आठ–दसवटा घरको घेरोमा सानो साझा चोक– यस्तो ठाउँ कहीँ कतै देख्नुभएको छ?
तपाईंहरू सजिलै भन्नुहोला– यो त के नौलो भयो! काठमाडौंको हरेक दोस्रो वा तेस्रो गल्लीमा यस्तो ठाउँ भेटिन्छ।
यही प्रश्न मैले यस्तरी सोधेँ भने नि– एउटै घरको घेरोमा दिनभरि झलमल्ल घाम र रातभरि टहटह जून लाग्ने साझा चोक, त्यो पनि भुइँसतहमा होइन, पहिलो तलामा– यस्तो घर कहीँ कतै देख्नुभएको छ?
अब चाहिँ तपाईंहरू पक्कै अलमलिनुहुन्छ।
यही प्रश्न मलाई सोधेका थिए, सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधरले।
हामी त्यस दिन असनको ‘सम्पदा यात्रा’ क्रममा गुफाजस्ता गल्ली छिचोल्दै धलसिक्व बहा: पुगेका थियौं। मूल सडकबाट भित्र, साँघुरा, होचा, अँध्यारा गल्लीपारि त्यस्तो झलमल्ल ठाउँ होला भन्ने मैले सोचेकै थिइनँ।
‘यो त केही होइन,’ आलोकले भने, ‘यस्तै चोक घरको पहिलो तलामा देख्नुभएको छ?’
म छक्क परेँ।
उनले भने, ‘काठमाडौंमा त्यस्तो डिजाइनको घर मैले अर्को देखेको छैन।’
लामो समयदेखि काठमाडौं गल्लीमा सम्पदा यात्रा गराउँदै आएका आलोकले यसो भनेपछि म त्यो घर हेर्न र त्यसबारे जान्न उत्सुक भएँ।
दुई दिनपछि बिहानै आलोकको फोन आयो, ‘साढे ९ बजे नरदेवी आइपुग्न सक्नुहुन्छ? मैले घरधनीसँग समय लिएको छु।’
हतार–हतार तयार भएर फटाफट हिँड्दा पनि म उनले भनेको समयभन्दा दस मिनेट ढिला पुगेँ।
नरदेवीबाट हामी बढ्यौं, क्षत्रपाटीतिर।
हारती होटल पुग्नुभन्दा अलि अगाडि सडक देब्रेतिर पुरानो डिजाइनको अग्लो ढोका देखाउँदै आलोकले भने, ‘हामी जुन घर हेर्न जाँदै छौं, त्यसको पुरानो मूलगेट यही हो।’
जस्ताले बारेको उसै त जीर्ण ढोका, खुइलिएको रङमाथि जमेको धूलोले झनै जीर्ण देखिन्थ्यो। ढोकासँगै गाँसिएको माटो र इँटाको अग्लो पर्खाल धन्न भुइँचालोमा जोगिएछ, अहिले धराप बनेर उभिएको छ।
आलोकका अनुसार, विगतमा यो घरको कम्पाउन्ड छिर्न दुइटा मूलढोका थिए। एउटा यही जीर्ण अवशेष भइहाल्यो, अर्को चाहिँ सर्लक्कै भत्काएर लगभग बाह्रफुटे बाटो बनेको छ।
मूल–सडकबाट देब्रे मोडिने बाटोलाई ‘गुर्जुमार्ग’ भनिन्छ। यो बाटो सरासर त्यही घरमा पुग्छ, जुन हामी हेर्न आएका छौं।
अठारौं र उन्नाइसौं शताब्दीभरि अमेरिका र युरोपका ठूला सहरमा ‘निओ–क्लासिकल’ शैलीका महल खुब चलेका थिए। सामान्यतया सेतो रङका यी महलको बाहिरी आवरण जति भव्य हुन्थ्यो, भित्री स्वरूप उस्तै कलात्मक। बार्दली, बरन्डादेखि कोठा र कौसीसम्म ज्यामितीय ढाँचामा निर्माण गरिन्थ्यो। जंगबहादुर र चन्द्रशमशेरको बेलायत भ्रमणपछि काठमाडौंमा पनि यो शैली भित्रियो। हनुमानढोका दरबारको गद्दी बैठकदेखि सिंहदरबार, बागदरबार, केशरमहल लगायत अधिकांश राणाकालीन दरबार ‘निओ–क्लासिकल’ ढाँचामै बनेका हुन्।
