उपचारको क्रममा बिरामीको मृत्यु भएको विषयलाई लिएर चिकित्सकमाथि हातपात गरी घाइते बनाउने समूहलाई कारबाहीको माग गर्दै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा कार्यरत चिकित्सक काम बन्द गरी आन्दोलनमा उत्रिएका छन्।
अस्पतालमा कार्यरत आवासीय र इन्टर्नसिपका करिब २ सय चिकित्सकले मंगलबार हातमा कालोपट्टी बाँधी अस्पतालमा धर्ना दिएका हुन्।
अस्पतालको अत्यन्त संवेदनशील कक्ष आइसियूमै पुगेर घाइते हुने गरी आफूहरूमाथि कुटपिट गर्दा पनि प्रहरी प्रशासनले कुटपिटमा संलग्नलाई पक्राउ नगरेकाले आफूहरू असुरक्षित भएको उनीहरूको भनाइ छ।
गत शुक्रबार अस्पताल भर्ना भएकी नवलपरासी बर्दघाटकी ५० वर्षीया यमकुमारी पुनको सोमबार बिहान मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीमाथि कुटपिट गरेका थिए।
कुटपिटबाट घाइते भएका डाक्टर अर्चन घिमिरेको अस्पतालको आइसियूमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
बिरामीका आफन्तको नाममा आएको २५-२६ जनाको समूहले एक्कासि आफूमाथि कुटपिट गर्दा पनि अस्पताल र प्रहरी प्रशासनले सुरक्षा दिन नसकेको चिकित्सकको गुनासो छ।
अस्पतालमा कार्यरत शल्य चिकित्सक जगरनाथ चौधरीले आफूहरू बिरामीको उपचारमा खटिए पनि बिरामीका आफन्तबाटै असुरक्षित भएकोले बाध्य भएर आन्दोलनमा उत्रिएको बताए।
‘चिकित्सकमाथि कुटपिट हुँदा पनि प्रहरी र अस्पताल प्रशासनले टुलुटुल हेरेर बस्यो, यस्तो अवस्थामा हामीले ज्यान जोखिममा राखेर बिरामीको उपचार गर्न सक्दैनौं,’ चौधरीले भने।
उनले दाँत दुखेको भन्दै अस्पतालमा आएकी यमकुमारीसँग सोधपुछ गर्दै जाँदा टाउको दुखेको र बान्तासमेत भएको बताएपछि सिटी स्क्यान गर्दा ब्रेन ह्यामरेज देखिएकोले आइसियूमा राखी उपचार गरेको बताए।
डा. चौधरीले यमकुमारीको ब्रेन ह्यामरेजको तत्काल अपरेसन गर्न सम्भव नभएको र अब्जरभेसनमा राखिरहेको अवस्थामा सोमबार बिहान पुनः ह्यामरेज दोहोरिएपछि मृत्यु भएको दाबी गरे।
यसअघि मृतकका देवर धर्मबहादुर पुनले भाउजूलाई अस्पतालमा भर्ना गरिएपछि खासै ठूलो समस्या नभएको र निको हुन्छ भन्दै राखेर सोमबार बिहान एक्कासि मृत्यु भएको आरोप लगाएका थिए।
अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरूङले भने भर्ना गरेपछि सबै अवस्थाबारे बिरामीका आफन्तलाई जानकारी दिएको दाबी गरे।
उनले आइसियूमा भर्ना गर्नेदेखि भेन्टिलेटरमा राख्नेसमेतको सबै जानकारी दिएर सहमति पत्रमा सहीछाप समेत गराएको बताए।
मृतकका आफन्तले सोमबार नै शव बुझेर मृतकको दाह संस्कार गरिसकेका छन्।
चिकित्सकहरूले कामकाज बन्द गरेपछि मंगलबार अस्पतालको सेवा प्रभावित बनेको छ।
चिकित्सकहरूले आफूमाथि कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही नगरेसम्म काम नगर्ने बताएका छन्।
नेपाल चिकित्सक संघको लुम्बिनी अञ्चल शाखाले विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि कुटपिट गर्ने समूहलाई पक्राउ गरी कारबाही गर्न ४८ घन्टे अल्टिमेटम दिएको छ।
संघका महासचिव डा. सन्तोष पोखरेलद्धारा जारी विज्ञप्तिमा ४८ घण्टा सम्म पनि कुटपिटमा संलग्नलाई कारबाही नगरिए संघर्षका थप कार्यक्रम गर्न बाध्य हुने बताइएको छ।