त्यस दिन काठमाडौंको आकाशमा घनघोर कालो बादल मडारिँदै थियो। डरले जीउमा कम्पन छुट्ने गरी झिलिकझिलिक बिजुली चम्किँदै थियो।
कालो बादल मुसलधारे झरी बनेर बर्सियो। हुन्डरीले सहरलाई छपक्कै छोप्यो।
हुन्डरीसँगै मूलबस्तीभन्दा अलिकति बाहिर, करिब–करिब सहरको उत्तरी प्रवेशद्वारमा पानीका मोटा–मोटा थोपासँगै आकाशबाट माछा खस्यो — सग्लो असला माछा।
यो खबर हुन्डरीको वेगसरी सहरभरि फैलियो। मान्छेहरू मौसमको परवाह नगरी आकाशबाट खसेको माछा हेर्न हाँपदाँप दौडे।
लश्कर कमिलाले अर्को लश्करसँग भेट्दा थुतुनो जोडेर साउती मारेजस्तो बाटोभरि मान्छेको कल्याङमल्याङ सुनियो। सबैको मुखमा उही ‘अद्भूत’ माछाको चर्चा झुन्डिएको थियो।
‘थाहा पायौ, आकाशबाट माछा खस्यो रे नि!’
‘हो नि, जिउँदो असला माछा’
‘हो र!’
‘नपत्याए आफैं हेर्नू नि’
‘तिमीले हेर्यौ?’
‘नहेरी भनुँला त’
‘ठ्याक्कै कहाँ देख्यौ भन त?’
‘उ त्यहीँ के’
यहाँ ‘उ त्यहीँ के’ भन्ने भावमा हातको पार लाउँदै इन्द्रचोक र जनबहालभन्दा अलि पर्तिर इसारा गर्नेले पक्कै नेवार भाषामा ‘अनः सं’ भनेको हुनुपर्छ।
जनजिब्रो बटारिँदै जाँदा ‘अनः सं’ पनि बटारिँदै गयो। आकाशबाट माछा खसेको ठाउँ कालान्तरमा ‘असन’ भनेर चिनियो।
यो किम्बदन्ती मात्र हो कि इतिहास नै, थाहा छैन। इतिहास भनुँ भने, यसलाई पुष्टि गर्ने तिथिमिति हामीसँग छैन। किम्बदन्ती मात्र भनुँ, त्यस दिन आकाशबाट खसेको असला माछाको प्रतिरूप अहिले पनि असनमा छँदैछ।
आज म तपाईंहरूलाई असनको ‘न्या ल्वँ’ को कथा सुनाउँदैछु।
नेवार भाषामा ‘न्या’ भनेको माछा, ‘ल्वँ’ भनेको ढुंगा — अर्थात्, यो ढुंगेमाछाको कथा हो।
काठमाडौंमा करिब दुई हजार वर्षदेखि चल्तीमा रहेका छवटा प्राचीन बाटो असनको मूलचोकमा आएर जोडिन्छन्। चोकको ठ्याक्कै बीचमा दुई–तीन फिट अग्लो पानी–ट्यांकीजस्तो संरचना तपाईं देख्नुहुन्छ।
त्यहाँभित्र के छ? कहिले नजिक गएर हेर्नुभएको छ? छैन भने अब असन जाँदा हेर्न नबिर्सनुस् है।
त्यो अग्लो संरचनाको माथिल्लो भाग गहिरो खाल्डो परेको छ। म जुन ढुंगेमाछाको कुरा गर्दैछु, त्यो त्यही गहिरोमा लुकेर बसेको छ। परैबाट देखिएला भन्ने नठान्नू है।
यसलाई परापूर्वकालमा आकाशबाट खसेको असला माछाको प्रतिरूप मानिन्छ।
दस वर्षअघिसम्म पनि यहाँ यस्तो अग्लो संरचना थिएन। ढुंगेमाछा लगभग जमिनको सतहमै थियो। जमिनबाट करिब एक बित्तामाथि पत्थरको कलात्मक फ्रेमका बीचमा बटारिएको जीउडालयुक्त माछालाई चारैतिर बारेर राखिएको थियो।
सडककै बीचमा बनेको ढुंगेमाछाले धेरै मान्छे झुक्किन्थे। हिँडडुल गर्नेहरू ठोक्किएर लड्थे। धेरैचोटि गाडीले ठक्कर पनि दिए। यसरी त माछा मासिन्छ भनेर स्थानीयले नै विधिवत् पूजाआजा गरी जमिनमुनि पुरिदिए। त्यसको सट्टा उस्तै देखिने माछाको नयाँ मूर्ति बनाए र दुई–तीन फिट अग्लो संरचनामाथि स्थापना गरे। हामीले अहिले असनमा देख्ने ‘न्या ल्वँ’ यही हो।
आकाशबाट खसेको माछालाई मत्स्यनारायणका रूपमा पूजा गरेपछि नै असन बजार समृद्ध भयो भन्ने स्थानीयको भनाइ छ।
