कुनै समय लागुऔषध मानिँदै आएको गाँजाले अन्तर्राष्ट्रिय स्तरमा वैधानिकता पाउने क्रम बढेको छ।
यो साता थप दुई घटनाले चर्चा पाए।
पहिलो, अमेरिकाको क्यालिफोर्नियामा वर्ष २०१८ को सुरुआतसँगै गाँजा प्रयोग र बिक्री खुला भयो।
क्यालिफोर्नियासहित अमेरिकाका आठ राज्यमा अब जुनसुकै प्रयोजन निम्ति गाँजा खुला छ। थप २३ राज्यले औषधिका रूपमा प्रयोग गर्न छुट दिन्छ।
दोस्रो, अस्ट्रेलियाले गाँजाबाट बनेका औषधि निर्यातको तयारी गर्यो।
निर्यात घोषणा गर्ने यो चौथो देश हो। यसअघि उरुग्वे, क्यानडा र नेदरल्यान्ड्सले यस्तो घोषणा गरेका छन्।
गाँजालाई लागुऔषध मान्दै कडाइ गरेका विकसित देश नै खुकुला हुँदै गएका बेला नेपालमा पनि बहस सुरु भएको छ।
पूर्वीय सभ्यतामा गाँजा आयुर्वेदिक ओखतीका रूपमा प्रयोग हुँदै आएको थियो। सन् १९७३ मा अमेरिकासहित पश्चिमी दबाबले नेपालमा प्रतिबन्धित भयो। उनीहरू खुला गर्ने होडमा लागेका बेला नेपाल आफ्नो आयुर्वेदिक ज्ञानमा पछि पर्न नहुने विज्ञको राय छ।
सिंहदरबार वैद्यखाना प्रमुख वंशदीप शर्मा खरेल यो विषय बहसमा ल्याएर गाँजाको आयुर्वेदिक महत्वबारे थप अध्ययनसहित अघि बढ्नुपर्ने बताउँछन्।
‘अरूले भनेकै आधारमा हामीले गाँजा प्रतिबन्ध गर्यौं। यो हाम्रा निम्ति कति महत्वपूर्ण छ सोचेनौं,’ खरेलले सेतोपाटीसँग भने, ‘अहिले उनीहरू नै गाँजा सही रहेछ भन्दैछन्।’
‘पूर्वीय सभ्यताका अनुयायीले कुनै न कुनै रूपमा गाँजा प्रयोग गर्दै आएका थिए। विभिन्न रोग लाग्दा पात पिनेर, घीउमा भुटेर वा महमा मिसाएर गाँजा खाने चलन थियो। शिवरात्रिमा प्रसादकै रूपमा खाने चलन छँदैछ,’ उनले भने।
परित्यक्त गाँजाले विश्वमा वैधानिकता पाउँदै जानुको मुख्य कारण औषधीय गुण नै हो।
यो गुण वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको छ। नेपालको आयुर्वेद परम्परामा भने नौलो होइन।
वैद्यखाना आफैंले गाँजाजन्य ओखती उत्पादन गर्थ्यो। निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्याजस्ता रोग निको पार्न गाँजाको औषधि प्रयोग हुँदै आएको वैद्यखानाको रेकर्डमा छ।
पुस्तौंदेखि आयुर्वेद उपचारमा संलग्न वैद्य पनि गाँजा प्रयोग गर्थे।
भक्तपुर, इनाचोमा दुई सय वर्ष पुरानो आयुर्वेदिक औषधालय चलाउँदै आएका नारायण गोपाल वैद्य ‘विदेशीको देखासिकी गाँजा बन्द गरिएको’ बताउँछन्।
‘झाडापखाला, अनिद्रा, शारीरिक पीडा, मानसिक तनाव लगायतमा गाँजाको ओखती राम्रो हुन्छ,’ उनले भने, ‘हामी गाँजा ल्याएर यहीँ औषधि बनाउँथ्यौं। प्रतिबन्धपछि बन्द भयो।’
कतिपय पुराना जडिबुटी लोप भएको र कतिपय दुर्लभ भएका बेला सहजै पाइने गाँजा प्रतिबन्ध घातक भएको उनको भनाइ छ।
‘हामीसँग गाँजाको औषधि बनाउने विधि छ,’ उनले भने, ‘पश्चिमा मुलुकले अपनाएको पनि हाम्रै ज्ञान त हो।’
वैद्यखाना प्रमुख खरेल सहमत छन्।
यहाँ प्रयोग हुँदै आएका गाँजाजन्य औषधिको ‘पेटेन्ट’ दर्ता र आयुर्वेदिक उपयोगिताबारे थप अनुसन्धान गर्नुपर्ने उनी बताउँछन्।
