हामीले केही समयदेखि काठमाडौंको मुटुमा विशाल टुँडिखेल पार्क बनाउने कुरा गर्दै आएका छौं। यो सपना कसरी पूरा गर्न सकिन्छ भनेर पटक–पटक लेखेका छौं।
कुनै पनि ठाउँको नयाँ ‘ल्यान्डस्केप’ परिकल्पना गर्दा त्यहाँको इतिहास बिर्सनुहुन्न। इतिहासले हामीलाई त्यसको विकासक्रम मात्र होइन, त्यससँग जोडिएको संस्कृति र सभ्यता पनि चिनाउँछ।
आज हामी दुई हजार वर्षअघि किराँतकालदेखिको टुँडिखेल इतिहास, संस्कृति र सभ्यताको कुरा गर्दैछौं।
किराँतकालमा सहरी योजना तीन घेराको थियो। पहिलो घेरामा पर्थ्यो, डाँडामाथिको झुरुप्प बस्ती। दोस्रो घेरामा बेसीको उर्वर भूमि, जहाँ बाह्रै महिना खेती हुन्थ्यो। त्योभन्दा पर, तेस्रो घेरामा थियो– नदी, वनजस्ता प्राकृतिक स्रोत।
यो सहरी योजनाको झलक आज पनि देखिन्छ। काठमाडौं होस्, ललितपुर वा भक्तपुर होस्, चाहे कीर्तिपुर वा साँखु– सबै पुराना बस्ती डाँडाको थुम्कोमा छन्। यी थुम्कालाई बागमती, टुकुचा, नख्खु, कोड्कूजस्ता नागबेली नदीले घेरेको हामी देख्छौं।
यसमा टुँडिखेल कहाँ पर्छ त?
सर्सती आँखा दौडाउने हो भने उपत्यकाका पुराना बस्तीको बाहिरी घेरामा हामी चउर देख्छौं। पाटनको लगनखेल र जावलाखेल, भक्तपुरको सैनिक स्कुल मैदान, कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय मैदान र काठमाडौंको टुँडिखेल।
किराँतकालमा जीविकाको स्रोत खेतीपाती र पशुपालन थियो। उनीहरू डाँडाको थुम्कोमा बस्थे, बेसीको फाँटमा खेती गर्थे। बस्ती छेउको हरियो चउरमा वस्तुभाउ चराउँथे। यसले बाढीको जोखिम भएन। नदीले उर्वर बनाएको भूमि पनि जोगियो।
चउरको सांस्कृतिक महत्व पनि थियो। यस्ता चउर वा पर्यावरणीय रूपले महत्वपूर्ण स्थलमा देवी–देवताको ‘पिठ’ स्थापना गरिन्थ्यो। तिनै देवी–देवताको मूलघर, अर्थात् ‘द्योछेँ’ सहरभित्र हुन्थ्यो। द्योछेँ र पिठको चलन काठमाडौं सभ्यतामा आज पनि हराएको छैन।
टुँडिखेलको भद्रकाली, अर्थात् ‘लुमरी अजिमा’ तिनै पिठहरूमध्ये एक हो।
सामान्यतया एउटा पिठको एउटा मात्रै द्योछेँ हुन्छ। भद्रकालीको भने दुइटा छ। एउटा टेबहाल, अर्को ओटुमा।
यसले टुँडिखेलसँग यी दुई टोलको सांस्कृतिक सम्बन्ध झल्काउँछ, जसलाई एउटा लिच्छविकालीन अभिलेखले अझ प्रस्ट पार्छ।
लगनटोलको विष्णु मन्दिरमा धेरै समयअघि एउटा शिलापत्र थियो। माथिल्लो भागमा साँढे अंकित उक्त शिलापत्र अहिले आफ्नो ठाउँमा छैन।
इतिहासकार धनवज्र बज्राचार्यले उक्त शिलापत्रको अनुवाद र व्याख्या गरेका छन्। यो विक्रम सम्बत् ७५२ को हो। त्यति बेला लिच्छवि राजा शिवदेव द्वितीयको शासन थियो। उनी राजा नरेन्द्रदेवका छोरा हुन्।
आजभन्दा झन्डै चौध सय वर्ष पुरानो उक्त शिलापत्रले टुँडिखेलको लिच्छविकालीन कथा भन्छ। र, यसको सांस्कृतिक महत्व खुलाउँछ।
