रूपन्देहीको देवदह नगरपालिका–११, छोट्की गुम्बीकी श्रीकान्ति मल्लाहले ग्यास चुह्लोबाट खाना पकाउन सकिन्छ भन्ने थाहा पाएको धेरै भएको छैन।
गाउँ नजिकैका चिया पसलमा ग्यास चुह्लोबाट चियाखाजा पकाएको देखेपछि मात्रै उनले गोबरको गुइँठा नभए पनि खाना पाक्दो रहेछ भन्ने थाहा पाएकी हुन्।
उनको उमेर ६० वर्ष पूरा भयो। उनले ग्यासमा खाना पकाउन पाएकी छैनन्। केही दिनअघि भेट्दा उनी खेतमा काम गर्दै थिइन्। घरअगाडि गोबरमा पराल र भुस मुछेर एउटा थुप्रो बनाइएको थियो। त्यसबाट बनाइएको गुइँठा त्यहीँ नजिकै सुकाइएको थियो।
झट्ट हेर्दा दाउराजस्तै देखिने गुइँठा श्रीकान्तिको चुह्लो बाल्ने मुख्य इन्धन थियो। उनले चार वटा भैंसी पालेकी छन्। ती भैंसीको आधाभन्दा बढी गोबर गुइँठा बनाएरै सकिन्छ। बाँकी गोबर खेतबारीमा मल हुन्छ।
'पहिले त गुइँठा बनाउनुपर्यो। बाँकी रहेको गोबर खेतमा हाल्छौं। गुइँठा जलाएको खरानी पनि खेतमै हाल्छौं,' उनले भनिन्।
सिक्टहनका झिनक मल्लाहको घरमा पनि गुइँठाबाटै खाना पाक्छ। झिनकले तीन वटा भैंसी पालेका छन्। उनकी श्रीमती विन्देश्वरी गुइँठा बनाउँछिन्। आधाभन्दा बढी गोबर गुइँठा बनाएरै सकिन्छ।
पछिल्लो समय पहाडी समुदायको बसोबास बढ्दै गए पनि मल्लाह, यादव, केवट र थारू लगायतको बसोबास रहेको सिक्टहन अन्न उत्पादनको हिसाबले उर्बर क्षेत्र मानिन्छ। खेतीको जमिन पर्याप्त रहेकाले यहाँका अधिकांश बासिन्दा किसान छन्। गाईभैंसी पालेका छन् तर आधाभन्दा बढीमा गोबर खाना पकाउने गुइँठा बनेर चुह्लोमा बल्छ र खरानी हुन्छ।
अधिकांश किसानका आँगनमा गोबरका गुइँठा सुकाइएको हुन्छ। घर र गोठका भित्ता र छानो पनि गुइँठा सुकाउँदा बसेका टाटाले भरिएका देखिन्छन्।
किसान परिवार खाना पकाउने एलपी ग्यास प्रयोग गर्न महँगो मान्छन्। उनीहरू सिलिन्डर र चुह्लो एकै पटक जुटाउनु अनि ग्यास किनिरहनु सामान्य किसानका लागि कठिन छ भन्ने ठान्छन्। दाउरा पाइँदैन।
यस्तो अवस्थामा देवदहको दक्षिणी क्षेत्रका बासिन्दाका लागि गुइँठा नै घरायसी इन्धनको मुख्य विकल्प हो।

रूपन्देहीमा देवदह नगरपालिका सामुदायिक वनका हिसाबले सबभन्दा धनी मानिन्छ। जिल्ला वन कार्यालय, रूपन्देहीको तथ्यांक अनुसार यस नगरपालिकामा दुई दर्जन सामुदायिक वन छन्।
यी सामुदायिक वनमा नगरपालिकाका वडा नम्बर ११ र १२ का बासिन्दाको पहुँच छैन। उनीहरूका लागि गुइँठा प्रयोग नयाँ होइन, परम्परा नै हो। स्थानीय मधेसी समुदाय गुइँठा बाल्नमै अभ्यस्त छ।
'दाउरा लिन टाढा जानुपर्छ। गोबर घरमै छ। गुइँठाले भइहहाल्छ त दाउरा खोज्न किन दुःख गर्नु! गुइँठामा खाना पकाउनु त हाम्रो चलन नै हो,' श्रीकान्तिले भनिन्।
