आज म तपाईंहरूलाई कालभैरवको कथा सुनाउँछु।
हनुमानढोका दरबारको मूल प्रांगणमा कालभैरवको विशाल मूर्ति धेरैले देख्नुभएको होला। काठमाडौं बाहिरका पाठकहरू, जसले हनुमानढोका घुम्नुभएको छैन, उहाँहरूले पनि कहीँ–कतै यसको तस्बिर त पक्कै देख्नुभएको छ।
कालो वर्ण, रौद्ररूप र नौ हात अग्लो यो मूर्ति झट्ट हेर्दा निकै डरलाग्दो देखिन्छ। त्यसमाथि यसको शारीरिक हाउभाउ नै भयंकर।
घुँडा–घुँडासम्म मुण्डमाला भिरेर, भुइँमा उत्तानो परेका बेताललाई बेफिक्रीसाथ कुल्चेका कालभैरव देख्दा कसको मन सिरिंग नहोला!
कान, नाडी र पाउमा पहिरिएको सर्पको आभूषण हेर्नुस् न, कम्ता भयंकर छ!
यिनको त हातै छवटा — कुनै हातले खड्ग, ढाल, त्रिशूलजस्ता अस्त्रशस्त्र उठाएका छन्, कुनैमा भर्खरै वध गरिएका तीनवटा मान्छेको टाउको झुन्ड्याएका छन्, त्यो पनि कपाल समातेर। बीचको एउटा हात विन्दुमुद्रामा दर्शनार्थीहरूतिर फर्किएको छ।
शिरको मुकुटमा धरि चारवटा खप्पर र एउटा नरमुण्डको गहना भिरेका छन्। यी सबैभन्दा उग्र र डरलाग्दा छन्, यिनका ठूल्ठूला आँखा र आगोको लप्का उठेझैं देखिने राता आँखीभुइँ, जहाँ हेरिरह्यो भने ज्वालामुखी दन्केझैं लाग्छ।
कालभैरवको यस्तो कालजन्य रौद्ररूप पछ्याउँदै जाँदा जसै यिनको मुखमा नजर पर्छ, तपाईं छक्क पर्नुहुन्छ– भैरव त माथिल्लो लहरका सेता दाँत टिलिक्क टल्काएर मुसुमुसु हाँसी पो रहेका छन्!
एकचोटि ध्यान दिएर हेर्नुस् त!
अब तपाईंहरूलाई लाग्ला, कमलो मुटु भएकाहरूलाई थरथर कमाउने भैरव आखिर हाँसे किन?
मलाई यसको कथा सुनाए, सन्दीप महर्जनले।
काठमाडौंका चोक, गल्ली, मन्दिर र चैत्यहरू घुमेर लोककथा संकलन गर्ने २२ वर्षीय सन्दीप सामाजिक सञ्जालहरूमा ‘फ्रयांकी फ्रेन्ज’ नाउँले सम्पदा र संस्कृतिबारे ब्लग लेख्छन्, तस्बिरहरू सेयर गर्छन्। उनले सुनाएको कालभैरव कथा यस्तो छः
धेरै, धेरै नै वर्षअघि काठमाडौंमा एक दम्पती थिए। उनीहरूबीच खुब मिल्ती थियो। छिमेकीहरू उनीहरूको मायाप्रेमको उदाहरण दिन्थे। विवाह भएको धेरै वर्ष बित्दा पनि उनीहरूको सन्तान भने थिएन।
समय बित्दै गयो।
पहिले श्रीमान खेतमा काम गर्न जाँदा श्रीमती खाजा पकाएर खुवाउन जान्थिन्। विस्तारै खाजा लैजान आलटाल गर्न थालिन्। कामको बहाना गरेर दिनभरि घरबाहिरै रहन्थिन्।
पहिले श्रीमानलाई नलिई जात्रापर्व कहीँ नजाने उनी अब दिनहुँ एक्लै बजार डुल्न निस्कन्थिन्। कहिले त श्रीमान घर फर्किसक्दा पनि उनको अत्तोपत्तो हुन्थेन।
श्रीमानले त खासै वास्ता गरेका थिएनन्, तर छरछिमेकले कुरा काटे। श्रीमानको कान भरे।
दिनरात छिमेकीको कुरा सुन्दा–सुन्दा उनलाई पनि आफ्नी पत्नीको परपुरुषसँग सम्बन्ध छ कि भन्ने शंका भयो।
मान्छेको मनमा एकचोटि शंकाको तिल पसेपछि त्यसलाई पहाड बन्न कत्ति बेर लाग्दैन!