अंशुवर्माको पालादेखि नै हामीकहाँ शैवधर्मले ‘राजधर्म’ को स्थान लिएको थियो। त्यस बेला यहाँ शैवधर्मका विभिन्न मठ थिए। तीमध्ये ‘वशपाशुपत’ एक थियो। वशपाशुपत सम्प्रदायबारे विस्तृत थाहा हुन सकेको छैन। तर, यो सम्प्रदायको प्रभाव फैलिएको थियो भन्ने अन्य लिच्छविकालीन शिलालेखहरूबाट पनि देखिन्छ।
राजा शिवदेव द्वितीयले यही ‘वशपाशुपत’ सम्प्रदायका आचार्यहरूलाई विशेष सुविधासहित ठूलो जग्गा बिर्ता दिएका थिए, जुन अहिले काठमाडौं ‘कोर–सिटी’ मा पर्छ।
लगनटोलको शिलापत्रमा हामी त्यही बिर्ता जग्गाको चार किल्ला र अन्य विवरणहरू पाउँछौं।
धनवज्रले आफ्नो ‘लिच्छविकालीन अभिलेख’ किताबमा उक्त जग्गाको चार किल्ला यसरी खुलाएका छन् — पूर्वतिर मूल सडक, दक्षिणपूर्वतिर शिवी धारो, त्यतैतिर लाग्ने सानो बाटो, दक्षिणतिर तेङ्खु, पश्चिमतिर पनि तेङ्खु, उत्तरतिर चिसिमण्डा कुलो, उत्तरपूर्वतिर सहश्रमण्डल भूमि, त्यताबाट त्यही मूल सडक।
यी चार किल्लाका आधारमा शिवदेव द्वितीयले बिर्ता दिएको जग्गा कुन होला त? अनि यसबाट टुँडिखेलको कथा कसरी खुल्छ?
सम्पदाविद् सुदर्शनराज तिवारीले गत साता मार्टिन चौतारीमा आयोजित ‘अकुपाई टुँडिखेलः वैचारिक मन्थन’ कार्यक्रममा उक्त शिलापत्रको वर्णन गरे। उनका अनुसार, त्यो बिर्ता जग्गा अहिलेको टेबहाल हो, जसलाई त्यति बेला ‘त्वेद्वयग्राम’ भनिन्थ्यो।
टेबहालबाट उत्तरपूर्वको भूमि, जसलाई शिलापत्रमा ‘सहश्रमण्डल’ भनिएको छ, त्यो नै अहिलेको टुँडिखेल हो।
यहाँ ‘सहश्रमण्डल’ भनेर संस्कृत शब्द प्रयोग गरिएको छ। लिच्छविहरूले काठमाडौं जितेपछि आफूसँगै संस्कृत भाषा पनि ल्याए। लिच्छवि कालमा धेरै संस्कृत नामहरू प्रयोग भएको हामी पाउँछौं।
सहश्रको अर्थ हुन्छ, हजार।
शेषनागलाई ‘सहश्र जिब्रो भएको नाग’ भनेर वर्णन गरिएको छ। त्यस्तै, हजार धामलाई सहश्रधाम, हजार बुद्धिलाई सहश्रबुद्धि र हजार गुणालाई सहश्रगुणा भनिन्छ।
टुँडिखेललाई ‘सहश्रमण्डल’ भनेर हजारवटा मण्डल अट्ने भूमिका रूपमा अर्थ्याउन खोजेको हुनसक्छ।
सहश्रको अर्थ अत्यधिक ठूलो पनि हो। यसले उक्त भूमिको क्षेत्रफल वा महत्व अन्य चउरभन्दा निकै ठूलो थियो भनेर हामी बुझ्न सक्छौं।
लिच्छविहरू परम्परागत वास्तुशास्त्रमा जोड दिन्थे। उनीहरूले बसालेको काठमाडौं, पाटन लगायतको सहरी ढाँचा वास्तुशास्त्रमा आधारित छ। ‘सहश्रमण्डल’ भनेर वास्तुका हिसाबले महत्वपूर्ण भूमि भन्न खोजेका हुन सक्छन्, तिवारी भन्छन्, ‘यसभित्र महांकाल, दुई माजु, भद्रकाली लगायत विभिन्न प्राचीन देवी–देवताको बास छ, यसले यो भूमिको वास्तु र धार्मिक महत्व झल्काउँछ।’
लगनको शिलापत्रमा ‘भोट्टबिष्टी’ भन्ने शब्द पनि परेको छ। बिर्ता दिइएको जग्गाबाट भोट, अर्थात् तिब्बतमा प्रत्येक वर्ष पाँच जना भरिया पठाउने भनिएको छ।