मधेसी समुदायमा गाईवस्तु पालेका परिवारले त गुइँठा प्रयोग गर्छन् नै, नपालेकाले छिमेकीसँग गोबर मागेरै भए पनि गुइँठा बनाउँछन्। स्थानीय सुनिता मल्लाहले यसै गर्छिन्।
'हामीले भैंसी पालेका छैनौं। छिमेकीबाट गोबर लिएर गुइँठा बनाउँछु। कहिलेकाहीँ दाउरामा पनि पकाउँछु तर धेरैजसो गुइँठा नै बाल्छौं,' उनले भनिन्।
तराई क्षेत्रमा वनजंगल फँडानी गरी बस्ती बस्दै गएपछि दाउराको साटो गुइँठाको चलन बढेको अनुमान गर्न सकिन्छ। पहाडी समुदायको बाहुल्य रहेका गाउँमा धेरैजसो परिवारले एलपी ग्यास र गोबरग्यास प्रयोग गर्छन्। विपन्न मधेसी समुदायले बढीजसो गुइँठा नै प्रयोग गर्छन्।
स्थानीयवासी विन्देश्वरी मल्लाह ग्यास किन्न धेरै पैसा चाहिने भएकोले गुइँठाबाटै खाना पकाउने गरेको बताउँछिन्।
'गर्मी समयमा ग्यासमा खाना पकाउन सजिलो हुने थियो तर पैसा धेरै चाहिन्छ। ठूलो परिवारमा धेरै खाना पकाउन ग्यास पनि धेरै चाहिन्छ। हामीलाई गुइँठा नै ठिक छ,' उनले भनिन्।
उनीहरू हिउँदभरि गुइँठा बनाउँछन् र घाममा राम्ररी सुकाएर वर्षातको समयका लागि भण्डारण गर्छन्। गुइँठा गोला, चेप्टा र दाउराको आकारमा बनाउँछन्।
सरकारले सहरमा मात्र होइन ग्रामीण क्षेत्रमा पनि विद्युतीकरण र वैकल्पिक ऊर्जामा लगानी गरेको छ। सौर्यऊर्जा र गोबर ग्यासमा अनुदानको व्यवस्था छ। तर मध्यम आर्थिक अवस्था भएका परिवारले पनि गुइँठा नै प्रयोग गरिरहेका छन्।
देवदह नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष दुधनाथ यादवका अनुसार गुइँठामा पकाएको खाना स्वादिलो हुन्छ भन्ने धारणा छ। यस्तो धारणाले गुइँठा प्रयोग घट्न सकेको छैन।
वडा नम्बर ११ मा दुइटा सामुदायिक छन् तर सबै परिवारको पहुँच छैन। सर्वसाधारणका लागि वर्षको एक पटक मात्र वन खुला हुन्छ। वनबाट दाउरा किन्न महँगो पर्छ। घरमा पर्याप्त गोबर हुने भएपछि अधिकांश परिवार गुइँठामै निर्भर रहेको अध्यक्ष यादव बताउँछन्।
'मेरै घरमा पनि सात वटा भैंसी छन्। दुइटा भैंसीको गोबरले खेतबारीमा मल पुग्छ। बाँकी गोबरको गुइँठा बनाउँछौं,' उनले भने, 'घरमा ग्यास पनि छ। धेरै गर्मी हुँदा र घरमा धेरै पाहुना आउँदा मात्र ग्यास चलाउँछौं। अरू दिन गुइँठाबाटै पकाउँछौं।'
वडाध्यक्ष यादवका अनुसार वडा नम्बर ११ मा १४ वटा टोलबस्ती छन्। अधिकांश बासिन्दा मल्लाह, पासी, चमार, यादव, थारू, धोबी, कोहार छन्। कतिपय समुदायमा मृत्युको घटनामा घरबाट गुइँठा बालेर आगो लैजाने परम्परा छ।
केही समुदायमा गुइँठा प्रयोग संस्कार र परम्परासँग जोडिएकाले पनि हटाउन नसकिएको नगरपालिकाका प्रमुख ध्रुव खरेलको भनाइ छ। भान्सामा गुइँठा प्रयोग निरूत्साहित गर्न नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र अनुदानको कार्यक्रम ल्याएको उनको भनाइ छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट सुधार गरिएको चुह्लो, गोबर ग्यास र विद्युतीय चुह्लोका लागि अनुदान उपलब्ध गराउने गरी सम्झौता भएको नगर प्रमुख खरेलले बताए।
