जब जब २०७२ वैशाख १२ को भुइँचालोको कुरा उठ्छ, तब तब एउटै प्रश्न सोधिन्छ — तिमी कहाँ थियौ?
नेपालीहरूले मात्र होइन, त्यति बेला नेपालमा रहेका विदेशीले पनि पटक पटक यो प्रश्न झेलेका छन्।
दस वर्षदेखि यही सुन्दै आएका नेपाली पत्रकार सहिना श्रेष्ठ र सिंगापुरका फोटोग्राफर/लेखक जकारिया जेनियलले जब २०७२ को त्रासदी सम्झँदै किताब लेख्ने निर्णय गरे, उनीहरूले नाम दिए — नेपाल भूकम्प: कहाँ थियौ?
करिब ९ हजारले ज्यान गुमाएको र २२ हजारलाई घाइते बनाएको ७.८ म्याग्निच्युडको त्यो विनाशकारी भुइँचालोसँग मान्छेका आ–आफ्नै सम्झना र अनुभव जोडिएका छन्। तिनै अनुभव समेटिएको यो किताब सिंगापुरको प्रकाशन गृह 'पेजसेटर्स' बाट प्रकाशित भएको हो।
भुइँचालोको एक दशक पुगेकै दिन २०८२ वैशाख १२ गते ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा किताब विमोचन गरिएको थियो। यही शनिबार सिंगापुरमा विमोचन हुँदैछ।
हामीले किताबका लेखकद्वय सहिना र जकारियासँग उनीहरूको भुइँचालो अनुभव र किताबको विषयवस्तुबारे कुराकानी गरेका छौं।
सहिनाका शब्दमा, 'भुइँचालो सामूहिक अनुभव भए पनि कथा व्यक्तिगत हुन्छन्। एउटै ठाउँमा बस्ने मान्छेको कथा पनि फरक हुन्छ।'

त्यस दिन उनी 'नेपाली टाइम्स' को टोलीसँग चम्पादेवी पैदलयात्रा गर्दै थिइन्। बाटोभरि भुइँचालोकै कुरा हुँदै थियो। त्यही बेला धर्ती हल्लिन थाल्यो।
प्रभावित क्षेत्रभन्दा टाढा भए पनि जब उनले चम्पादेवी डाँडाबाट काठमाडौं खाल्डो कुहिरी मण्डल धुलोले ढाकिएको देखिन्, उनलाई त्यो भुइँचालो कति ठूलो रहेछ भन्ने अन्दाजा भइहाल्यो। जुन गतिमा धर्ती हल्लिएको थियो र काठमाडौं खाल्डोबाट जुन तहको मुस्लो उठेको थियो, उनले सोचिन् — काठमाडौंमा त केही बाँकी रहेन कि क्या हो!
उनलाई घरपरिवारको चिन्ताले हुलुक्कै पार्यो।
उनले पुतलीसडकको आफ्नो घर सम्झिइन्, वरपरका संरचना सम्झिइन्। बुबाले काम गर्ने अफिस सम्झिइन्, बुबाको अनुहार सम्झिइन्। तारन्तार फोन गरिन्। कसैसँग सम्पर्क हुन सकेन।
चिन्ता र तनावको पारो ह्वात्तै बढ्यो।
पदयात्रामा गएको टोली परिवारको सम्झनाले कहालिँदै हतार हतार फर्के।
सहिना माइतीघरदेखि दौडिँदै पुतलीसडक पुगिन्।
'म बाटोभरि बुबाको अफिस सम्झिरहेको थिएँ। हडबडमा त्यो दिन शनिबार हो भन्ने नै भुलेछु,' उनले भनिन्, 'घर पुग्दा ताल्चा मारिएको थियो। जब नजिकको खुला ठाउँमा परिवारका सदस्यलाई भेटेँ, त्यसपछि बल्ल मेरो सास आयो।'
किताबका अर्का लेखक जकारिया (ज्याक) को आफ्नै अनुभव छ।
सिंगापुरको नान्याङ टेक्नोलोजी युनिभर्सिटी (एनटियू) मा आमसञ्चार पढेका ज्याकले पत्रकारिताको इन्टर्नसिप काठमाडौंबाट प्रकाशित हुने अंग्रेजी दैनिक 'द रिपब्लिका' बाट गरेका थिए। उनले सिंगापुर प्रहरीमा कार्यरत नेपाली लाहुरेमाथि विस्तृत अध्ययन गरेर 'आवर गुर्खाज्' भन्ने किताब पनि लेखेका छन्।