इतिहासकारहरूले यसको तीनवटा अर्थ लगाएका छन्।
एकथरीको भनाइमा, त्यति बेला नेपाल तिब्बतको आधीन थियो। बर्सेनि पाँच भरिया बराबर कर तिर्नुपर्थ्यो। शिवदेव द्वितीयले विद्रोह गरी नेपाललाई करको वन्धनबाट मुक्त पारेको उनीहरू बताउँछन्।
अर्काथरी इतिहासकार यो मतसँग सहमत छैनन्। उनीहरूका भनाइमा, तिब्बत आउजाउ गर्ने यात्रुहरूको सुविस्ता निम्ति सीमानाका दुर्गम स्थानमा खानपिन र बसोबासको प्रबन्ध मिलाउन आवश्यक सरसामग्रीसहित पाँच भरिया पठाउने व्यवस्था गरिएको हो।
तेस्रो तर्कअनुसार, सरकारी कामका लागि विदेश जानुपर्दा ‘विष्टि’ वा झाराका रूपमा भरिया उठाउने चलन थियो। ‘भोट्टविष्टि’ यही सन्दर्भमा प्रयोग भएको हुनसक्छ। यसले सरकारी कर्मचारीको तिब्बत आवतजावत सहज बनाउन पाँच जना भरिया सँगसँगै पठाउने व्यवस्था गरिएको थियो भन्ने बुझाउँछ।
यी तीनमध्ये जुनसुकै अर्थ सही भए पनि टेबहाल वा तत्कालीन ‘त्वेद्वयग्राम’ बाट प्रत्येक वर्ष तिब्बतमा पाँच जना भरिया पठाइन्थ्यो भन्ने खुल्छ।
टेबहाल (त्वेद्वयग्राम) र टुँडिखेल (सहश्रमण्डल) को सम्बन्ध कसरी बुझ्ने त?
प्राध्यापक तिवारी यो गुत्थी यसरी सुल्झाउँछन्ः
‘त्वेद्वयग्राम’ किराँतकालीन बसोबास स्थल हो। लिच्छवि शिलालेखहरूमा ‘ओटु’ भन्ने ठाउँ पनि उल्लेख छ, जुन भरियाहरूको बसोबास स्थल थियो।
भन्नुको मतलब, त्वेद्वयग्रामले तिब्बत पठाउने भरिया ओटुबाटै ल्याउने गरेको हुनसक्छ। यसले टेबहाल र ओटुबीच लिच्छवि कालदेखिकै पारस्परिक सहयोग आदानप्रदानको सम्बन्ध थियो भन्ने देखिन्छ।
माथि हामीले भद्रकालीका दुइटा द्योछेँ टेबहाल र ओटुमा छ भनेर भन्यौं। यसरी यी दुइटा टोलहरू आर्थिक र सांस्कृतिक दुवै हिसाबले आपसमा जोडिएका छन्। र, दुवैको सम्बन्ध टुँडिखेलसँग छ।
‘भद्रकाली टुँडिखेलको अभिन्न हिस्सा हो,’ तिवारी भन्छन्, ‘यसको द्योछेँ टेबहाल र ओटु दुवै ठाउँमा हुनुले यो भूमिसँग दुवैको प्राचीन सम्बन्ध देखिन्छ। किराँतकालीन देवीलाई हिन्दु र बौद्ध धर्मावलम्बीहरूले आपसमा भाग लगाउँदा दुई ठाउँमा द्योछेँ बन्न गएको हुनसक्छ।’
टुँडिखेलको सांस्कृतिक महत्व लिच्छवि हुँदै मल्लकालसम्म आइपुग्दा अझ बढ्यो। विभिन्न सांस्कृतिक र सामाजिक मान्यताहरू टुँडिखेलसँग जोडिन पुगे। समुदायपिच्छे फरक विश्वास, फरक कथा, फरक संस्कृति र फरक नाउँ छन्।
त्यस्तै एउटा संस्कृति सबलबहालसँग जोडिन्छ।
यहाँका बज्राचार्यहरू भद्रकालीको पूजा गर्छन्। उनीहरू महांकालको पनि पूजा गर्छन्। यी दुवै टुँडिखेलको पूर्व र पश्चिम मोहडामा छन्।
महांकालसँगै ‘दुई माजु’ भन्ने देउता छ। वैशाख संक्रान्तिमा यसको जात्रा हुन्छ। यो जात्रा महर्जन र मानन्धर समुदायले मनाउँछन्। महर्जन र मानन्धर संलग्न हुनुले यो प्राचीन जात्रा भन्ने बुझिन्छ।
दुई माजु जात्रा नयाँ वर्षको उत्सव हो। राजा रत्न मल्लले यो जात्रा चलाएको तिवारी बताउँछन्। यसको सम्बन्ध सबलबहालसँग जोडिन्छ। दुई माजुको एउटा खट सबलबहालबाट आउनुपर्छ। अर्को खट हनुमानढोका दरबारबाट आउँछ।
सबलबहालको खटलाई हनुमानढोकाबाट आएको खटले घुम्नुपर्छ, तिवारी भन्छन्, ‘राजाको खटले घुम्नु भनेको सबलबहालको खट परम्परा अझ पुरानो हो।’
हनुमानढोकाको एउटा शिलालेखमा ‘तुंख्यको विश्वजात्रा पूजा’ भनेर लेखिएको छ। नेवार भाषामा ‘ख्य’ भनेको ‘चउर’ हो। यहाँ ‘तुंख्य’ भनेको टुँडिखेल हो भने विश्वजात्रा पूजा भनेको दुई माजु जात्रा।
यही बेला भक्तपुरमा बिस्काः (बिस्केट) जात्रा मनाइन्छ। यसले काठमाडौंको निम्ति विश्वजात्राको महत्व बिस्काः जस्तै देखिन्छ। समयक्रममा यो जात्रा सानो स्तरमा मनाउन थालिएको छ।
टुँडिखेलको अर्को नाउँ ‘तुरंख्य’ हो। यो ‘त्रिरत्नख्य’ बाट अपभ्रंश भएको तिवारीको भनाइ छ।
‘त्रिरत्नख्य भन्नाले तीनवटा खट नचाउनुपर्ने चउर भनिएको हुनसक्छ,’ उनी भन्छन्।
यसमध्ये एउटा खट कंकेश्वरीको हो। कंकेश्वरीबाट खट ल्याउने चलनले टुँडिखेललाई प्राचीन कालसँग जोड्छ।
काठमाडौं मण्डलका चारै दिशामा आठ अजिमा छन्, जसले आठ कुनामा बसेर हाम्रो रक्षा गरिरहेका छन् भन्ने जनविश्वास छ। अजिमा भनेको नेवार भाषामा ‘हजुरआमा’ हो। यिनी काठमाडौंको नेवार समुदायले प्राचीन कालदेखि आराध्य मान्दै आएकी देवी हुन्। सामान्यतया अजिमाको निश्चित स्वरुप वा आकृति हुँदैन।
तिनैमध्ये पश्चिम दिशामा विष्णमुती किनार कंग अजिमा छिन्, जसलाई ‘कंकेश्वरी’ पनि भनिन्छ।
यी तीन खटलाई टुँडिखेलपछि असन लगेर नचाउने चलन छ। यसले असन र टुँडिखेलको सांस्कृतिक सम्बन्ध जोड्छ।
यति मात्र कहाँ हो र, टुँडिखेलमै रहेको ‘गुरुमापा’ को रूखले इटुम्बहालसँग पनि यसको साइनो गाँस्छ।
भद्रकाली मन्दिरनिर खरीको बोट छ। त्यो ‘गुरुमापा’ राक्षसको घर हो भन्ने स्थानीय विश्वास गर्छन्।
गुरुमापाका नाउँमा अनेक कथा–किम्बदन्ती हामी सुन्छौं। त्यसमध्ये सबभन्दा प्रचलित कथा यस्तो छः
गुरुमापा भनेका बाह्र सय वर्षअघिका तिब्बती नागरिक हुन्। उनी सानैदेखि बदमास थिए। उनलाई सुधार्न भनेर परिवारले भारतको नालन्दा विश्वविद्यालयमा पढ्न पठाएछ।
तिब्बतबाट भारत जाँदा काठमाडौंको बाटो प्रयोग गर्नुपर्थ्यो। बदमास गुरुमापा भारत नगई काठमाडौंमै रल्लिएर बसेछन्। त्यही बेला इटुम्बहालका केशचन्द्रसँग उनको भेट हुन्छ। दुवै घनिष्ठ हुन्छन्।
केशचन्द्र नामुद जुवाडे थिए। जुवा खेलेर सबै सम्पत्ति सिध्याएपछि मागेर खाने नौबत आएछ। उनी तान्त्रिक शक्ति भएका गुरुमापासँग मद्दत माग्छन्।
गुरुमापाको मन पग्लिन्छ। उनी आफ्नो तान्त्रिक शक्तिले केशचन्द्रको समृद्धि फर्काएर इटुम्बहालमा पुनर्स्थापना गराउँछन्। र, आफू पनि केशचन्द्रसँगै बस्न थाल्छन्। इटुम्बहालको केशचन्द्र महाविहार उनैको नाममा बनेको हो।
काठमाडौंका बासिन्दाभन्दा फरक नापनक्सा र कदकाठीका गुरुमापालाई स्थानीयहरू ‘राक्षस’ भन्छन्। उनी टोलका भुराभुरी टपक्क टिपेर आहारा बनाउँछन् भन्ने हल्ला फैलिन्छ। उनलाई इटुम्बहालबाट हटाउन दबाब बढ्छ। केशचन्द्र भने आफूलाई मद्दत गर्ने गुरुमापालाई कसैगरी हटाउन मान्दैनन्।
एकदिन गुरुमापा केशचन्द्रकै छोरालाई खाइदिन्छन्। त्यसपछि बल्ल केशचन्द्रको आँखा खुल्छ।
उनी रिसले मुर्मुरिन्छन्। छोराको मृत्युको बदलामा गुरुमापाकै हत्या गरूँ कि भन्ने उनलाई लाग्छ। तर, आफूमाथि गरेको उपकार सम्झेर उनी गुरुमापामाथि आघात पुर्याउन सक्दैनन्। बरू इटुम्बहालबाट निकालेर टुँडिखेलमा बस्न पठाइदिन्छन्। त्यहाँ खरीबोटमुनि बसोबासको चाँजो मिलाइदिन्छन्। वर्षको एकचोटि सिंगो राँगोको मासु र दस पाथी चामलको भात खुवाउन थाल्छन्।
रैथाने बूढापाका अझै पनि टुँडिखेललाई ‘राक्षसको चउर’ मान्छन्। र, ‘तिनिख्य’ भन्छन्।
त्यो रूखको फेदमा दुइटा इँटा जोडेर राखे गुरुमापा राक्षसले छुट्टयाइदिन्छ भन्ने जनविश्वास छ। अहिले पनि काठमाडौंमा गुरुमापाको नाम लिएर केटाकेटी तर्साइन्छ। भात खान आनाकानी गरे ‘गुरुमापा वल (आयो)’ भन्दै डर देखाइन्छ। गुरुमापा खुसी पार्न फागू पूर्णिमाको दिन राँगो र भात खुवाउने चलन छँदैछ। मासुभात इटुम्बहालको केशचन्द्र महाविहारबाट जान्छ।
बर्सेनि यसरी खुवाउँदा पनि गुरुमापा खुसी नभएपछि टुँडिखेलमा घोडा दौडाउन थालेको भनाइ छ, जसलाई हामी ‘घोडेजात्रा’ भन्छौं।
टुँडिखेलसँग टुँडिल देवीको किम्बदन्ती पनि जोडिएको छ।
कुनै समय यहाँ टुँडिल देवीको बासस्थान थियो रे। स्थानीयले ‘टुँडीख्य’ भन्न थाले। नाउँ अपभ्रंश हुँदै टुँडिखेल रहन गयो।
‘एउटा खुला चउरमा धेरै ठाउँको संस्कृति र परम्परा जोडिनु भनेको त्यसको ऐतिहासिक र सांस्कृतिक महत्व कति ठूलो छ भनेर देखिनु हो,’ तिवारी भन्छन्।
टुँडिखेलको अर्को सम्बन्ध बस्तीको सरसफाइ र पानी शुद्धीकरणसँग छ।
किराँतदेखि मल्लकालसम्म आउँदा काठमाडौं सहरमा एउटै चर्पी देखिन्न। ‘स्वर्ण युग’ भनिने मल्लकालमा समेत हाम्रा पुर्खाले चर्पीमा शौच गर्न जानेका थिएनन्। कलात्मक बुट्टा कुँदिएका आकर्षक घर बनाउँथे, चर्पी बनाउँथेनन्।
काठमाडौं सभ्यताको पहिलो शौचालय भक्तपुरका राजा भूपतिन्द्र मल्ल (सन् १६९६–१७२२) को दरबारमा फेला परेको छ। दरबारको तल्लो भागमा शौच गर्न छुट्टै कोठा बनाइएको पाइन्छ।
चर्पी नभएपछि त्यति बेलाका मान्छे शौच गर्न कहाँ जान्थे? शौचालय नहुँदा सहर फोहोर र दुर्गन्धित किन थिएन?
दिसा–पिसाब गर्न बस्तीबाहिर खुला ठाउँ छुट्टयाइएको हुन्थ्यो। त्यसलाई ‘खिखःमुगः’ भनिन्थ्यो। शौचको निम्ति हरेक टोलले आ–आफ्नो क्षेत्र तोकेका हुन्थे। महिला र पुरुषलाई अलग–अलग ठाउँ तोकिन्थ्यो।
हरेक बिहान शौच समय सकिएपछि दिसा सोहोर्ने मान्छे आउँथे। यस्तो काम गर्न छुट्टै समुदाय तोकिएको थियो। ती मान्छेले दिसा सोहोरेर खेतमा लैजान्थे। बाँकी फोहोर पानीले सफा गर्थे। तिवारीका अनुसार, संसारमा दिसालाई सोझै मल हाल्ने आधा दर्जनजति समुदाय थिए। तीमध्ये नेवार एक हो।
खुला शौचको चलन भए पनि सरसफाइमा ध्यान दिइन्थ्यो। काठमाडौं थुम्को छिर्नुअघि नर्कटको कान्लै कान्ला हुन्थ्यो। नर्कटको घारी शौचपछि बगेको पानी शुद्धीकरण निम्ति हो। नर्कट घारीबाट बगेपछि पानी शुद्ध भएर तल झर्थ्यो। एक लिच्छवि शिलालेखमा बानेश्वरको दक्षिणपूर्वी क्षेत्रमा ‘नटकट वाटिका’ (नर्कट बगैंचा) रहेको उल्लेख छ।
यस्तै नर्कटको घारी टुँडिखेलमा पनि रहेको तिवारी बताउँछन्। त्यही भएर कतिले यो चउरलाई ‘तिंख्य’ भन्छन्।
मल्लकालसम्म आइपुग्दा काठमाडौंको सहरी संरचना ठूलो भयो। मल्ल राजाहरूले खुला सार्वजनिक स्थलको अवधारणा ल्याए, जसमा दरबार स्क्वायर, चोक, बहाल र ननीहरू पर्छन्। बस्तीभन्दा बाहिरको चउरलाई हरितक्षेत्रमा विकास गरियो। टुँडिखेलको सांस्कृतिक सँगसँगै वातावरणीय महत्व बढ्न गयो। गुजमुज्ज सहरले सास फेर्ने ठाउँ पायो।
प्रताप मल्लले यही चउरको माथिल्लो शिरानमा रानीपोखरी स्थापना गराए। पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर बनाउन लगाए।
सत्रौं शताब्दीमा प्रताप मल्लले पाटनमाथि हमला गरेका थिए। पाटनमा सिद्धिनरसिंह मल्लको शासन थियो। त्यो लडाइँ टुँडिखेलकै दक्षिणी भागमा लडिएको तिवारी बताउँछन्, ‘एक छेउमा रानीपोखरी बनेको छ, अर्को छेउमा लडाइँ लडेको छ। राज्यको सौन्दर्य र सामरिक दुवै दृष्टिले टुँडिखेलको महत्व देखिन्छ।’
शाहकाल सुरू भएपछि टुँडिखेलमा सैन्यशक्ति प्रदर्शन बढ्ता हाबी हुन थाल्यो।
यसको सुरुआत भिमसेन थापाले गरे, सन् १८१२ मा। उनले लगन टोलमा दरबार बनाए। सेना सहर नजिक आयो। त्यसको केही वर्षपछि टुँडिखेल र लगन दरबार बीचमा धरहरा पनि निर्माण गराए।
त्यो बेला नेपाल विभिन्न लडाइँमा होमिएको थियो। इस्ट इन्डिया कम्पनीसँग ठाउँ–ठाउँमा लडाइँ भइरहेको थियो। सेना र जनताको मनोबल बढाउन तत्कालीन शासकहरू सैन्य शक्ति प्रदर्शन गर्थे। यसको निम्ति मध्यसहरको टुँडिखेल उपयुक्त मुकाम बन्यो।
टुँडिखेलको पूर्वी किनारमा हातहतियार राख्ने कोतघर बनेको त्यही बेला हो। न्युरोड गेटदेखि सुन्धारासम्म तन्किएको एकतले कोतघर स्थानीय बूढापाकाहरू अझै सम्झन्छन्।
जंगबहादुर राणा शक्तिमा आएपछि सेनाको अतिक्रमण झन् बढ्यो।
पहिले सैनिक परेड छाउनी मैदानमा हुन्थ्यो। बेलायतबाट फर्केका जंगबहादुरलाई मध्यसहरमा परेड गराएर शक्ति देखाउने हुटहुटी जाग्यो। उनले घोडेजात्राको दिन टुँडिखेलमा सेनाको तामझाम देखाउने चलन सुरू गराए।
जंगबहादुरले शाही घोषणा र दरबारका महत्वपूर्ण निर्णय टुँडिखेलबाट सार्वजनिक गर्ने थिति पनि बसाले। निर्णय सार्वजनिक गर्दा टुँडिखेलको खरीबोट चौतारी वरिपरि सेनाले पहरा दिन्थ्यो। राणा प्रधानमन्त्री त्यही खरीबोटमा उभिन्थे।
जंगबहादुरले यही चौतारीबाट सन् १८४८ मा तत्कालीन राजा राजेन्द्र शाहविरुद्ध सेना एकत्रित गरे। वीरशमशेरले सन् १८८५ मा आफूलाई श्री ३ घोषणा गरे। सन् १९२४ मा चन्द्रशमशेरबाट दासप्रथा उन्मूलनको शाही घोषणा जारी भयो। सन् १९४५ मा दोस्रो विश्वयुद्ध लडेर फर्केका नेपाली सिपाहीको सम्मान पनि यहीँ गरियो।
यसबीच दोस्रो राणा प्रधानमन्त्री रणोद्दीप सिंह कुँवरले सन् १८७६ मा टुँडिखेलको दक्षिणी भू–भाग सम्याए। पछि १८७७–१८८२ मा धीरशमशेरले रानीपोखरीदेखि भद्रकालीसम्मको भू–भाग पनि सम्याए।
टुँडिखेल सम्याउनुको उद्देश्य सेनाको शक्ति प्रदर्शनलाई सहज बनाउनु थियो। सैनिक परेड खेलाउन समथर मैदान चाहिन्थ्यो। उतिबेला चउर प्राकृतिक अवस्थामा थियो। राणाहरूले जनता परिचालन गरेर टुँडिखेल सम्याउन लगाएको इतिहास छ।
टुँडिखेलका चार कुनामा जंगबहादुर, रणोद्दिप सिंह, चन्द्रशमशेर, वीरशमशेर लगायत राणा प्रधानमन्त्रीहरूको घोडसवार सालिक शक्ति प्रदर्शनकै रूप हो।
तोप पड्काउने चलन पनि शक्ति प्रदर्शनसँग जोडिन्छ। देवशमशेरको पालादेखि टुँडिखेलमा तोप पड्काउन थालिएको हो। यसको उद्देश्य काठमाडौंका जनतालाई समय जनाउ दिनु थियो। यसले राणा शासनको त्रासदी झल्काउँथ्यो। घन्टाघर बनेपछि तोप पड्काइरहन जरुरी थिएन। तै सैन्य गर्जन रोकिएन।
सेनाले तोप घिसारेर अहिले रंगशाला भएको ठाउँमाथि ढिस्कोसम्म ल्याउँथ्यो। भद्रकालीनिर एउटा सिपाही बस्थ्यो, अर्को प्रदर्शनीमार्गनिर बस्थ्यो। दुवै सिपाहीले पालैपालो ह्याट फुकालेर इसारा गरेपछि तोप पड्काइन्थ्यो।
सन् १९०१ मा राजदरबार वसन्तपुरबाट नारायणहिटी सर्यो। १९०३ मा चन्द्रशमशेरले सिंहदरबार निर्माण गराए। त्यसपछि सिंहदरबार, बागदरबार, धरहरा, सेतो दरबार र नारायणहिटीलाई सर्लक्कै जोड्ने गरी टुँडिखेल वरिपरि सडक फराकिलो पारियो। राणाहरूले यो सडक ‘राजपथ’ का रूपमा प्रचलनमा ल्याएको तिवारीको भनाइ छ।
‘बेलायती राजाहरूले बग्गीमा बसेर अगाडि–पछाडि सेनाको लावालश्कर लगाउँदै सहर परिक्रमा गरेको राणाहरूले देखेका थिए। उनीहरूले त्यसैको सिको गरे,’ तिवारी भन्छन्, ‘सिंहदरबारबाट वसन्तपुर वा नारायणहिटी जानुपर्दा राजपथमा राणा प्रधानमन्त्रीको पूरा तामझाम हुन्थ्यो।’
त्यति बेला काठमाडौंमा जे–जस्ता नयाँ संरचना बने, ती सबै टुँडिखेल वरिपरि थिए। वीर अस्पताल, सैनिक अस्पताल, दरबार हाइस्कुल, त्रिचन्द्र कलेज हुँदै घन्टाघरसम्म टुँडिखेललाई नै केन्द्रमा राखेर बनाइएको थियो।
यहाँसम्म कि, १९९० सालको भुइँचालोपछि जुद्धशमशेरले व्यापार केन्द्रका रूपमा नयाँ सडक बनाउँदा त्यसको एउटा मुख टुँडिखेलतिरै फर्काए।
‘किराँतदेखि राणाकालसम्मको अवधि सर्सती हेर्दा कहिले पनि टुँडिखेलको महत्व घटेको पाइँदैन। कहिले पर्यावरण, कहिले संस्कृति, कहिले धर्म त कहिले राज्यको शक्तिकेन्द्रका रूपमा यसको उपस्थिति महत्वपूर्ण नै रह्यो,’ तिवारी भन्छन्, ‘प्राचीन कालमा समुदायले ओगटेको भूमि विस्तारै राज्यले हडप्दै गए पनि जनताको प्रवेश रोकिने गरी अतिक्रमण भएन।’
उनका अनुसार, पञ्चायती व्यवस्थाको सुरूआतपछि भने टुँडिखेलमाथि संस्थागत अतिक्रमण सुरू भयो, जसले इतिहास र संस्कृति मात्र मासेन, जनताको पहुँचसमेत निषेध गर्यो।
सबभन्दा पहिला त, सेनाको बलमा ‘कू’ गरेका राजा महेन्द्रले टुँडिखेलको खरीबोट भत्काएर एउटा इतिहास नै मेटाइदिए। खरीबोट भएको ठाउँमा सैनिक मञ्च स्थापना गराए। सेनाले त्यहाँ काँडेतार लगाएर जनतालाई छिर्न दिएन। त्यसपछि सहिद गेट निर्माण गरियो, जसले टुँडिखेललाई सर्लक्कै दुई भागमा टुक्र्याइदियो।
यता तोप पड्काउने ठाउँमा महेन्द्रकै पालामा सैनिक हेडक्वार्टर बन्यो। हेडक्वार्टर बनेपछि सहिदगेटको दक्षिण खण्डमा पनि तारबार लगाइयो। त्यहाँ जनता छिर्न पाउँदैनन्।
रानीपोखरी डिलनिर पहिले ‘बाटुले चौतारो’ थियो। प्रशासनिक र व्यापाारिक काम लिएर काठमाडौं आउनेहरू सहर छिर्नुअघि यहीँ बास बस्थे। रानी रत्नराज्यलक्ष्मी खुसी पार्न चौतारो मासेर उनकै नाउँमा रत्नपार्क बनाइयो। अहिले यहाँ पैसा तिरेर छिर्न पाइन्छ। लामो समय पर्खालबाहिरबाटै चित्त बुझाउनुपर्थ्यो।
चौतारी भत्काएपछि नजिकैका महादेव मूर्ति र राजा प्रताप मल्ल हात्तीमा चढेको शालिक रानीपोखरीभित्र सारियो।
रानीपोखरी किनारको क्षेत्र मिचेर अञ्चलाधीश कार्यालय बन्यो। २०४६ को जनआन्दोलन क्रममा अञ्चलाधीश कार्यालय आगलागी भएपछि ठाउँ खाली थियो। त्यसलाई खाली नै छाड्नुपर्छ भन्ने मागविपरीत प्रहरी कार्यालय बन्यो।
टुँडिखेलबारे लेखेका बेलायती चिकित्सक हेनरी एम्ब्रोस ओल्डफिल्डले यो चउर करिब पाँच किलोमिटर लामो र तीन सय मिटर चौडा फैलिएको भनेका छन्। स्वरुप नै मासिने गरी हुँदै आएको अतिक्रमण अझै रोकिएको छैन।
देशमा गणतन्त्र छ, तै टुँडिखेलको लगभग आधा हिस्सामा सैनिक शासन चल्छ। काठमाडौं महानगरपालिकाले अस्थायी बसपार्क र निर्माण सामग्री थुपार्ने नाउँमा ठूलो हिस्सा खाइदिएको छ। हुँदाहुँदा पञ्चायतदेखि राजतन्त्रसम्मको विरोध देखेको खुलामञ्च पनि नामअनुसार खुला छैन।
काठमाडौंको प्राचीन चउरलाई यी सबै अतिक्रमणमुक्त गरेर रानीपोखरीदेखि रंगशालासम्म फैलिएको विशाल पार्कमा परिणत गर्न दुई महिनादेखि काठमाडौंका सचेत नागरिकहरूले ‘अकुपाई टुँडिखेल’ अभियान चलाइरहेका छन्।
‘टुँडिखेल भनेको काठमाडौंको प्राचीन कालदेखिको खुला स्थल हो। नागरिकको निम्ति अपरिहार्य लोकतान्त्रिक स्पेस,’ तिवारी भन्छन्, ‘अतिक्रमणले यसको ऐतिहासिक, सांस्कृतिक, सामाजिक, राष्ट्रिय र वातावरणीय महत्व मेटिँदैछ।’