सुधारिएको चुह्लो, गोबर ग्यास र विद्युतीय चुह्लोमध्ये कुनै एउटामा उपभोक्ताले कुल लागतको ७९ प्रतिशत अनुदान पाउनेछन्। उपभोक्ताले गर्नुपर्ने २१ प्रतिशत खर्चमा श्रमदानको सुविधा पनि छ।
यो कार्यक्रम पाँच हजार परिवारमा पुर्याउने लक्ष्य छ। चालु आर्थिक वर्षमा एक हजार परिवारले पाउने गरी कार्यक्रम अघि बढाएको नगर प्रमुख खरेलले बताए।
'चालु वर्षमै एक हजार चुह्लो वितरण गर्ने हाम्रो याजना छ। सबै वडामार्फत आवेदन माग गरेका छौं,' उनले भने, 'आवेदन संकलन भएपछि परिवारको आर्थिक अवस्था हेरेर प्राथमिकताका आधारमा वितरण गर्छौं।'
गोबरको गुइँठा बनाएर दाउराका रूपमा प्रयोग गर्दा एकातर्फ खेतबारीमा प्रांगारिक मलको अभाव भएको छ भने अर्कोतर्फ मानिसमा स्वास्थ्य समस्या देखिने गरेको छ।
विद्युत उत्पादन बढ्दै गएकाले खपत बढाउन पनि गुइँठाको प्रयोग घटाउनुपर्ने खरेलको भनाइ छ।
'एलपी ग्यास र किनेको दाउराको तुलनामा विद्युतीय चुह्लोको प्रयोग धेरै सस्तो पर्न जान्छ,' उनी भन्छन्, 'गाउँघरमा बिजुली भनेको बत्ती बाल्ने, टिभी हेर्ने र मोबाइल चार्ज गर्ने मात्र हो भन्ने बुझाइ छ। नगरपालिकाले वडा कार्यालयमार्फत चेतनामूलक कार्यक्रम चलाउँछ।'
ग्रामीण बस्तीका साँघुरा घरगोठमा मानिस र गाईभैंसीलाई सुरक्षित ओतसमेत अभाव हुन्छ। हिउँदभरि घाममा सुकाएको गुइँठा वर्षाको पानीमा धेरै भिज्यो भने पग्लिन्छ। थोरै चिसो भए पनि सल्किँदैन।
यसो हुन नदिन गुइँठा गोठमा र घरभित्र राख्ने चलन छ।
चिकित्सकहरूका अनुसार पानीले भिजेको गुइँठामा ढुसी पलाउँछ। यस्तो गुइँठा बाल्दा निस्किने धुवाँ मानिसको स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. समीर गौतम लामो समय गुइँठाको धुवाँमा बस्दा फोक्सो, मुटु, कलेजो, आँखा लगायतका अंगमा असर पर्ने बताउँछन्।
'धुवाँ जेसुकैको भए पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ। यसले शरीरका सबैजसो भित्री अंगमा हानि गर्छ। भिजेको गुइँठाको धुवाँ धेरै हानिकारक हुन्छ,' उनले भने।
देवदहको दक्षिणी क्षेत्रमा मात्र होइन, बुटवल उपमहानगरपालिकाको मोतिपुरतिर पनि गुइँठा प्रयोग हुन्छ। तिलोत्तमा नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बासिन्दाका भान्साकोठामा गुइँठा नै चल्छ।
नेपाल सरकारले सन् २०३० भित्र सबै नेपालीमा स्वच्छ ऊर्जाको पहुँच पुर्याउने लक्ष्य लिएको छ। सुगम जिल्लाका रूपमा रहेको रूपन्देहीका मधेसी समुदायको बाहुल्य रहेको क्षेत्रमा भने खाना पकाउने इन्धनका रूपमा गुइँठा नै चल्तीमा छ।