त्यसै सिलसिलामा धेरैपटक काठमाडौं आएका उनी २०७२ वैशाख १२ गते पनि यहीँ थिए। उनी श्रीमतीलाई लिएर पहिलोपटक नेपाल आएका थिए।
भुइँचालो गएकै दिन केही नेपाली पत्रकार साथीहरूसँग उनको भेटघाट थियो।
गैरीधाराको एउटा रेस्टुरेन्टको गेटमा पुगेर जसै उनी ट्याक्सीबाट ओर्लन खोजे, एक महिलालाई आफ्नो बच्चा खोज्दै रोइरहेको देखे।
सुरूमा त ती महिला रूनुको कारण उनले बुझ्नै सकेनन्।
करिब २० सेकेन्डपछि मात्र चाल पाए, ठूलो भुइँचालो गइरहेको छ। धर्ती नराम्ररी हल्लिरहेको छ।
'त्यसपछि बल्ल मलाई आफू र ट्याक्सी एकैचोटि जमिनले निलेजस्तो महसुस भयो। मैले त्यस्तो अनुभव कहिल्यै गरेको थिइनँ,' त्यो घटना सम्झिँदै ज्याकले भने, 'म जो साथीहरूलाई भेट्न गएको थिएँ, उनीहरू पनि त्यहीँ थिए। तर जमिन यस्तरी हल्लिएको थियो, म चाहेर पनि उनीहरू भएको ठाउँसम्म पुग्न सकिरहेको थिइनँ।'
त्यही बेला उनले आफ्नी पत्नीलाई सम्झे, जसलाई उनले ठमेलको 'हिमालयन जाभा' मा छाडेर आएका थिए।
त्यसपछि त उनी साथीहरूसँग भेट्नुभन्दा जतिसक्दो छिटो आफ्नो पत्नीकहाँ पुग्न बेचैन भए।
कम्पन अलि थामिनबित्तिकै अर्को ट्याक्सी लिए र कुदिहाले।
'फर्किँदा ट्याक्सी भाडा दोब्बर भइसकेको थियो,' उनले हाँस्दै भने।
त्यसको भोलिपल्टै उनी आफ्नी पत्नीसँग सिंगापुर फर्किए।

'त्यो घटना सम्झिँदा मलाई आफू स्वार्थी भएँ कि जस्तो लाग्छ। जुन नेपाललाई मैले माया गरेँ र जुन नेपालीहरूले मलाई माया दिए, उनीहरूलाई आपत पर्दा म खुरूक्क आफ्नो देश फर्केँ,' ज्याकले भने, 'आखिर म कसैको छोरा हुँ, कसैको श्रीमान हुँ। मलाई मेरो र श्रीमतीको सुरक्षाको चिन्ता थियो। त्यही भएर भुइँचालको परकम्प गइरहेको ठाउँमा बस्नुभन्दा आफ्नो देश फर्किनु नै बुद्धिमानी लाग्यो। तर फर्केर गइसकेपछि मेरो मन कहिल्यै शान्त रहन सकेन।'
त्यो घटनाले ज्याकलाई कति त्रसित बनायो भने विगतमा ६–७ पटक नेपाल आइसकेका उनी त्यसपछि निकै समय आएनन्। भुइँचालोको नाम सुन्नेबित्तिकै उनी तर्सिन्थे।
'सिंगापुरमा हामीले त्यस्तो भुइँचालो कहिल्यै भोग्नुपरेको छैन,' उनले भने, 'त्यही भएर त्यो डर मेरो मनमा गडेर बस्यो।'
डर त अहिले पनि छ, तर काठमाडौं आउजाउ सुरू गरेका छन्।
'यो किताब लेख्ने आइडिया चाहिँ कसरी जन्मियो त?' मैले दुवै लेखकसँग यो प्रश्न सोधेँ।
ज्याकका अनुसार छ महिनाअघि सिंगापुरको 'एसियन जर्नालिजम फेलोसिप' (एजेएफ) को एउटा कार्यक्रममा नेपाली पत्रकारहरूसँग भेट हुँदा २०७२ को भुइँचालोबारे कुरा उठ्यो।
त्यसै क्रममा ज्याकले कार्यक्रममा भाग लिन गएका लेखक तथा पत्रकार नारायण वाग्लेलाई भने, 'नारायण! अर्को वर्ष नेपाल भूकम्पको १० वर्ष हो। हामी फेरि गैरीधाराको त्यही ठाउँमा खाना खान भेट्नुपर्छ है!'
नारायणले हाँस्दै भने, 'गुड गुड।'
भुइँचालोको दिन ज्याक भेट्न गएका नेपाली पत्रकारमध्ये नारायण पनि एक थिए। उनैसँग सिंगापुरमा भएको कुराकानीपछि भुइँचालो भोगेका व्यक्तिहरूको अनुभव संकलन गरेर किताब निकाल्ने आइडिया आएको ज्याक बताउँछन्।
'म गैरीधाराको त्यही रेस्टुरेन्टमा तिनै साथीहरूलई भेटेर भुइँचालो सम्झन चाहन्थेँ। यसले हामी सबैलाई फेरि एकचोटि त्यो घटनाको नजिक पुर्याउँछ र पछिल्लो दस वर्षमा मान्छेले बिर्सँदै गएको भुइँचालो सम्झन झक्झकाउँछ भन्ने मलाई लाग्यो,' उनले भने, 'त्यही सम्झना र अनुभवलाई आकार दिने सिलसिलामा यो किताब जन्मेको हो।'
ज्याकले किताब लेखनमा सहयोग गर्न एजेएफकै फेलो सहिनासँग सहयोग मागे।
त्यति बेला 'नेपाली टाइम्स' छाडेर बसेकी सहिनाले प्रस्ताव स्वीकार गरिन्।
भुइँचालोको दस वर्ष पुग्न केही महिना मात्र बाँकी भएकाले ज्याक तुरून्तै नेपाल आए र प्रभावित मान्छेहरू भेट्ने, भिडिओ र फोटो खिच्ने काम सुरू गरे।
सहिना र ज्याकले यो किताबमा भुइँचालोको केन्द्रविन्दु गोरखाको बारपाक र काठमाडौंका थुप्रै व्यक्तिसँग कुरा गरेका छन्। आफ्नो अनुभवसँगै भुइँचालोमा बाँचेकाहरूको सम्झना संकलन गरेका छन्। भुइँचालो जाँदा उनीहरू जहाँ थिए, त्यही ठाउँमा पुर्याएका छन्। त्यति बेलाको अनुभव र ताजा तस्बिरबाट १० वर्षको 'टाइमलाइन' झल्काएका छन्।
'हामीले भुइँचालोको सम्झना मात्र होइन, त्यो घटनाले मान्छेको जिन्दगीमा के-कस्तो प्रभाव पार्यो भन्ने खोजेका छौं। त्यसले ल्याएको मानसिक विचलन र त्यसले छाडेको छाप खोज्ने प्रयास गरेका छौं,' ज्याकले भने, 'खासमा मैले आफ्नै मानसिक विचलन दूर गर्न यो किताब लेखेको हुँ।'
'कुनै घटनाले पारेको आघात पुर्न मान्छेहरू मनोचिकित्सककहाँ जान्छन्, मैले भने किताब लेख्ने बाटो समातेँ,' उनले अगाडि भने, 'मैले नेपालमा धेरै समय बिताएको छु। धेरै साथीहरू बनाएको छु। म आधा नेपाली भइसकेँ। यो किताब संसारका हरेक मानिसका लागि हाम्रो उपहार हो। कुनै एक जना व्यक्ति पनि यसबाट लाभान्वित भयो भने हामी आफूलाई सफल ठान्नेछौं।'

किताबमा बारपाकका महिला, बालबच्चा, शिक्षक लगायत लेखक, पत्रकारहरूको भुइँचालो अनुभव समेटिएको छ। भुइँचालोपछि राहत सामग्री लिएर सिंगापुरबाट आएको टोलीका सदस्यहरूसँग पनि उनीहरूले कुरा गरेका छन्।
यसमा नेपालीको कथा छ, नेपालमा भएका विदेशीको कथा छ। सरसफाइ गर्नेको कथा छ, हिमाल चढ्न गएकाको कथा छ। बारपाकको कथा छ, काठमाडौंको कथा पनि छ।