‘हामी आफ्नै ज्ञानमा पछि पर्ने अवस्था आइसक्यो, अब अरू देशले गाँजाका औषधि बनाएर बेच्छन्, हामी त्यही किन्छौं,’ उनले भने, ‘हाम्रो ज्ञान त्यत्तिकै खेर जान्छ।’
यस्तो स्थिति आउन नदिन गाँजाको आयुर्वेदिक प्रयोगबारे प्रस्ट नीति लिनुपर्ने उनको सुझाव छ। आयुर्वेदिक तालिम तथा अनुसन्धान केन्द्रबाट यसको उपयोगिता खोजबिन र संकलन हुनुपर्ने उनले बताए।
अन्तर्राष्ट्रिय स्तरमा भएका वैज्ञानिक अनुसन्धानले पनि गाँजाका धेरै फाइदा देखाएको छ।
‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ताको उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानको निष्कर्ष छ। शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ।
अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालयका वैज्ञानिकले गाँजालाई यौनसँग जोडेर शोध गरेका थिए। ‘जर्नल अफ सेक्सुअल मेडिसिन’ मा सार्वजनिक रिपोर्टमा उल्लेख थियो- ‘गाँजा सेवन गर्नेको यौन क्षमता नगर्नेको तुलनामा बढी हुन्छ।’
वैज्ञानिकले गाँजा र यौनशक्तिबीच सम्बन्ध प्रमाणित गरेको जम्मा तीन महिना भयो। जबकि, शीघ्रस्खलन रोक्न गाँजाको कणयुक्त ‘पूर्णचन्द्रोदय रस’ वैद्यखानाले धेरैअघि उत्पादन गर्थ्यो।
वैद्यखानाले नै उत्पादन गर्ने ‘भोग सुन्दरी’ भायग्राजस्तै यौनशक्ति बढाउने आयुर्वेद औषधि हो।
[caption id="attachment_121520" align="alignnone" width="1180"]
अमेरिकाको क्यालिफोर्नियामा जनवरी १ बाट गाँजा सेवन खुला भएपछि बिक्रीलाई राखिएको गाँजा। तस्बिरः एपी[/caption]
बिरामी लठ्याउन वा पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा सयौं वर्षदेखि गाँजा प्रयोग हुँदै आएको वैद्यखानाका खरेलले बताए। डिप्रेसनका बिरामीलाई गाँजाबाटै बनेको ‘मोदनानन्द मोदक’ दिइन्थ्यो।
पश्चिमा मुलुकको प्रयोगशैली फरक भएकैले दुरुपयोग बढेको उनको भनाइ छ। ‘उनीहरू चुरोटजस्तै सोझै प्रयोग गर्थे, अहिले पनि त्यही गर्न खोजेका छन्,’ उनले भने।
सोझै सेवन गर्दा हृदयगति बढ्ने, धुवाँले श्वासप्रश्वासमा असर गर्ने र शारीरिक गतिविधिमा प्रभाव पार्ने देखिएको छ। कसैकसैमा हृदयाघात पनि गराएको छ।
‘युरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजी’ को अध्ययनअनुसार सिधै गाँजा खानेलाई उच्च रक्तचापको जोखिम हुन्छ। गर्भावस्थामा खाँदा बच्चाको तौल कम हुने देखिएको छ।
थुप्रै शोधको निष्कर्षअनुसार गाँजाले त्यतिबेला मात्र सकारात्मक प्रभाव पार्छ, जब यसको प्रयोग नियन्त्रित र सही परिमाणमा हुन्छ।
‘पृथ्वीमा रहेका सम्पूर्ण चिज अमृत हुनसक्छ, विष पनि हुनसक्छ,’ आयुर्वेद क्याम्पस प्रमुख डिबी रोकाले भने, ‘कुनै पनि तत्व मात्रा, उद्देश्य र प्रयोग मिलाएर खायो भने औषधि हुन्छ भन्ने आयुर्वेदको मान्यता हो। गाँजा त्यस्तै हो।’
गाँजा सर्वस्वीकार्य हुने क्रम बढिरहेकाले यहाँ पनि प्रतिबन्ध पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ।
यसको आयुर्वेदिक प्रयोग नजानेर वा डराएर त्यत्तिकै राख्दा ज्ञान खेर जाने उनले बताए। उनका अनुसार गाँजा प्रशोधन तह र परिमाण खुलाएर कुन–कुन औषधिमा प्रयोग गर्न सकिन्छ भनी अध्ययन गर्न सकिन्छ।
‘पश्चिमाहरूले आज आएर बुझेको गाँजाको महत्व आयुर्वेदले शताब्दिऔंअघि नै थाहा पाएको थियो। अब हामीले यसलाई जगाउनु र जोगाउनुपर्छ। यस निम्ति सरकारले प्रस्ट नीति लिन जरूरी छ,’ उनले भने।
गाँजा श्रृंखलाः
यी त भए स्वास्थ्यका कुरा, अब आर्थिक पक्ष हेरौं।
अस्ट्रेलियाले उत्पादन बढाएर विश्वमै गाँजाको ठूलो निर्यातकर्ता हुने लक्ष्य राखेको छ। अस्ट्रेलियाको सेयर बजारमा सूचीकृत गाँजा उत्पादक उद्योगहरूको सेयर भाउ ह्वात्तै बढेको ‘सिड्नी मर्निङ हेराल्ड’ ले जनाएको छ।
अस्ट्रेलियाबाट निर्यात सुरु भएपछि गाँजा व्यवसायको सेयर ‘विश्वमै अग्रणी’ हुने हेराल्डको विश्लेषण छ। सन् २०२५ सम्म गाँजा बजार ५५ अर्ब डलर पुग्ने आकलन गरिएको छ। क्यानडाले पनि सन् २०२१ सम्म गाँजा कारोबार ६ अर्ब डलर पुर्याउने लक्ष्य राखेको छ।
गाँजा उत्पादन र निर्यातमा यति अघि बढेका यी देश नेपालको तुलनामा नयाँ हुन्।
तराईका बारा, पर्सा, सिरहा, धनुषा, महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदे बालीका रूपमा धेरैअघिदेखि गाँजा उत्पादन हुन्थ्यो।
दोस्रो विश्वयुद्धकै समयदेखि नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित मानिन्छ। ‘हिप्पी’ युगको सुरुआतसँगै काठमाडौंमा गाँजा खान ‘गोरा साधु’ हरूको घुइँचो लाग्न थालेको थियो। त्यतिबेला यहाँ ३० वटा जति गाँजा र चरेस केन्द्र खुलेका थिए।
बढ्दो व्यापारसँगै सरकारले सन् १९६१ मा लागुऔषध ऐन जारी गर्यो। लगत्तै अर्को वर्ष उत्पादन, बिक्री तथा आयात–निर्यातमा अनुमतिपत्र लिनुपर्ने नियम बनायो। यसले गाँजा उत्पादन र सेवन गैरकानुनी भयो। आयुर्वेदिक औषधि पनि बन्द भए।
मध्यपश्चिम पहाडको दैनिक व्यवहारमा पनि गाँजा उपयोगी छ। यसले दाउरा आपूर्ति गर्छ। यसको चोपबाट चरेस उत्पादन हुन्छ, जुन महँगो हुनाले ‘ब्ल्याक गोल्ड’ भनिन्छ। गाँजाको रेसाबाट कपडा र पातबाट उच्च कोटीको प्रांगारिक मल बनाइन्छ।
गाँजाका फाइदा र विश्वव्यापी वैधानिकता पाउने क्रम हेरेर नेपालले नीतिगत परिमार्जन र अनुसन्धान तीव्र पार्नुपर्ने खरेल बताउँछन्।
‘अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतले गाँजा खुला गर्न अपनाएका नीति र कदमबाट सिक्दै अघि बढ्ने मौका हामीसँग छ,’ उनले भने।
अमेरिकाको क्यालिफोर्नियामा गाँजा खुला भएपछि देखिएका दृश्य:[caption id="attachment_121532" align="alignnone" width="825"]
तस्बिरः ब्लुमबर्ग/गेट्टी इमेजेज[/caption]
[caption id="attachment_121529" align="alignnone" width="1024"]
तस्बिरः एपी[/caption]
[caption id="attachment_121528" align="alignnone" width="1024"]
तस्बिरः एपी[/caption]
[caption id="attachment_121527" align="alignnone" width="920"]
तस्बिरः एपी[/caption]
[caption id="attachment_121525" align="alignnone" width="1024"]
तस्बिरः एपी[/caption]
[caption id="attachment_121519" align="alignnone" width="1024"]
तस्बिरः एपी[/caption]