त्यस्तै ‘निओ–क्लासिकल’ ढाँचाको सानो स्वरूप हाम्रो अगाडि थियो।
यो ‘श्री ६ धर्माधिकार’ बडागुरुज्यू हेरम्बराज पाण्डेको ‘हवेली’ हो। उनले बडागुरुज्यू हुनुअघि विक्रम सम्बत् १९७० मा यो घर बनाएका थिए।
बडागुरुज्यूहरूको परिवार सुरूमा हनुमानढोका दरबारनजिकै ढोकाटोलमा बस्थ्यो। त्यहाँ दाजुभाइको अंशबन्डापछि हेरम्बराज आफ्नो भागको सम्पत्ति बेचेर क्षत्रपाटी (रक्तकाली) सरेको परिवारका सदस्य बताउँछन्।
एक सय छ वर्ष पुरानो यो हवेलीसँग राजा पृथ्वीनारायण शाहभन्दा अगाडिबाट चलेको बडागुरुज्यूको इतिहास जोडिन्छ।
राजसंस्था रहेसम्म राजालाई श्रीपेच पहिर्याउनेदेखि राजधर्मको सपथ दिलाउने काम बडागुरुज्यूबाट हुन्थ्यो। उनी राजाको कानमा ‘मन्त्र’ फुक्थे, राजखलकको चिना हेर्थे, दरबारभित्र धार्मिक अनुष्ठानहरू गराउँथे। विभिन्न कारणले ‘जात घटुवा भएका’ बाहुन–क्षत्रीलाई साविककै जातमा थमौती गर्ने जिम्मा पनि बडागुरुज्यूकै थियो। त्यही भएर काठमाडौंका कतिपय बूढापाका अझै यसलाई ‘जात पाउने घर’ भन्छन्।
दाजुभाइबीच भागबन्डा भएर खुम्चिनुअघि ‘बडागुरुज्यूको हवेली’ मा १९ रोपनीको कम्पाउन्ड थियो। यहाँ हेरम्बराजको परिवारसँगै दुई सय जनाभन्दा बढी दरबन्दीको सिंगो पल्टन छाउनी बनाएर बस्थ्यो।
तपाईंहरूले काठमाडौंका जात्रा–पर्वमा प्राचीन शैलीको जंगी पोसाक लगाएर बाँसुरी बजाउँदै हिँड्ने सैनिक पल्टन देख्नुभएको छ?
तिनले शिरमा चाँदतोडा र ज्यानमा कालो दौरा–सुरुवाल लगाएका हुन्छन्। पहेँलो मोजामाथि कालो जुत्ता टलक्क टल्कन्छन्। कम्मरमा खुकुरी भिर्छन्, हातमा भरुवा बन्दुक। त्यही पल्टन अघि–अघि हिँड्ने कमान्डरले सेतो जामामाथि भोटो र शिरमा पगरी गुथ्छन्। हातमा ढाल र तरबार चम्किएको हुन्छ।
हनुमानढोका दरबारमा देखिने यही सैनिक टुकडीलाई ‘गुरुज्यूको पल्टन’ भनिन्छ। कुनै समय श्री ६ बडागुरुज्यूको घरमा बस्ने र उनकै सुरक्षार्थ खटिने भएकाले ‘गुरुज्यूको पल्टन’ भनिएको हो।
यसको खास नाम ‘शार्दुलजंग’ पल्टन हो। विक्रम सम्बत् १८५६ मा राजा गिर्वाणयुद्ध विक्रम शाहले यो पल्टन स्थापना गरेका हुन्। यसले अंग्रेजसँग लडाइँ लडेको इतिहास छ।
अब प्रश्न उठ्छ, युद्धमोर्चामा खटिने सेनालाई किन र कसरी ‘गुरुज्यूको पल्टन’ मा परिणत गरियो? कसरी यसको भूमिका सांस्कृतिक पर्वहरूमा बाँसुरी बजाउन सीमित पारियो? र, ‘श्री ६’ पदवीसहित सिंगो पल्टनको सुरक्षा पाउने बडागुरुज्यूको प्रचलन कहिलेबाट सुरू भयो?