अर्को भनाइअनुसार, जब सेतो मच्छिन्द्रनाथको रथ जमलबाट असन ल्याइन्छ, तब मच्छिन्द्रनाथको प्रतापले आकाश गड्गडाएर वर्षा सुरू हुन्छ। त्यही बर्खेझरीमा यो माछा पौडिन थाल्छ। सिद्ध व्यक्तिले मात्र पानीमा पौडिरहेको माछा देख्न सक्छन् भन्ने स्थानीय विश्वास गर्छन्।
असनको ‘न्या ल्वँ’ लाई रोगव्याधीबाट मुक्त हुन पूजा गर्ने चलन पनि छ। यहाँ पूजा गरे पायल्स, दादुरा, लुतोजस्ता रोग निको हुन्छ भन्ने कथन अझै हराएको छैन।
स्थानीय सन्दीप महर्जनका अनुसार, दिनको एकचोटि यो माछा हेर्दा खराब आत्मा वा प्रेतको प्रभावबाट छुटकारा पाइन्छ भन्ने विश्वास बलियो छ।
काठमाडौंका चोक, गल्ली, मन्दिर र चैत्य घुमेर लोककथा संकलन गर्ने २२ वर्षीय सन्दीप सामाजिक सञ्जालमा ‘फ्रयांकी फ्रेन्ज’ नाउँले सम्पदा र संस्कृतिबारे ब्लग लेख्छन्, तस्बिर सेयर गर्छन्। उनले असनको ‘न्या ल्वँ’ बारे मलाई दुइटा कथा सुनाए।
पहिलो कथाअनुसार, कुनै समय काठमाडौंको दरबारमा तन्त्र, मन्त्र र ज्योतिषविद्यामा निपुण राजपुरोहित थिए। उनको ख्याति टाढा–टाढासम्म फैलिएको थियो।
एकदिन उनकी पत्नीले हातमा छ–छ वटा औंला भएका बालकलाई जन्म दिन्छिन्। राजपुरोहित बच्चाको जन्मकुण्डली बनाउँछन्। ग्रहदशा हेर्दा त्यही बच्चा भविष्यमा आफ्नो मृत्युको कारण बन्ने उनले थाहा पाउँछन्।
राजपुरोहितको निदहराम हुन्छ। उनी आफ्नो मृत्युको कारणलाई दरबारबाट लखेट्ने षड्यन्त्रमा लाग्छन्। विभिन्न जालझेल गरेर, आफ्नै पत्नीविरुद्ध राजाको कान भरेर उनलाई चन्द्रागिरि डाँडो कटाउन सफल हुन्छन्।
राज्यबाट निकालिएकी उनकी पत्नी शिशु च्यापेर भारतको वनारस पुग्छिन्। अनेक हन्डर खाएर आफ्नो बच्चालाई वनारसमै हुर्काउँछिन्, बढाउँछिन्। त्यहीँ शिक्षादिक्षा दिलाउँछिन्।
सानैदेखि तीक्ष्ण उनको बच्चा पछि गएर ज्योतिष र तन्त्रविद्यामा विख्यात् हुन्छन्।
धेरै वर्षपछिको कुरा। काठमाडौंमा ती राजपुरोहित भविष्यवाणी गर्छन्– फलानो दिनमा न्हुपुखु (रानीपोखरी) मा आकाशबाट माछा खस्छ।
राजपुरोहितको भविष्यवाणी उनकै ज्योतिष छोराको कानसम्म पुग्छ। उनी भविष्यवाणी कत्तिको सही छ भनेर परख्न चिना हेर्छन्। ग्रह–नक्षत्रको दिशा हिसाब लगाउँछन्। र, भन्छन्– आकाशबाट माछा त खस्छ, तर न्हुपुखुमा होइन, असनमा।
ज्योतिषविद्यामा सर्वत्र सम्मानित राजपुरोहितको भविष्यवाणीलाई यसअघि कसैले यस्तरी चुनौती दिएको थिएन।
कुरा बाझिएपछि राजाले दुवै ज्योतिषलाई दरबार डाक्छन्।
दुवैले राजसभामा उपस्थित भएर राजा र दरबारका भाइभारदारसामु आ–आफ्नो दलील पेस गर्छन्। उनीहरू आ–आफ्नो भविष्यवाणीमा अडिग रहन्छन्।
दुवैको कुरा सुनेपछि राजाबाट ‘जसको भविष्यवाणी गलत साबित हुन्छ, उसलाई मृत्युदण्ड दिने’ घोषणा हुन्छ।
राजपुरोहित तयार हुन्छन्, उनका छोरा पनि।
तोकिएकै दिन काठमाडौंको आकाशमा घनघोर कालो बादल मडारिन्छ। झिलिकझिलिक बिजुली चम्किन्छ। सहरलाई हुन्डरीले छोप्छ। मुसलधारे पानी पर्छ।
त्यही क्षण पानीसँगै सहरको उत्तरी प्रवेशद्वार मानिने असनमा आकाशबाट सग्लो असला माछा खस्छ।
राजपुरोहितको भविष्यवाणी पहिलोपटक गलत साबित हुन्छ।
काठमाडौंका राजाले युवा पण्डितलाई फेरि दरबार डाकेर सोध्छन्, ‘तिमीले कसरी ठ्याक्कै हिसाब गर्यौ?’