काठमाडौंको सम्पदा स्थल पुनर्निर्माणमा काम गरेका व्यक्तिदेखि वास्तुविज्ञको कथा छ। भुइँचालो वृत्तान्तदेखि कसरी सुरक्षित रहने भन्ने सुझाव पनि छ।
'किताबमा फरक फरक क्षेत्रका पात्र समेट्नुपर्छ भन्नेमा हामी सुरूदेखि नै सजग थियौं,' सहिना र ज्याकले भने, 'अहिले फर्केर हेर्दा सरकारी कर्मचारी, प्रहरी, सेना, ड्राइभर, इञ्जिनियर लगायत विविध क्षेत्रमा काम गर्ने मानिसहरूको कथा समेट्न सकिएन भन्ने लाग्छ।'
उनीहरूले अगाडि भने, 'छोटो समयमा काम गरेकाले कतिपय कथा चाहेर पनि समेट्न सकेनौं। जस्तो, हामीले भुइँचालोका घाइतेहरूको उपचारमा संलग्न एक सर्जनसँग कुरा गर्न खोजेका थियौं। तर उनले हामीलाई अनुमति नै दिइनन्।'
के छुटेका पात्र समेटेर दोस्रो भाग लेख्ने विचार छ?
यो प्रश्नमा ज्याकले भने, 'नेपाली समाजले पछिल्लो दस वर्षमा ठूलो उतारचढाव भोग्यो। भुइँचालोपछि कोभिड महामारी सह्यो। दुई-दुईचोटि चुनावमा भोट हाल्यो। राजनीतिक उतारचढाव देख्यो। मलाई यो दस वर्षको त्यही उतारचढावपूर्ण कालखण्ड संकलन गर्न मन थियो। त्यसैले मलाई लाग्छ, अब हामी यही विषयमा योभन्दा अगाडि केही लेख्दैनौं।'
किताबको दोस्रो भाग नलेखे पनि रिपोर्टिङ क्रममा खिचेका भिडिओबाट वृत्तचित्र तयार पार्ने सोच भने बनाएका छन्।
करिब ३० हजार शब्दको यो किताबमा अनुभव बाँड्ने, लेख लेख्ने र अन्तर्वार्ता दिनेहरू धेरै पत्रकार भए कि भनेर उनीहरू चिन्तित थिए। अहिले त्यो चिन्ताबाट मुक्त भइसके। यो पत्रकारकै प्रोजेक्ट भएकाले उनीहरूको कथा धेरै आउनुमा आफूले समस्या नदेखेको ज्याक बताउँछन्।
'पत्रकारका रूपमा हामी सधैं अरूका कथा संकलन गर्छौं, आफ्नो कथा भन्न पाउँदैनौं। सबै जना सुरक्षित स्थलको खोजीमा रहेका बेला पत्रकारहरू घटनास्थल कुदिरहेका थिए। हाम्रा ती कथा भनिएका छैनन्,' सहिनाले भनिन्, 'यो किताबमा हामीले पत्रकारका कथा पनि सुनाएका छौं।'
सहिना अहिले स्वतन्त्र पत्रकार र लेखककै रूपमा रमाइरहेकी छन्। ज्याक व्यावसायिक फोटोग्राफरका रूपमा सक्रिय छन्।
नेपालसम्बन्धी तेस्रो किताब लेख्ने विचार पनि छ कि भनेर मैले ज्याकलाई सोधेकी थिएँ।
'तत्काल केही सोचेको छैन। जुन कथाको सुरूआत, प्रवाह र अन्त्य राम्रो हुन्छ, मलाई त्यस्तो कथा लेख्न र फोटोमार्फत् भन्न मन लाग्छ,' उनले भने, 'मानवीय संवेदनासँग जोडिएको कथा मेरो रूचिको विषय हो। जुन दिन त्यस्तो कुनै कथाले प्रेरित गर्ला, पक्कै लेखुँला।'
***