यी सबै इतिहास चिन्न हामी भेट्न आएका छौं, बडागुरुज्यू हेरम्बराजका छोरा जयप्रकाश र उनका छोरा कञ्चनप्रकाश पाण्डेलाई।
आलोकले फोन गरेर जनाउ दिनेबित्तिकै कञ्चन हामीलाई लिन ‘गुर्जुमार्ग’ मै आइपुगे। मुसुक्क हाँस्दै दाहिने हात अघि सारे। जवाफमा आलोकले भने, ‘अब हात मिलाउने होइन, नमस्कार गर्ने।’
कञ्चनले हामीलाई सय वर्ष पुरानो पुर्ख्यौली घरको बाहिरी रूप देखाए।
सेतो रङ खुइलिएर भित्ताभरि कालो धब्बा जमेछन्। त्यही भित्ताका चिरा र कापमा सडकबाट उडेर आउने सहरको धूलो टपक्कै टाँसिएछ। झ्यालढोका मक्किएछन्। वर्षौंको हुरीझरीले दलिनमा लामा–लामा झारको झाडी बनिसकेछ। त्यसमाथि बहत्तर सालमा भुइँचालोको चोट खाएपछि घरको एउटा मोहडा ह्वाङ्गै भत्काइएछ।
समयका अनेक कहरबीच तीनतले हवेली एउटा शालीन अतीतको मलीन वर्तमान बनेर उभिएको छ।
‘बाहिरबाट हेर्दा तीनतले भए पनि यहाँ भुइँतलामा कोठा छैनन्,’ कञ्चनले एउटा ढोका घरक्क उघारे।
गुम्सिएको अँध्यारो छिँडीबाट ओसको हरक नाकैमा ठोक्कियो। केही समयदेखि छिँडीको सानो खण्ड गोदामका लागि भाडामा लगाइएको रहेछ। बाँकी भाग अहिले पनि रित्तै छ। बीचमा ठूल्ठूला पिलर ठडिएका छन्, जसले सय वर्षभन्दा बढीदेखि घरको भार थामेको छ।
बन्द डब्बाजस्तो छिँडी उसो त अँध्यारै हो। तर, सिलिङमा छ ठाउँ बाक्लो सिसा चढाइएको छ। त्यहाँबाट छिर्ने सूर्यको मधुरो प्रकाशले कम्तिमा दिउँसो टर्चलाइट बाल्न नपर्ने गरी उज्यालो राख्छ।
मलाई त्यहाँ छिर्दा हिन्दी ‘हरर’ फिल्ममा देखाइने ‘तहखाना’ को अनुभूति भयो। बाहिरको तापक्रम न्यानो भइसक्दा पनि तहखाना चिसै थियो।
उति बेला काठमाडौंको ठिहिरो जाडोमा घरको छिँडी बाह्रै महिना ओसिलो हुन्थ्यो। ओस हटाउने अर्को उपाय थिएन, कञ्चनले भने, ‘मान्छेहरू चिसोले सरसामान नबिग्रियोस् भनेर छिँडी खाली राख्थे, माथिल्ला तलामा मात्र बसोबास गर्थे। काठमाडौंको पुरानो नेवार शैलीको घरमा तपाईं यस्तै छिँडी देख्नुहुन्छ।’
छिँडीबाट बाहिर निस्केर हामी सय वर्ष पुरानो काठे–भर्याङ बजाउँदै माथिल्लो तला उक्लियौं।
आलोकले काठमाडौंको जुन ‘विरल’ चोक वर्णन गर्दै यहाँ ल्याएका थिए, त्यो अब मेरो आँखासामुन्ने थियो।
चारैतिर ठूल्ठूला बैठक–कोठा, बीचमा लगभग भलिबल कोर्टजत्रो चोक र चोकमाथि खुला आकाश। भुइँचालो अघिसम्म चोक वरिपरिका दुई तलामा २९ वटा कोठा थिए। एकापट्टिको मोहडा भत्किएपछि अब १७ वटा बाँकी छन्।
‘हामी केटाकेटी हुँदा सधैं गुल्जार रहन्थ्यो यो चोक,’ ५४ वर्षीय कञ्चनले विस्तार लगाए, ‘जाडोमा घाम ताप्थ्यौं, गर्मीमा अबेरसम्म पारिवारिक जमघट चल्थ्यो। पूजापाठदेखि घरायसी समारोह जम्मै यहीँ हुन्थे। हामी केटाकेटीको त कुदाकुद गर्ने ठाउँ नै यही।’
बडागुरुज्यू हेरम्बराज वनारस जाँदा ‘निओ–क्लासिकल’ शैलीको यस्तो घर देखेर कायल भएछन्। अहिलेजस्तो घरको नक्सा बनाउने चलन थिएन, कञ्चनका ८५ वर्षीय बुबा जयप्रकाशले भने, ‘बुबाले काठको मोडलमा डिजाइन उतारेर ल्याउनुभएको थियो। त्यही मोडल हेरेर स्थानीय कालिगढले हुबहु बनाए। उहाँले चित्त नबुझेर तीन–चारचोटि भत्काउँदै, बनाउँदै गर्नुभएको थियो रे।’
उनले यो पनि भने, ‘धेरै पछिसम्म त्यो मोडल हामीले ‘शो–पिस’ बनाएर राखेका थियौं।’
कञ्चनले थपे, ‘केटाकेटी हुँदा त्यसैलाई चोकमा ल्याएर हामी ‘घर–घर’ खेल्थ्यौं।’
उनका अनुसार, यो घर बनाउन गोरखाको छहरेदेखि अग्राखको काठ बोकाएर ल्याइएको थियो। बैठकमा झुन्डिएका झिलिमिली झल्लर बेल्जियमबाट झिकाइएका थिए। भित्ता र दलिनमा सुर्कीचुनामाथि बुट्टा कुँदिएका छन्, जसले घरको आवरण कलात्मक बनाएको छ। केहीअघि मर्मतसम्भार गर्दा कञ्चनले टोखाका कालिगढ ल्याएर दुरुस्तै कुँद्न खोजेका थिए। राम्ररी हेर्ने हो भने पुरानो र नयाँमा प्रस्टै फरक छुट्टिन्छ।
‘त्यति बेलाजस्तो माटोमाथि मिहिन बुट्टा निकाल्न गाह्रै रहेछ,’ उनले भने।
कञ्चन पर्यटकलाई सहर घुमाउने काम गर्छन्। यो पेसाले उनको जनसम्पर्क बढेको छ। कुनै समय यस्तो थियो, जब बडागुरुज्यू परिवारको कोही पनि बाहिरी मान्छेसँग मेलजोल राख्दैन थिए।
‘हामी आफ्नै दाजुभाइ र स्कुलका साथीभाइसँग खेलेर हुर्कियौं। टोलका मान्छेसँग चिनजानै भएन,’ उनले भने, ‘न कोही हाम्रो घर आउँथे, न हामी कसैका घर जान्थ्यौं।’
यो ‘एकान्तवास’ को कारण बडागुरुज्यूको परम्परा र राजखलकसँग अभिन्न सम्बन्ध हो।
पाण्डे खलकको इतिवृत्ति उल्लिखित वंशावलीअनुसार तनहुँका सेनवंशीय राजाको दरबारमा लामो समयदेखि राजगुरू थिए, गौरीश्वर पण्डित। गोरखाका राजा पृथ्वीपति शाहले आफ्ना राजकुमारहरूलाई दीक्षामन्त्र दिन, राज्याभिषेक लगायत धार्मिक अनुष्ठान गर्न विद्वान पण्डित खोजी गर्दा गौरीश्वरलाई झिकाएका थिए।
इतिहासकार बाबुराम आचार्यले लेखेको ‘नेपालको संक्षिप्त वृत्तान्त’ मा भने यसबारे फरक प्रसंग उल्लेख छ।
गोरखाका युवराज वीरभद्र शाहले तनहुँका राजा दिग्विजय सेनकी दुइटी बहिनीसँग एकैपटक विवाह गरेका थिए। वीरभद्रको राजा हुन नपाउँदै निधन भयो। त्यति बेला यिनकी कान्छी युवराज्ञी मल्लिकावती गर्भवती थिइन्। उनले पति बितेको दुई–चार महिनामै छोरा जन्माइन्।
तनहुँ दरबारमा जन्मिएका गोरखाका नवजात उत्तराधिकारीको नाउँ नरभूपाल शाह राखियो।
‘गोरखाका राजा पृथ्वीपति शाह आफ्नी बुहारी मल्लिकावती र नवजात नाति नरभूपाल शाहलाई राजभवनमा झिकाइहाल्न हतारिएका थिए,’ आचार्य लेख्छन्, ‘दिग्विजय सेन भने बहिनी र भानिजलाई गोरखाको कलहग्रस्त राजभवनमा तत्काल पठाइहाल्न तयार थिएनन्।’