जवाफमा उनी भन्छन्, ‘राजपुरोहितले ग्रह–नक्षत्रको दिशा त हेर्नुभयो, तर हावाको गति ठम्याउन सक्नुभएन। मैले माछा खस्ने बेला हावा कताबाट बहन्छ र कति वेगमा बहन्छ भन्ने पनि नापेको थिएँ।’
उनी अगाडि भन्छन्, ‘खासमा ग्रह–नक्षत्र हेर्दा माछा खस्नुपर्ने त न्हुपुखुमै थियो, तर हावाको वेगले हुत्याएर असन पुर्यायो। राजपुरोहितले हावाको गति आकलन गर्नुभएको भए उहाँले पनि माछा असनमै खस्छ भन्ने थाहा पाउनुहुन्थ्यो।’
युवा पण्डितको विद्वता देखेर राजा प्रसन्न हुन्छन्।
उनलाई दरबारको नयाँ राजपुरोहित नियुक्त गरिन्छ। असनमा जुन ठाउँ माछा खसेको थियो, त्यहाँ पत्थरको कलात्मक फ्रेममा दुरुस्तै आकृति बनाएर ‘न्या ल्वँ’ स्थापना गरिन्छ र पूजा गर्न थालिन्छ।
उता राजपुरोहितलाई गलत भविष्यवाणी गरेको सजायमा मृत्युदण्ड दिइन्छ।
मृत्युदण्डसँगै धेरै वर्षअघि उनले नै गरेको अर्को भविष्यवाणी पूरा हुन्छ। जतिसुकै षड्यन्त्र गरे पनि आखिरमा राजपुरोहितको मृत्यु उनकै छोराका कारण हुन्छ।
‘यो कथाको अर्को ‘भर्सन’ पनि छ,’ सन्दीपले दोस्रो कथा सुनाउन थाले।
दोस्रो कथामा, काठमाडौंका राजपुरोहितले विवाहेत्तर प्रेम सम्बन्धबाट बच्चा पाउँछन्। उनी आफ्नी प्रेमिका र बच्चा सकार्न मान्दैनन्।
ती महिला आफू र आफ्नो बच्चाको हक स्थापित गर्न राजाकहाँ पुग्छिन्। सारा वृत्तान्त कहन्छिन्।
राजा भन्छन्, ‘तिमीसँग राजपुरोहित नै बच्चाको बाबु हो भन्ने कुनै प्रमाण छ?’
ती महिला प्रमाण देखाउन सक्दिनन्।
राजपुरोहितको एकोहोरो कान–फुकाईले यसै पनि राजाको आँखा टालिएको हुन्छ। उनी राजपुरोहितको चरित्रहत्या गर्न खोजेको आरोपमा ती महिलालाई देशनिकालाको आदेश दिन्छन्।
‘देशनिकालापछि ती महिला बच्चा बोकेर वनारस जान्छिन्,’ सन्दीप भन्छन्, ‘त्यसपछिको घटना दुवै कथामा समान छ।’
स्थानीय बूढापाकासँगको कुराकानीबाट आफूले यी कथा थाहा पाएको उनले सुनाए।
उनले यो पनि भने, ‘आकाशबाट माछा खस्दा भुइँमा बजारिएर दुई टुक्रा भएको भनाइ छ। मूल भाग असनको चोकमै रह्यो, पुच्छर उछिट्टिएर अलि पर पुग्यो।’
असनबाट त्यौड जाने बाटोमा माछाको पुच्छरजस्तै देखिने आकृतिको ढुंगेमूर्ति छ, जसलाई स्थानीयहरू असनको ‘न्या ल्वँ’ कै अंश मान्छन्।
यो त भयो कथा र किम्बदन्ती। अब यसको विज्ञान र ऐतिहासिक पक्षको चर्चा गरौं।
के कथामा भनिएझैं आकाशबाट माछा खस्न सम्भव छ?
मैले केहीअघि यसबारे वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठसँग कुरा गरेको थिएँ। उनका अनुसार, ठूलो हुन्डरी वा चक्रवात (साइक्लोन) बेला माछा, सर्प लगायतका जलचर आकाशबाट खस्नु सामान्य हो।
श्रेष्ठले यसको वैज्ञानिक पक्ष विस्तार लगाए, ‘जब चक्रवात कुनै जलाशयमाथि पुग्छ, तब हावाको भुमरीले माछा, सर्पजस्ता जलचर उडाएर बादलमा पुर्याउँछ। त्यही बादलले वर्षा गराउँदा पानीसँगै माछा र सर्प पनि खस्न सक्छ।’
‘असनको माछा पनि त्यसरी नै खसेको हुनसक्छ,’ उनले भने।
यहाँ चक्रवातले नजिकैको रानीपोखरीबाट माछा उडाएर ल्याएको हुनसक्ने उनको आकलन छ।
यो वैज्ञानिक तर्क र प्रचलित किम्बदन्तीमा दुइटा कुरा समान छन्।
एक त, श्रेष्ठले भनेझैं किम्बदन्तीमा पनि तीव्र हुन्डरी र घनघोर वर्षाबीच माछा खसेको वर्णन छ।
अर्को, किम्बदन्तीमा राजपुरोहितले न्हुपुखु (रानीपोखरी) मा माछा खस्ने भविष्यवाणी गरेका छन्। यसको मतलब, चक्रवातले उडाएर ल्याएको माछा रानीपोखरीको हो भन्ने संकेत बुझिन्छ।
‘न्या ल्वँ’ को ऐतिहासिक पक्ष भने यकिनसाथ भन्न सकिन्न।
किम्बदन्तीमा रानीपोखरीको सन्दर्भ परेको आधारमा कतिले यसलाई मल्लकालीन संरचना मान्छन्। राजा प्रताप मल्लले आजभन्दा ३ सय ५० वर्षअघि रानीपोखरी (न्हुपुखु) निर्माण गराएको इतिहास छ। उनले छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन पोखरी खनाएको भनिन्छ।
तर, के यो मल्लकालभन्दा पुरानो हुन सक्दैन र? के यसको इतिहास लिच्छविकालसम्म जान सक्दैन?
जसरी क्षेत्रपाटीको इखापुखुलाई लिच्छविकालीन पोखरी मानिन्छ, त्यस्तै न्हुपुखु पनि लिच्छवि वा अझ त्योभन्दा अगाडिकै हुनुपर्छ। दुवै पोखरीको भौगोलिक अवस्थिति लगभग उस्तै छ। दुवै सहरको दुईतिरका सिरानमा छन्।
लिच्छविकाल वा त्योभन्दा अगाडि नै सहरमा पानी आपूर्ति गर्न यी दुई पोखरीलाई ‘रिजर्भोयर’ का रूपमा राखिएको हुनसक्छ। त्यति बेला सहरभित्र कुलो वा नहर खनिएको चर्चा हामी लिच्छविकालीन शिलालेखहरूमा पाउँछौं। काठमाडौंका विभिन्न टोलमा राखिएका पानीका ढुंगेघडालाई तत्कालीन नहरको सम्झनाका रूपमा लिइन्छ। ती नहर इखापुखु र न्हुपुखुबाटै खनिएको हुनुपर्छ।
पछि प्रताप मल्लले शोकाकूल रानीको मन बुझाउन ५१ तीर्थस्थलको जल हालेर परम्परागत न्हुपुखुलाई धार्मिक रूपले सिद्ध बनाएका हुन सक्छन्। यसको धार्मिक महत्व बढाउन पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर बनाउन लगाएका पनि हुन सक्छन्।
र, त्यति बेलैदेखि न्हुपुखुलाई रानीपोखरी भनिएको हुनसक्छ।
त्यसो हो भने राजपुरोहितले भविष्यवाणी गरेको जुन किम्बदन्तीको हामी कुरा गर्दैछौं, त्यो मल्लकालभन्दा धेरै अगाडिको हुन के बेर!
यसले असनको ‘न्या ल्वँ’ अर्थात् ढुंगेमाछाको इतिहासलाई मल्लकालभन्दा धेरै पछाडि धकेल्छ।
अब असन जाँदा काठमाडौंका प्राचीन बाटा जोडिने चोकको बीचमा दुई–तीन फिट अग्लो पानीट्यांकीजस्तो संरचनातिर ध्यान दिनू है। त्यहाँ तन्किएर आकाशबाट खसेको माछा पनि हेर्नू।
नजिकै जानू नि, परबाट देखिन्न त्यो माछा।