पहिले त्यस्तरी मिलेर बसेका जोई–पोई अब सानो–सानो कुरामा बाझ्न थाले। हरेक दिन हाँसोले भरिने र चुराको छनछन छन्किने घरमा साँझ–बिहानै भाँडाबर्तन बज्न थाल्यो।
शंकाले मुटु भतभती पोलेपछि आखिरमा ती श्रीमान घरायसी उजुरी लिएर राजाकहाँ पुगे।
राजाले श्रीमान–श्रीमती दुवैलाई सभामा डाके।
‘के हो? तिम्रो पोई त तिमी बाहिर–बाहिर सम्बन्ध राख्दै हिँडेकी छौ भन्छ नि,’ राजाले श्रीमतीसँग सोधे।
‘यो झूट हो सरकार,’ श्रीमतीले आधा ज्यान झुकाएर दुई हात जोड्दै बिन्ती गरिन्।
‘झूट हो भने कालभैरवसामु उभिएर कसम खान सक्छौ?’ राजाले सोधे।
‘सक्छु सरकार,’ श्रीमतीले भनिन्, ‘तर, मलाई दुई दिनपछिको तारेख बक्सियोस्।’
उनले अगाडि भनिन्, ‘माइतमा मेरी आमा असाध्यै बिरामी हुनुहुन्छ। म दुई दिन उहाँको हेरविचार गरेर आउँछु। अनि सरकारले मर्जी भएजस्तै कसम खानेछु। त्यसपछि जे सजाय हुन्छ, मलाई मञ्जुर छ।’
राजाबाट उनको सर्त स्वीकार भयो। उनलाई तेस्रो दिन कालभैरवसामु उपस्थित हुने तारेख दिएर विदा गरियो।
उनी राजसभाबाट सोझै माइत गइन्।
धेरै दिनपछि माइत आएकी छोरीलाई देखेर आमा दंग परिन्। उनलाई मनपर्ने छोयला–बजी, बारा र गुलियो ठोँ (जाँड) बनाएर खुवाइन्।
राति अबेरसम्म आमा–छोरी खासखुस गरिरहे।
सुत्नुअघि लाडे पल्टिँदै छोरीले भनिन्, ‘आमा, बिहे भएको यतिका वर्ष भयो, मेरो सन्तान भएन। केही समयदेखि मेरो मनमा नानी खेलाउने चाहना पलाउँदैछ। मलाई आफू केटाकेटी भएको र तपाईंको काखमा लडिबुडी गरेको झझल्को आउँछ। तपाईंले काखमा सुताएर दूध खुवाएको पनि सपनामा देखिरहन्छु।’
आमा एकटकले उनको कुरा सुनिरहिन्।
‘आमा, म एकचोटि तपाईंको स्तनपान गरेर बाल्यकालको सम्झना ताजा पार्न चाहन्छु,’ उनले भनिन्।
छोरीको यस्तो इच्छा सुनेर आमा छक्क परिन्। उनलाई के भनुँ, कसो भनुँ भयो।
उनले छोरीको आँखामा हेरिन्। त्यहाँ कोख रित्तो हुँदाको पिर उर्लिरहेको उनलाई अनुभूति भयो। पूरा हुन नसकेको आमाको ममता छोरीको आँखाबाट छचल्किरहेको पनि उनले देखिन्।
बढेकी छोरीलाई स्तनपान गराउँदा लाजले रापिएको अनुहार साडीको सप्कोमा ढाकेर उनले छोरीको इच्छा पूरा गरिदिइन्।
तेस्रो दिन कालभैरवसामु काठमाडौंभरिका जनताको हुजूम जम्मा भयो। राजा र भाइभारदार जम्मै उपस्थित भए।
त्यसपछि ती दम्पतीलाई कालभैरवसामु उभ्याइयो।
न्यायाधीशले श्रीमतीलाई सोधे, ‘तिम्रो श्रीमानले तिमीमाथि परपुरुषसँग अनैतिक सम्बन्ध राखेको आरोप लगाएको छ। यो सही हो कि झूट?’