नरभूपाल शाह मामाघर तनहुँको राजभवनमै हुर्किए। ब्रतबन्धको उमेर पुगेपछि बल्ल उनलाई गोरखा पठाउने तयारी सुरू भयो।
त्यति बेला तनहुँमा राजगुरू गौरीश्वर निकै प्रभावशाली थिए। गोरखाको राजभवनमा पनि आफ्नो प्रभाव विस्तार गर्ने उनको मनसुवा थियो। उनले युवराज्ञी मल्लिकावतीलाई ‘नरभूपाल शाहको ब्रतबन्ध हुँदा मन्त्र सुनाउने अधिकार आफ्नो छोरालाई दिलाउन’ अनुरोध गरे।
मल्लिकावती सहमत भइन्।
यसैअनुसार गौरीश्वरका जेठा छोरा गोकुलविलास गोरखाको राजभवन पुगे। उनले नरभूपाल शाहको ब्रतबन्ध संस्कार सकिनेबित्तिकै दीक्षामन्त्र सुनाए।
त्यसअघि गोरखा दरबारमा युवराज र राजकुमारहरूको विवाहपछि मात्र दीक्षामन्त्र सुनाउने परम्परा थियो, इतिहासकार आचार्य लेख्छन्, ‘राजगुरूका रूपमा अर्को व्यक्तिले गोरखाको राजभवनभित्र प्रवेश नपाओस् भनेर यिनले छलकपट गरेका थिए।’
आचार्य यो पनि लेख्छन्, ‘यो थाहा पाएर राजा पृथ्वीपति शाह अत्यन्तै रिसाए। यतिञ्जेल उनी नवयुवराजको गुरूका रूपमा स्थापित भइसकेकाले दण्ड दिइहाल्न सकेनन्।’
यो घटनापछि गौरीश्वर पण्डितको खलक गोरखाको राजगुरूका रूपमा स्थापित भयो।
तनहुँबाट गोरखा हुँदै पृथ्वीनारायणसँगै काठमाडौं आइपुगेको ‘पण्डित खलक’ नै कालान्तरमा ‘पाण्डे खलक’ मा रूपान्तरण भएको कञ्चनको भनाइ छ।
राजेन्द्रविक्रम शाहको पालामा विजयराज पाण्डेलाई राजगुरू नियुक्त गर्दा ‘हाम्रा सकल सन्तानले तपाईंको सन्तानबाट मन्त्र लिनू’ भनी लालमोहर गरिदिएका थिए। उक्त लालमोहरपछि राजगुरूलाई ‘श्री ६ धर्माधिकार बडागुरुज्यू’ भन्न थालियो।
त्यसयता राज्यका जुनसुकै औपचारिक समारोहमा बडागुरुज्यूलाई राजाको दाहिनेपट्टि र प्रधानमन्त्रीलाई देब्रेपट्टि बसाल्ने चलन सुरू भएको मानिन्छ।
बडागुरुज्यूलाई ‘श्री ६ धर्माधिकार’ भन्ने चलन हेरम्बराजको कार्यकालसम्म रह्यो। उनी २०१४ सालसम्म यो पदमा थिए।
पृथ्वीनारायण शाहभन्दा अगाडिदेखि पाण्डे खलकमै अकन्टक रहेको बडागुरुज्यू पद राजा वीरेन्द्रको पालामा केही समय खोसियो। वीरेन्द्रले वंशाणुगत बडागुरुज्यूको चलन हटाएर प्रतिस्पर्धाका आधारमा चयन गर्ने नियम बनाएका थिए।
गैरपाण्डे खलकबाट पहिलोपटक अम्बिकाप्रसाद शर्मा बडागुरुज्यू भए। यो व्यवस्था नफापेको भन्दै पाण्डे खलकबाटै खगेन्द्रराजलाई नियुक्त गरियो।
बडागुरुज्यू मातहत सैनिक पल्टन राख्ने चलन भने राणाकालबाट सुरू भएको हो। जंगबहादुरले शक्ति हत्याउने षड्यन्त्रअनुरुप दरबारको सेना फुटाएर त्यसको ठूलो हिस्सा बडागुरुज्यूको सुरक्षार्थ खटाएको इतिहास छ।
सेनाका पूर्वसहायक रथी केशरबहादुर भण्डारीले ‘गुरुज्यूको पल्टन’ माथि अनुसन्धान गरेका छन्। उनको लेख पनि प्रकाशित छ। उनका अनुसार, पृथ्वीनारायणको पालादेखि हनुमानढोका दरबारभित्र ‘बिजुली गारत’ भनिने सेनाको विशिष्ट फौज थियो। यसले शाही रक्षक (रोयल गार्ड) को काम गर्थ्यो।
