिकदार लागेर आफ्नै देश फर्किने पनि सोचे। फर्किन पनि सोचेजस्तो सजिलो कसरी हुन्थ्यो र! पोल्यान्ड पुग्दा खर्च भएको पैसाले मनमा औडाहा भएको थियो।
तीन महिना बेरोजगार बसेपछि कमलले माछा पसलमा सफाइको काम पाए। पारिश्रमिक प्रतिघन्टा १० ज्लोटी (पोल्यान्डको मुद्रा) अर्थात् करिब ३५० रूपैयाँ थियो। उनी दिनमा सरदर आठ घण्टा काम पाउँथे। तर केमिकल हालेर गर्नुपर्ने सफाइको काम निकै जोखिमपूर्ण थियो।
केही महिनापछि उनी फर्निचर कम्पनीमा पुगे। त्यहाँबाट फेरि कुखुराको मासु बेच्ने पसलमा पुगे।
'दिनभर केमिकलमा काम गर्दा मलाई निकै असर गरेको थियो। काममा पनि धेरै खट्नुपर्थ्यो,' उनले भने, 'जहाँ गए पनि बेचिएरै त काम गर्नुपर्ने रहेछ! दलालले कहिले कता पुर्याउँछन्, कहिले कता।'
यसरी काम बदलिरहँदा उनी समस्यामा परे। त्यहाँ बस्न नमिल्ने अवस्था सिर्जना भएपछि पोर्चुगल गए।

पोर्चुगलमा स्ट्रबेरी टिप्ने काम पाए। तर त्यो काम वर्षमा ६ महिना मात्र चल्थ्यो। त्यसैले ६ महिना बेरोजगार बस्नुपर्थ्यो। उनले अर्को कुनै काम पाएनन्। केही महिना त घरबाट पैसा मगाएर दैनिक खर्च चलाए।
त्यसरी पैसा मगाई मगाई बस्नुको कारण थियो— अस्थायी बसोवास कार्ड (टिआरसी) पाउने आशा।
'पोर्चुगलमा स्ट्रबेरी टिप्नेलाई छिटो कार्ड बनाइदिँदो रहेछ। टिआरसी (टेम्पोररी रेसिडेन्स कार्ड) लिन पाइने भएकाले पनि ६ महिनासम्म कामै नगरी घरबाट पैसा मगाएर भए पनि बसेँ,' उनले भने।
कमल पोर्चुगलमा दुई वर्ष चार महिना बसेपछि टिआरसी पाए। अस्थायी बसोवास पक्का भएपछि उनी नर्वे र डेनमार्क गए। उनी यी दुईमध्ये कुनै एक मुलुकमा बस्न चाहन्थे। तर चाहना पूरा भएन।
'काम पाएँ तर नर्वेमा लुकेर बस्ने भनेर गएको थिएँ। त्यहाँ मेरो साथी पनि थियो। म १७ दिन बसेँ,' उनले भने, 'कागजात हेरेर आफ्नै देशमा फर्क भनेर पठायो। पोर्चुगलको टिआरसीले बस्न नपाइने रहेछ,' उनले सुनाए।
कमल फर्किन त फर्के तर नेपाल वा पोर्चुगल होइन, उनी फेरि पोल्यान्ड गए। हाल उनले पोल्यान्डको टिआरसी पाइसकेका छन्।
उनी पोल्यान्डको एक आपूर्ति कम्पनीमा काम गर्छन्। कम्पनीमा आएका सामान संकलन गरेर राख्नु उनको मुख्य काम हो। प्रतिघन्टा ३० देखि ३२ ज्लोटीसम्म पारिश्रमिक पाउँछन्।
'कम्तीमा १०–१५ किलोका र अझ ठूला सामान उचाल्नुपर्छ। मिलाएर राख्नुपर्छ। दिनमा ८ देखि १२ घन्टासम्म काम हुन्छ,' उनले कामबारे सुनाए, 'जहाँ गए पनि काम त उस्तै हो। तर खाडीतिर भन्दा अलिक राम्रो कमाइ छ। मेहनत गर्दा ठिकै कमाइ हुन्छ।'
उनी वैदेशिक रोजगारीका लागि सबभन्दा पहिला मलेसिया गएका थिए। त्यहाँ चार वर्ष काम गरे। चिनियाँ कम्पनीमा काम थियो जसले गाडीको साइलेन्सर बनाउने, पाइप फिटिङ गर्ने लगायत काम गर्थ्यो।
उनी मासिक ४७५ मलेसियन रिंगिट पारिश्रमिक पाउँथे। त्यसबाट १२० रिंगिट 'लेबी' काटिन्थ्यो। त्यो कमाइ सानै थियो। त्यसमा चित्त बुझाउनु पनि उनको बाध्यता थियो।
'नेपालमा त्यति कमाउने काम पाउन पनि गाह्रो थियो,' उनले भने, 'परदेशमा जति दिन्छ त्यति हात थाप्नुपर्थ्यो।'
पछि मलेसिया छाडेर उनी भिजिट भिसामा कतार गए। एउटा सेल्स कम्पनीमा काम सुरू गरे। तर एक महिना नहुँदै त्यहाँको प्रहरीले पक्राउ गरेर नेपाल पठाइदियो। यो सन् २०११ को कुरा हो।
त्यसपछि उनी साउदी अरब गए। प्लास्टिक कम्पनीमा काम पाए। तुलनात्मक रूपमा त्यो काम राम्रो थियो। सुपरभाइजर तहको पद थियो। मासिक पारिश्रमिक पनि सन्तोषजनक थियो। कमाइ राम्रै भयो। उनी त्यहाँ सात वर्ष काम गरेर स्वदेश फर्के।
'खाडीमा कमाएको पैसाले धेरै त केही गर्न सकिनँ, स्याङ्जामा एउटा घर बनाएँ। अहिले बुबाआमा त्यही घरमा बस्नुहुन्छ,' उनले भने, 'युरोपमा कमाएको पैसाले कावासोतीमा एउटा घर बनाएको छु। छोराछोरी पढाएँ। छोरो क्यानडा पठाएको छु।'
कमलले अझै केही वर्ष पैसा कमाएर मात्र स्वदेश फर्किने सोचेका छन्। आगामी दसैंमा घर आउने योजना छ।
सुनेको युरोप र भोगेको युरोप निकै फरक रहेको उनको अनुभव छ।
भन्छन्, 'सुनेको जस्तो सजिलो छैन युरोप। यहाँ आउने हो भने कामको अवसर र पारिश्रमिकबारे सबै कुरा राम्ररी जानकारी लिनू। काम नपाउन्जेल टिक्न सक्ने आधार खोज्नू। सबै कुरा राम्रो टुंगो नभई नहिँड्नू।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com