श्रीमती परीक्षा दिन अघि सरिन्।
दुई दिन आमासँगै बसेर, बालखाझैं स्तनपान गरेर फर्केकी उनले भनिन्, ‘सत्य धरोधर्म, कालभैरवको कसम खाएर भन्छु, मैले आमाको दूध खाएदेखि त्यस्तो अनैतिक काम केही गरेको छैन।’
त्यति बेला राजाको दरबारमा पेस हुने कुनै पनि मुद्दा छिनोफानो गर्न झगडियाहरूलाई यसरी नै कसम खुवाउन लगाइन्थ्यो। कसैले झूटो कसम खाए ठाउँको ठाउँ रगत छादेर ज्यान जान्छ भन्ने विश्वास थियो।
ती श्रीमतीले कसम खाएपछि भीड सामसुम्म भयो। एकछिन अघिसम्म कल्याङमल्याङ सुनिएको ठाउँमा चालचुल केही सुनिएन।
सबै जना एकोहोरो उनलाई हेरिरहे। राजा, भाइभारदार र न्यायाधीशका आँखा पनि उनमै अडिए। सबैले केही बेर प्रतीक्षा गरे।
उनलाई केही भएन।
कालभैरवको अगाडि कसम खाएर पनि केही नभएपछि उनको बयान सत्य साबित भयो। आफ्नी श्रीमतीलाई अनाहक शंका गरेर झूटो उजुरी दिएको भन्दै राजाले श्रीमानको सातो लिए। यही बहानामा घरकलह गरे र फेरि पनि उजुरी गर्न आए सजाय दिने चेतावनी सुनाए।
न्याय बैठक सम्पन्न भयो।
श्रीमान लुरुक्क परेर घोसेमुन्टो लाउँदै घर फर्के। श्रीमती पछि लागिन्। कालभैरवले नै ‘दूधको दूध, पानीको पानी’ छुट्टयाएपछि छरछिमेकको पनि मुख टालियो।
सबै घर फर्किसकेका थिए, यता कालभैरव भने ती महिलाको चलाखी देखेर मुसुमुसु हाँस्दै थिए।
उनलाई सत्य थाहा नभएको होइन। तर, महिलाको चतुर्याइँका अगाडि उनको केही जोड चलेन। उनी आफ्नो लाचारीमा खिन्न त थिए, तर त्योभन्दा बढ्ता उनलाई महिलाको बुद्धि देखेर हाँसो उठ्दै थियो। उनी माथिल्लो लहरका सबै दाँत देखिने गरी आफ्नो हाँसो थाम्न सकिरहेका थिएनन्।
‘त्यही बेलादेखि कालभैरवको यो मूर्ति हाँसेको हाँस्यै छ भन्ने भनाइ छ,’ सन्दीपले भने।
उनले यो पनि भने, ‘भैरवलाई भगवान शिवको रिसाएको अवतार मानिन्छ। भैरवका प्रायः मूर्तिमा उनको डरलाग्दो स्वरूप हामी देख्छौं। हनुमानढोकाको कालभैरव एकमात्र यस्तो मूर्ति हो, जसमा भैरव हाँसिरहेका छन्।’
यो घटनापछि कालभैरवको शक्ति हरायो भन्ने कथन पनि रहेको उनले सुनाए।
यो किम्बदन्ती काठमाडौंको पुरानो न्याय प्रणालीसँग जोडिन्छ।
सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधरका अनुसार, राणाकालसम्म कालभैरवलाई ‘न्यायको देउता’ मानिन्थ्यो। आरोपीहरूलाई दण्ड–सजाय दिनुअघि कालभैरवसामु उभ्याएर शपथ खुवाउने चलन थियो। आरोपीले ‘म झूटो बोल्दिनँ, मेरो कुरा झूट ठहरिए रगत छादेर मृत्यु हुनेछ’ भन्नुपर्थ्यो।
आजभन्दा ११० वर्षअघि सन् १९१० मा फोटोग्राफर दीर्घमान चित्रकारले खिचेको तलको तस्बिरमा कालभैरवको मूर्तिसामु अदालती कारबाही भइरहेको देखिन्छ। त्यति बेला अदालतका कर्मचारीले पनि यो मूर्तिसामु शपथ लिनुपर्थ्यो। त्यसैले, यसलाई ‘अदालत भैरव’ पनि भनिन्थ्यो।
कालभैरवसँग जोडिएको अर्को प्रचलन पनि छ।
काठमाडौंका गुभाजु, बज्राचार्य, शाक्य लगायत बौद्ध धर्मावलम्बीहरू कालभैरव प्रदक्षिणा गर्दा अरू मन्दिरमा जस्तो ठ्याक्कै पछाडिबाट घुम्दैनन्। बरू पछाडिको डबलीमाथि चढेर प्रदक्षिणा पूरा गर्छन्।
मैले यसको कारण सोध्दा, तुलाधरले अर्को कथा सुनाए।