जसै जंगबहादुर राणाको उदय भयो, उनी दरबारको शक्ति आफूमा खिचेर राजालाई कमजोर पार्ने तानाबाना बुन्न थाले। यसमा तत्कालीन बडागुरुज्यू विजयराजले साथ दिए।
विजयराजकै सल्लाहमा जंगबहादुरले दरबारभित्रका जंगी नाल र निसान बडागुरुज्यूको निवासमा सार्न राजालाई सुझाएको भण्डारीले लेखेका छन्।
‘हनुमानढोका दरबारभित्र जंगी निशानको विधिवत् पूजा हुन सकेको छैन। यसले राज्यमा अनिष्टको खतरा रहन्छ,’ तत्कालीन राजा राजेन्द्रविक्रमलाई डर देखाउँदै जंगबहादुरले भनेका थिए।
उनले यो पनि भने, ‘बरू हनुमानढोकाको सट्टा बडागुरुज्यूको निवासमा राख्न पाए त्यहाँ नित्यपूजा हुनेछ। राज्यको संकट टर्छ।’
राजेन्द्रविक्रम जंगबहादुरको सुझाव अमल गर्न तयार भए।
यो जंगबहादुरको पहिलो जित थियो।
त्यसपछि उनले जंगी नाल र निसानको सुरक्षा र पूजाआजा बेला बन्दुक पड्काएर बढाइँ गर्न हनुमानढोका दरबारको ‘बिजुली गारत’ पनि बडागुरुज्यूको घरमै सार्न सुझाए।
यो सुझाव पनि राजाबाट मञ्जुर भयो।
राजाको शक्ति मानिने ‘बिजुली गारत’ को सबभन्दा ठूलो लडाकू समूह ‘शार्दुलजंग पल्टन’ लाई बडागुरुज्यको घरमा खटाइयो, भण्डारी लेख्छन्, ‘शार्दुलजंगलाई दरबारबाहिर लगेर राजाको शक्ति कमजोर पार्न जंगबहादुर सफल भए।’
जंगबहादुरको यही षड्यन्त्रको नतिजा हो, विक्रम सम्बत् १९०३ को कोतपर्व।
हेरम्बराज पाण्डेको कार्यकालपछि राजा महेन्द्रको पालामा यो पल्टनलाई बडागुरुज्यूको घरबाट हनुमानढोका दरबार फर्काइएको थियो। महेन्द्रले विभिन्न कालखण्डमा बडागुरुज्यूहरूले पाएको लालमोहर पनि रद्द गरेका थिए।
त्यति बेला ‘गुरुज्यूको पल्टन’ बाट करिब ५० प्रतिशतले अवकाश पाए। बडागुरुज्यूको सुरक्षागार्डका रूपमा सात जनाको टुकडी मात्र राखिएको कञ्चन सम्झन्छन्।
२०६२–६३ को जनआन्दोलनपछि शाहवंशीय राजतन्त्र अन्त्य भयो। त्योसँगै बडागुरुज्यू पद पनि रहेन। जनार्दनराज पाण्डे अन्तिम बडागुरुज्यू हुन्।
‘पद नरहे पनि हाम्रो इतिहासको सम्झना हामीसँगै छ,’ कञ्चनले भने, ‘म त्यो इतिहास बडागुरुज्यूको हवेलीमा जीवित राख्न चाहन्छु।’
उनी आफ्नो भागमा परेको खण्ड मर्मतसम्भार गर्ने तयारीमा छन्। यसलाई पुरानै स्वरूपमा जस्ताको तस्तै जीर्णोद्धार गरेर ‘हेरिटेज होटल’ सञ्चालन गर्ने उनको योजना छ। पाँच वर्षअघि योजना अघि बढिसकेको थियो। बहत्तरको भुइँचालोले घर झनै जीर्ण भएपछि बीचैमा तुहियो।
‘अब फेरि ब्युँताउँदैछु। बडागुरुज्यू परम्परा र त्योसँगै जोडिएको हवेलीको कथा हेरिटेज होटलमा जीवित रहनेछ,’ उनले भने।
होटल खुलेपछि सायद नाउँ रहला — ‘श्री ६ को हवेली’।
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी
यी पनि हेर्नुहोस्: