तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित २५ जनामाथि पाँच दिनको म्याद थप भएको छ।
राज्यविरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको मिश्रसहित २५ जनामाथि थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार अर्को आपराधिक उपद्रव कसुरमा मात्रै अनुसन्धान भइरहेका २७ जनामाथि भने सात दिनको म्याद थपिएको हो।
अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा ५२ जना प्रहरीको हिरासतमा छन्।
राज्यविरूद्धको कसुरमा दुई जना हाजिर जमानीमा छुटेका छन्। अरू आपराधिक उपद्रव कसुरमा ३४ जनालाई हाजिर जमानीमा राखिएको एसपी बोहराले जानकारी दिए।
चैत १५ गते तीनकुनेको आन्दोलनमा हिंसा भड्किएको थियो। उक्त आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं पनि प्रहरीको हिरासतमा छन्।
अहिले पक्राउ परेका व्यक्तिहरूमाथि संगठित अपराधको कसुरमा पनि अनुसन्धान भइरहेकाले प्रहरीले ६० दिनसम्म हिरासतमा राख्न पाउने व्यवस्था छ।