‘जंगबहादुर राणाको पालामा यही कालभैरवको मूर्तिपछाडि बौद्ध धर्मका थुप्रै ग्रन्थ र थ्यासफूः (पुराना पाण्डुलिपि) जलाएर नष्ट गरिएको भनाइ छ,’ उनले भने, ‘त्यही कारणले बौद्ध धर्ममा आस्था राख्नेहरू कालभैरव मूर्ति पछाडिको भुइँ टेक्नु हुँदैन भन्ने विश्वास गर्छन्।’
यहाँ बौद्ध धर्मका ग्रन्थ र थ्यासफूः कसका पालामा नष्ट गरिए भन्ने चाहिँ विवादित छ।
काठमाडौं उपत्यकामा मुसलमान राजाको आक्रमण हुँदा बौद्ध चैत्य, गुम्बा र ग्रन्थहरू नष्ट गरिएका थिए। त्यति बेला थुप्रै चैत्यलाई आक्रमणबाट जोगाउन चुनाको ढिस्को बनाएर छोपिएको थियो। यसरी छोपिएका चैत्य उपत्यकामा थुप्रै भेटिन्छन्।
‘त्यही क्रममा महत्वपूर्ण बौद्ध ग्रन्थ र ऐतिहासिक थ्यासफूःहरू नष्ट हुनबाट जोगाउन कालभैरवको मूर्तिपछाडि गाडिएका थिए पनि भनिन्छ,’ तुलाधरले भने, ‘बूढापाकाहरू अहिले पनि त्यसमाथि टेक्दैनन्, पाप ठान्छन्।’
कालभैरवका कथा–किम्बदन्ती र त्यससँग जोडिएका प्रचलनपछि अब हामी इतिहासको कुरा गरौं।
यस्तो भव्य र भयानक मूर्ति कुन समयमा निर्माण भयो होला?
धेरैलाई मल्लकालीन दरबार परिसरमा स्थापना गरिएको मूर्ति मल्ल राजाहरूले नै निर्माण गरेका होलान् भन्ने लाग्छ। कतिपयले राजा प्रताप मल्लको पालामा बनेको पनि भन्छन्।
यो सही होइन। यो मूर्ति त्योभन्दा धेरै पुराना हो।
इतिहासकार गौतमवज्र बज्राचार्यले आफ्नो किताब ‘हनुमानढोका राजदरबार’ मा कालभैरव मूर्ति प्रताप मल्लको समयभन्दा धेरै अगाडि बनेको उल्लेख गरेका छन्।
प्रताप मल्लले हनुमानढोका दरबारको भण्डारखालमा पोखरी खनाएका थिए। पोखरीमा पानी भर्न बूढानिलकण्ठदेखि ढल बनाउँदै ल्याउँदा रानीवन भन्ने ठाउँनिर जमिनमुनि कालभैरवको यो मूर्ति फेला पर्यो।
यसबारे भाषावंशावलीमा गरिएको वर्णन उद्धृत गर्दै इतिहासकार बज्राचार्य लेख्छन्, ‘मूर्तिको भव्यरूप देखेर राजा प्रताप मल्लले त्यहाँबाट परिश्रमपूर्वक उठाएर आफ्नो दरबारअगाडि राख्न लगाए।’
उनी अगाडि लेख्छन्, ‘वंशावलीको वर्णनअनुसार यो मूर्ति प्रताप मल्लको समयभन्दा धेरै अगाडि बनेको देखिन्छ। यससँग सम्बन्ध राख्ने अरू कुनै (विवरण) नपाइएकाले यसको समय निश्चित गर्न सकिएको छैन।’
उत्तरतिर फर्केको यो मूर्ति एउटै शिलाबाट बनेको छ। माथिल्लो भागमा दाहिनेतिर केही फुटेकाले त्यहाँनिर मात्र प्रस्तर जोडेर बनाइएको छ। मूर्तिको दायाँबायाँ रहेका चन्द्र–सूर्य र माथिको सिंहको मुखाकृति पनि पछि भिन्नै थपिएका देखिन्छन्, बज्राचार्य लेख्छन्, ‘एउटै शिलामा बनेको यति ठूलो मूर्ति यहाँ विरलै छन्।’
काठमाडौंको कथा, परम्परा र इतिहाससँग जोडिएको यस्तो विरल मूर्ति एकचोटि फेरि राम्ररी हेर्न जाने कि!
यसपालि चाहिँ कालभैरवको रौद्ररूप सँगसँगै मुसुमुसु हाँसेको मुहार पनि याद गर्नुस् है। अनि सोच्नुस्, यी भैरव आफूलाई नै उल्लू बनाउनसक्ने मान्छेको चतुर्याइँ देखेर हाँसेका हुन्!
चलाख मान्छेका अगाडि दैवको पनि केही लाग्दैन भनेको यही हो।
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी
यी पनि हेर्नुहोस्: