कोरोना भाइरसको महामारी सुरू भएपछि चीनको वुहानबाट उद्धार गरिएका १ सय ७५ जना नेपाली दुई साताको ‘क्वारेन्टाइन’ पूरा गरेर सोमबार घर फर्केका छन्। उनीहरूलाई यही फागुन ४ गते नेपाल वायुसेवा निगमको जहाजबाट स्वदेश फर्काएर भक्तपुरको खरिपाटीमा राखिएको थियो।
विदेशमा रोग फैलिँदा सरकारले आफ्नै खर्चमा नागरिक उद्धार गरेको सम्भवतः यो पहिलोपटक हो।
फर्काइएका व्यक्ति संक्रमित हुनसक्ने आशंकाले चौध दिन समाजबाट अलग राखिएको पनि पहिलोपटक नै हो भन्ने धेरैलाई लाग्न सक्छ। तर, यो सही होइन।
लामो समय विदेश बसेर फर्केकालाई दुई साता परिवार र समाजसँग घुलमिल हुन नदिने चलन काठमाडौंमा धेरै पुरानो हो। तिब्बतसँगको व्यापार उत्कर्षमा हुँदा यो बढी चल्तीमा थियो।
लिच्छवि कालदेखि नै काठमाडौंका नेवार व्यापार गर्न तिब्बतको ल्हासा जान्थे। मल्लकालसम्म आइपुग्दा यो क्रम चुलियो। खासगरी तुलाधर, शाक्य, बज्राचार्य, ताम्राकार, धाख्वा, श्रेष्ठ लगायत यसमा संलग्न थिए। उनीहरूको कारोबार तिब्बतदेखि भारतको कलकत्तासम्म फैलिएको थियो। उनीहरू ऊन, सुन, जडिबुटी, कपडाजस्ता सामानको भारी खच्चडमा लादेर काठमाडौंदेखि हिमालय सीमापार ओहोरदोहोर गर्थे।
तिब्बत व्यापारमा संलग्न नेवारहरूको ल्हासामा आफ्नै घर र कार्यालय हुन्थ्यो। कम्तिमा तीन वर्ष उतै बस्थे। कहिलेकाहीँ एक दशक र त्योभन्दा बढी लाग्थ्यो।
फर्केर आएका व्यापारीलाई सोझै परिवार र समाजसँग घुलमिल हुन अनुमति थिएन। उनीहरूले दुई साता भान्सा, शयनकक्ष, भण्डारजस्ता घरका मूल भाग छिर्न पाउँथेनन्। छिँढी वा पाहुना कोठामा बस्नुपर्थ्यो। भातभान्साको बन्दोबस्त आफैं गर्नुपर्थ्यो।
पुस्तौं तिब्बत व्यापारमा संलग्न कमलरत्न तुलाधर यसलाई ‘परम्परागत क्वारेन्टाइन’ भन्छन्। उनले नेवारहरूको तत्कालीन तिब्बत व्यापार वर्णन गर्दै ‘क्याराभान टू ल्हासा’ भन्ने किताब लेखेका छन्।
‘तिब्बतबाट फर्केकालाई दुई साता ‘परम्परागत क्वारेन्टाइन’ मा राखिन्थ्यो,’ तुलाधर आफ्नो किताबमा लेख्छन्, ‘उनीहरू पाहुना कोठामा सुत्थे। भान्सा र पूजा कोठा छिर्न निषेध थियो। दिनको एकचोटि मात्र खाना खान्थे। जूठो भाँडा आफैं माज्थे।’
उनी अगाडि लेख्छन्, ‘उनीहरूले शरीर शुद्धीकरण निम्ति दरबारका बडागुरुज्यूले तोकेको नियम पालना गर्नुपर्थ्यो। चौध दिन पूरा गरेपछि शुद्धीकरण समारोह हुन्थ्यो। त्यसपछि बल्ल आफन्त, छरछिमेक र साथीभाइ डाकेर भोज खुवाउँदै समाजमा घुलमिल हुन्थे।’
तुलाधरको वर्णन अहिलेको ‘क्वारेन्टाइन’ सँग मिल्दोजुल्दो छ।
मल्लकाल वा त्योभन्दा अगाडिदेखि काठमाडौंमा प्रचलित ‘परम्परागत क्वारेन्टाइन’ बारे कुरा गर्न मैले मंगलबार तुलाधरलाई भेटेँ।
दरबारमार्गको उनको घरमा ‘क्याराभान टू ल्हासा’ को पृष्ठ २० पल्टाउँदै मैले सोधेँ, ‘क्वारेन्टाइन त काठमाडौंमा उहिल्यै रहेछ है?’
‘त्यति बेला क्वारेन्टाइन भनेर त कहाँ भनिन्थ्यो र,’ जवाफमा उनले भने, ‘तर अहिले क्वारेन्टाइनमा बस्ने भनेर जे–जे गरेको हामी देख्छौं, त्यो बेला तिब्बतबाट फर्केका व्यापारीले लगभग त्यस्तै गर्नुपर्थ्यो।’
त्यो बेलाको क्वारेन्टाइन स्वास्थ्यका हिसाबले मात्र होइन, धार्मिक हिसाबले पनि महत्वपूर्ण थियो।
लामो समय परदेश बसेर फरक रितिथिति, संस्कृति र फरक रहनसहनका मान्छेसँग उठबस गरेर फर्केकालाई सीधै कूलघरको कोठाचोटा छिराउनु हुन्न भन्ने मान्यता थियो। नित्यपूजा हुने मन्दिर भएकाले ‘शुद्धीकरण’ नगरी जतासुकै छुवाउँदा ‘धर्मभ्रष्ट’ हुने विश्वास गरिन्थ्यो।
‘धर्मप्रति आस्था र छोइछितो बलियो भएको जमानामा परदेशबाट फर्केकालाई कति धेरै शुद्धीकरण गर्नुपर्थ्यो होला!’ तुलाधरले भने।
स्वास्थ्यका हिसाबले भने तिब्बत जाँदा लेक लाग्ने, चिसोमा फैलिने भाइरल र फोक्सो सुन्निने रोगको बढ्ता जोखिम हुन्थ्यो। फोक्सो सुन्निने रोगलाई काठमाडौंका स्थानीय ‘पानीरोग’ भन्थे। एक महिना हिँडेर तिब्बत पुगेपछि त्यहाँ पनि कम्तिमा दुई साता जोगिएर बस्नुपर्थ्यो। त्यसबीच कुनै रोगले छोएन भने बल्ल सुरक्षित मानिने तुलाधर बताउँछन्।
‘तिनै रोग बोकेर आएका हुन सक्छन् भन्ने डरले पनि दुई साता कसैसँग उठबस गर्न नदिएको हुनसक्छ,’ उनले भने।
उनका अनुसार, दुई साताको ‘क्वारेन्टाइन’ पूरा गरेपछि हनुमानढोका दरबारमा हाजिर हुन जानुपर्थ्यो। काठमाडौं फर्केको मिति र यहाँ आएर दुई साता अलग्गै बसेको बेहोरा जानकारी गराएपछि बडागुरुज्यूका नाममा सरकारी पत्र जारी गरिन्थ्यो। शुद्धीकरण अवधि पूरा गरेको प्रमाणित गर्ने त्यो सरकारी कागजलाई ‘पतिया’ भनिन्थ्यो।
सन् १९२६ तिर काठमाडौं आएका एक तिब्बती लामाले पनि ‘क्वारेन्टाइन’ मा बसेर हनुमानढोकाबाट ‘पतिया’ लिनुपरेको उनले सुनाए।
‘पतिया’ प्राप्त गरेपछि बल्ल समाजमा घुलमिल हुन पाइन्थ्यो, तुलाधरले भने, ‘इष्टमित्र, साथीभाइ र छरछिमेकलाई डाकेर भोज खुवाइन्थ्यो।’
हुन त क्वारेन्टाइनमा बस्नैपर्ने र हनुमानढोकाबाट पत्र बुझ्नैपर्ने कानुन थिएन। मान्छे स्वैच्छिक रूपले क्वारेन्टाइनमा बस्थे र सरकारी कागज पनि बुझ्थे। यसमा दुइटा कारण हुनसक्छ।
एक त, त्यो समय राज्य र सरकारको ठूलो डर थियो। राज्यले यसो गर्नुपर्छ भनेपछि त्यसलाई काट्न हम्मेसी मान्छे डराउँथे।
अर्को, समाज र धर्मको पनि खुब डर थियो। थोरै जनसंख्या भएको सानो समाजमा कुन घरको को मान्छे ल्हासाबाट फर्कियो सजिलै थाहा हुन्थ्यो। कुनै व्यक्ति ल्हासाबाट फर्किएर पनि ‘क्वारेन्टाइन’ मा बसेन भने तुरुन्तै दरबारमा खबर पुग्न सक्थ्यो।
त्यस्तो व्यक्तिलाई दरबारले कारबाही गर्थ्यो कि गर्थेन आफ्नो ठाउँमा छ, त्योभन्दा ठूलो कुरा ऊ समाजबाटै बहिस्कृत हुने खतरा रहन्थ्यो। परदेशीहरूसँग बसेर आएको मान्छेले शुद्धीकरण नगरी भगवानलाई छुनु त्यति बेलाको समाजमा पाच्य थिएन।
तुलाधरले आफ्ना बुबा–हजुरबुबाबाट सुनेअनुसार, क्वारेन्टाइनको चलन २००७ सालसम्म रह्यो। त्यसपछि विस्तारै हट्दै गएको उनी सुनाउँछन्, ‘पहिले क्वारेन्टाइनमा एक्लै बस्नुपर्थ्यो। परिवारका सदस्यलाई पनि छुन हुँदैनथ्यो। पछि मान्छे उदार हुँदै गए। श्रीमती पनि सँगसँगै बस्न थालिन्। श्रीमान र श्रीमतीको नाममा एक–एक साता जोडेर दुई साता गणना गरिन थाल्यो।’
सबभन्दा रोचक के भने, त्यति बेला पनि चौध दिन परिवार र समाजबाट अलग बस्नुपर्थ्यो। अहिले कोरोना भाइरसको शंका भएका व्यक्तिलाई ‘क्वारेन्टाइन’ मा राख्ने चौध दिन नै हो। वुहानबाट ल्याइएका नेपाली विद्यार्थीलाई पन्ध्रौं दिनमा उपचार गरी सोह्रौं दिनमा घर फर्काइएको थियो।
सामान्यतया कुनै पनि भाइरस शरीरमा प्रवेश गरेको दुई साताभित्र लक्षण देखिने हुँदा त्यो अवधिसम्म क्वारेन्टाइनमा बस्नुपर्ने सरुवा रोग विशेषज्ञहरू बताउँछन्। यसको मतलब, आधुनिक चिकित्सा विज्ञानको यो विधि के हामीकहाँ परम्परागत रूपले नै पालना हुँदै आएको थियो?
के काठमाडौंको परम्परागत उपचार प्रणाली र त्यसमा संलग्न वैद्यहरूलाई चौधदिने क्वारेन्टाइनको ज्ञान थियो?
मैले यही प्रश्न तुलाधरलाई सोधेँ।
उनको भनाइमा, रोगव्याधीको संक्रमण फैलिन नदिन शंकास्पद व्यक्ति वा परदेशबाट आएकालाई अलगथलग राख्नुपर्छ भन्ने ज्ञान परम्परागत रूपले नै चलिआएको हुनसक्छ। ‘चौध दिनभित्र रोगको लक्षण देखिएन भने त्यो व्यक्ति सुरक्षित छ भनेर हाम्रा वैद्यहरूले भन्थे,’ उनले भने।
क्वारेन्टाइन बस्ने क्रममा कसैलाई लक्षण देखिएर उपचार गराउनुपरेको घटना भने उनलाई सम्झना छैन।
तुलाधरका यी भनाइका आधारमा हामी दुइटा अनुमान गर्न सक्छौं।
पहिलो, जुन समय सहरलाई संक्रमणबाट जोगाउन क्वारेन्टाइनको विकास भइसकेको थियो, त्यो बेला क्वारेन्टाइनपछिको उपचार निम्ति अहिलेको ‘आइसोलेसन वार्ड’ जस्तो छुट्टै घर वा सत्तल पक्कै बनेको हुनुपर्छ। कहाँ थियो होला त त्यस्तो आइसोलेसन वार्ड?
दोस्रो, काठमाडौंमै घर भएका व्यापारी त परदेशबाट फर्कंदा अलग्गै कोठामा बस्नुपर्थ्यो भने, परदेशी पाहुना, व्यापारी वा अध्ययन निम्ति भारतका विश्वविद्यालय र तिब्बती गुम्बाहरूमा जाने विद्यार्थीलाई काठमाडौं सहर छिर्नुअघि पक्कै ‘क्वारेन्टाइन’ मा राखिन्थ्यो। काठमाडौंमा घर नभएका ती आगन्तुक ‘क्वारेन्टाइन’ निम्ति कहाँ बस्थे होलान्?
अहिले भक्तपुरको खरिपाटीमा बनाइएजस्तो ‘क्वारेन्टाइन घर’ कहाँ थियो होला त्यति बेला?
सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधर काठमाडौंका विभिन्न प्रवेश नाकामा क्वारेन्टाइन र त्यसपछिको उपचार निम्ति परम्परागत घर वा सत्तलहरू बनेको हुनसक्ने अनुमान गर्छन्। त्यस्तो घर वा सत्तलको अवशेष भने अहिले भेटिन्न।
‘क्वारेन्टाइनमा राख्नुपर्छ भन्ने ज्ञान थियो भने बिरामीलाई आइसोलेसन वार्डमा राखेर उपचार गर्नुपर्छ भन्ने पनि हामीले पक्कै जानेका थियौं,’ उनले भने, ‘यसमा गहन अध्ययन र खोजबीन हुनुपर्छ।’
काठमाडौंको प्राचीन स्वरुप र परम्परागत भारत-काठमाडौं-तिब्बत व्यापार मार्गको नक्सा हेर्ने हो भने उत्तरी र दक्षिणी प्रवेशद्वारमा त्यति बेलाको क्वारेन्टाइन र आइसोलेसन वार्ड हुनुपर्ने उनको अड्कल छ।
यसबारे विभिन्न व्यक्तिसँग कुराकानी गर्दा, असनको ‘यीता चपा’ नामक सामुदायिक भवनको सम्बन्ध तिब्बत व्यापारसँग जोडिएको पाइन्छ।
असन भनेको लिच्छवि कालमै विकास भएको काठमाडौंको प्राचीन बजारमध्ये एक हो। यो थानकोटबाट काठमाडौं हुँदै साँखुसम्म तन्किएको प्राचीन व्यापार मार्गमा पर्ने एक मुख्य विन्दु पनि हो। प्राचीन कालमा काठमाडौं मण्डलको सुरक्षा निम्ति स्थापित अजिमाहरूमध्ये एक ‘असंमरू अजिमा’ (अन्नपूर्ण) यहीँ छ।
मल्लकालमा यो ठाउँलाई व्यवस्थित ‘व्यापार केन्द्र’ का रूपमा विकास गरियो। असन, कोथुननीको जुन घरलाई हामी ‘घडीघर’ भन्छौं, त्यो मल्लकालीन ‘डिपार्टमेन्ट’ स्टोर हो। यो घरमा अहिले पनि एकै छतमुनि १३ वटा पसल छन्। तीन परिवार बसोबास गर्छन्। घरको एउटा कोठामा अशोक वृक्ष विहार छ, जहाँको अमिताभ बुद्ध मूर्ति पन्ध्रौं वा सोह्रौं शताब्दीमा बनेको पुरातत्व विभागले पुष्टि गरेको छ।
यही घडी घरको दाहिनेतिर, अन्नपूर्ण मन्दिरको ठ्याक्कै पछाडि मल्लकालीन शैली झल्किने ‘यीता चपा’ सामुदायिक भवन छ।
असनका स्थानीय तथा संस्कृति पर्यटनविद् ज्ञानेन्द्र तुलाधर यसलाई काठमाडौं–तिब्बत व्यापार उत्कर्षमा छँदाको धर्मशाला मान्छन्।
उनका अनुसार, तिब्बत व्यापार क्रममा जसरी काठमाडौंका नेवार ल्हासा जान्थे, तिब्बती व्यापारी पनि बेलामौका काठमाडौं आउँथे। तिब्बती लामा तथा धर्मगुरूहरू पनि यहाँका बौद्ध तीर्थस्थल दर्शन गर्न आइरहन्थे। भारतीय व्यापारी, विद्यार्थी लगायत आगन्तुकको वर्षैभरि ओहोरदोहोर चल्थ्यो।
तिनै आगन्तुकको बसोबास निम्ति करिब १२ सय वर्षअघि ‘यीता चपा’ निर्माण गरिएको अनुमान छ, ज्ञानेन्द्र तुलाधरले भने, ‘यसको निर्माण धर्मशालाका रूपमा भएको थियो।’
उनले तिब्बत व्यापारसँग जोडिएको असनको अर्को पक्ष पनि वर्णन गरे।
तिब्बत जाने व्यापारी जमलको बाटो सहरबाहिर निस्कन्थे। सहर छाड्नुअघि असंमरू अजिमा दर्शन गरेर सफल यात्राको निम्ति भाकल गर्थे।
फर्कने बेला जमलको ‘झंग थकू हिति’ मा नुहाइधुवाइ गरेर ‘चोख्खिएपछि’ मात्र सहर पस्ने चलन थियो। यो प्राचीन हितिको अहिले अवशेष पनि बाँकी छैन। धारा भएकै ठाउँमा व्यापारिक कम्प्लेक्स बनेको छ।
नेवार भाषामा ‘झंग थकू’ भनेको ‘चराको कल्की’ हो, ज्ञानेन्द्रले भने, ‘यसलाई तान्त्रिक धारा मानिन्थ्यो। अचेल शुभकार्य गर्दा सुनपानी छर्केजस्तै त्यति बेला झंग थकू हितिको पानीले चोख्याउने गरिन्थ्यो।’
उनले अगाडि भने, ‘तिब्बतबाट फर्केका व्यापारी मात्र होइन, तिब्बती लामा र अन्य विदेशीहरूले पनि काठमाडौं छिर्नुअघि यो धारामा नुहाउन अनिवार्य थियो। नुवाइधुवाइपछि काठमाडौंका नेवार आ–आफ्नो घर गएर केही समय परिवारबाट अलग्गै बस्थे। उनीहरूको भान्सा छुट्टै हुन्थ्यो। तिब्बती लामा र व्यापारीहरू भने कहाँ जाऊन्? उनीहरू ‘यीता चपा’ जस्तो सामुदायिक धर्मशालामा बस्थे। उनीहरूले पनि आफैं पकाएर खानुपर्थ्यो।’
ज्ञानेन्द्र तुलाधरको यो भनाइका आधारमा हामी ‘यीता चपा’ लाई दुइटै अर्थमा बुझ्न सक्छौं — यो तत्कालीन सामुदायिक धर्मशाला पनि हुनसक्छ, वा काठमाडौं आउने विदेशीहरूलाई समाजबाट अलग्गै राख्न बनाइएको ‘क्वारेन्टाइन घर’ पनि हुन सक्छ।
सहरको एउटा मुख्य प्रवेश द्वारमै यस्तो सामुदायिक भवन निर्माण गरिनुले यो ‘क्वारेन्टाइन घर’ नहोला भन्न सकिन्न।
वा, क्वारेन्टाइनमा बस्दा रोगको लक्षण देखिएकालाई वैद्यबाट उपचार गर्न बनाइएको ‘आइसोलेसन वार्ड’ पो हो कि!
अहिले भने यसको प्रयोग एकदमै फरक छ।
गुठी संस्थानको स्वामित्वमा रहेको यो भवनको तल्लो तलामा थुप्रै पसल छन्। माथिल्लो तलामा ‘अन्नपूर्ण ज्ञानमाला भजन खलः’ को बोर्ड देखिन्छ। यहाँ स्थानीयहरू भजन गाउन भेला हुन्छन्।
यति मात्र होइन, माथिल्लो तलामा अन्नपूर्ण मन्दिरको पुरानो र वास्तविक कलश राखिएको स्थानीय वीरेन्द्र तुलाधरले बताए। असन चोकको अन्नपूर्ण मन्दिरमा हामी जस्तो कलश देख्छौं, पुरानो कलश हुबहु छ। त्यसैको प्रतिरूप सर्वसाधारणको दर्शनका लागि बाहिर राखिएको उनको भनाइ छ।
‘पहिले यहाँको कलश पनि दिनदिनै पूजा गर्नुपर्थ्यो,’ वीरेन्द्रले भने, ‘अचेल सेतो मच्छिन्द्रनाथ जात्रा र दसैंको दिन मात्र पूजा गरिन्छ।’
भुइँचालोपछि जीर्ण भएर टेको लगाइएको ‘यीता चपा’ घर संरक्षणको पर्खाइमा छ। सामुदायिक धर्मशाला होस् वा क्वारेन्टाइन घर वा आइसोलेसन वार्ड– कुनै न कुनै रूपमा यसको पुरानो सम्बन्ध तिब्बत व्यापारसँग जोडिएको छ।
‘काठमाडौं–तिब्बत व्यापारको जीवित सम्झनाका रूपमा यसलाई जस्ताको तस्तै संरक्षण गरिनुपर्छ,’ आलोकले भने।