हामी धेरैले सानैदेखि चियासँग बिस्कुट, पाउरोटी वा कुकी खाँदै आएका छौं। अझै पनि धेरैको यो बानी कायम होला!
अचेल त्यही चिया र कुकी खाने नयाँ तरिका आएको छ। के तपाईंहरूलाई यसबारे थाहा छ?
यो नयाँ तरिकामा हामी कुकीलाई चियामा डुबाएर खाँदैनौं। चिया सुरूप्प पार्दै कुकी कुटुक्क पनि टोक्दैनौं। बरू यसमा त चियालाई कुकीभित्रै राखिएको हुन्छ।
हो, तपाईंहरूले ठिक पढ्नुभयो। चिया र कुकीको यो 'कम्बो' मा कुकीकै कप बनाइएको हुन्छ र त्यही कपमा चिया राखेर पिउने गरिन्छ। अनि, चियाको चुस्की सँगसँगै चियामा भिजेको कुकी पनि मिठो मान्दै कुटुकुटु टोक्न सक्नुहुन्छ।
गज्जब छैन त यो तरिका!
यो कुरा पढिरहँदा तपाईंहरूलाई लाग्यो होला — कुकी कप कसरी बन्छ?
तपाईंहरूलाई यो पनि लाग्यो होला — चियाको तातोले कप पग्लिँदैन?
यो स्टोरीमा म तपाईंहरूलाई यसैबारे बताउनेछु।
क्याफेका सञ्चालक सन्दीप सिम्खडा र नेकोन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
यो 'कुकी कप' कथामा सन्दीप सिम्खडा र नेकोनको मित्रता पनि जोडिएको छ।
२९ वर्षीय यी दुई जना पाँच कक्षादेखिका साथी हुन्। उनीहरूको भेट एञ्जल लर्ड स्कुलमा भएको थियो। पहिलो भेटबाटै उनीहरू घनिष्ठ भए। सँगै पढ्दै, सँगै खेल्दै जाँदा उनीहरूको दोस्ती झन् झन् गहिरो भयो। बीचमा केही वर्ष छुट्टिए पनि त्यो दुरीले उनीहरूको दोस्ती कम गरेन।
दुरीको कारण चाहिँ उनीहरूको पढाइ र करिअर थियो। नेकोन प्लस–टू सकेर स्नातक पढ्न अमेरिका गए। उनले त्यहाँ पाँच वर्ष बिबिए पढे। त्यही बेला सन्दीप पनि कामको सिलसिलामा साउदी अरब गएका थिए। उनले त्यहाँ दुई वर्षभन्दा बढी क्याफेमा काम गरे।
अलग अलग देशमा रहँदा पनि उनीहरू भावनात्मक रूपले एकअर्काबाट टाढिएका थिएनन्। सामाजिक सञ्जालले उनीहरूलाई नित्य जोडेकै थियो।
उनीहरू दुवै लगभग एकै समय नेपाल फर्के। जसै नेपाल फर्के, पुरानो मित्रताले फेरि उफान मच्चाउन थाल्यो। उनीहरूको भेटघाट फेरि बाक्लियो।
त्यही भेटघाट क्रममा उनीहरूले सल्लाह गरे — अब एकअर्कासँग यति नजिक छौं। पाँच कक्षादेखिको हाम्रो सम्बन्धमा अहिलेसम्म कुनै तनाव वा तिक्तता आएको छैन। हामी दुई जना मिलेर कुनै व्यवसाय किन सुरू नगर्ने?
दुवैलाई यो आइडिया सही लाग्यो।
हुन त असल साथी असल साझेदार हुन्छन् भन्ने जरूरी छैन। तर असल साथी जत्तिको असल साझेदार अरू कोही हुन सक्दैन; यदि दुवैको रूचि, मान्यता, जीवन बाँच्ने तौरतरिका र उद्देश्य समान छन् भने!
यस अर्थमा, सन्दीप र नेकोनमा असल साथी मात्र होइन, असल साझेदारमा हुनुपर्ने यी तमाम गुण थिए।
सल्लाह गरेको केही समयमै उनीहरूले मिलेर रेस्टुरेन्ट खोल्ने निधो गरे। भक्तपुरको लोकन्थलीमा खोलेको 'मीठो–मसिनो रेस्टुरेन्ट' उनीहरूको पहिलो संयुक्त व्यवसाय हो।


उनीहरूले त्यो रेस्टुरेन्ट करिब डेढ वर्ष चलाए। त्यसको आम्दानीले कर्मचारीहरूको खर्च पुर्याउन पनि धौधौ भएपछि उनीहरूले बन्द गर्ने निर्णय लिए।
त्यसपछि उनीहरूले कोटेश्वरमा हिमालय कलेजको छेउमै एउटा क्याफे खोले। यो आजभन्दा करिब वर्षअघिको कुरा हो।
नेकोनको घरकै भुइँतलामा खोलिएको यो क्याफेको नाम पहिले 'जेम्सको क्याफिन' थियो। उनीहरूले चियाभन्दा कफीलाई प्राथमिकता दिने उद्देश्यले यो नाम छनौट गरेका थिए।
केही समयपछि उनीहरूले चिया र कफी दुवैलाई बराबर प्राथमिकता दिने निधो गरे। त्यसपछि क्याफेको नाम पनि फेरे, र राखे — ल्याटी लभर्स।
'लाते भनेको कफीको एउटा प्रकार हो। त्यही लातेको एउटा अक्षर र टी (चिया) को अक्षर जोडेर हामीले ल्याटी लभर्स नाम जुराएका हौं,' आफ्नो क्याफेको नामको अर्थ बुझाउँदै नेकोनले भने।
कलेज छेउमा भएकाले यहाँ विद्यार्थीहरूको नियमित आउजाउ हुन्छ। कलेजकै विद्यार्थीलाई लक्ष्य गरेर उनीहरू बिहान ६ बजेदेखि क्याफे सञ्चालन गर्छन्। दिउँसो र साँझ चाहिँ बढीजसो वरपरका स्थानीय व्यक्तिहरू आउँछन्। क्याफे राति ९ बजेसम्म खुल्छ।
एउटा रेस्टुरेन्टको असफलतापछि खोलेको यो क्याफेको व्यवसाय जमेकै थियो। ग्राहक संख्या र कारोबारबाट उनीहरू खुसी नै थिए। तर उनीहरूको मनमा सन्तोष थिएन। उनीहरू सामान्य ढंगले चिया र कफी मात्र बेचेर बस्न चाहँदैनथे। केही नयाँ गर्ने हुटहुटीले दुवैलाई व्याकुल बनाउँथ्यो।
त्यही हुटहुटीले जन्मायो — खान मिल्ने कुकी कप।


सन्दीप यसको श्रेय आफ्नो साथी तथा साझेदार नेकोनलाई दिन्छन्।
'नेकोनका दाइले वाफलवाला कपका बारेमा नेकोनसँग कुरा गर्नुभएको थियो। तर कुरा भएको केही समयपछि नै वाफलवाला कपको प्रयोग पोखरामा सुरू भयो,' उनले भने, 'त्यसपछि हामीले एउटै आइडियामा के काम गर्नु भनेर त्योभन्दा अलि फरक ढंगको कप बनाउन सकिन्छ कि भनेर सोच्न थाल्यौं। त्यही क्रममा कुकी कपको आइडिया आयो।'
आइडिया मन परेपछि उनीहरू कुकी कप बनाउने प्रयासमा लागे। त्यसका लागि इन्टरनेटमा उपलब्ध अनेक सामग्री अध्ययन गरे। आफैले कप बनाउँदा कहिले चिया चुहिने, कहिले कप भाँच्चिने लगायत धेरै समस्या सहनुपरेको सन्दीप बताउँछन्।
तीन महिनाको अथक प्रयासपछि सबै समस्या पार गरेर कुकी कप तयार भयो। अहिले उनीहरूको क्याफेमा त्यही कप प्रयोग भइरहेको छ। यो कप प्रशस्त बटर, चकलेट जाम, पिठो र चकलेटबाट बनाइन्छ। त्यसबाहेक थप दुइटा सामग्री छन्, जसबारे उनीहरू खुलाउन चाहँदैनन्।
'त्यो हाम्रो ट्रेड सिक्रेट (व्यावसायिक गोपनीयता) हो,' सन्दीपले भने, 'यसले कुकी कपको चिया स्थिर राख्न मद्दत गर्छ। चियाको तातोले कप चर्किन वा गल्न दिँदैन र कुकीको स्वाद पनि बढाउँछ।'
यसरी जतिसुकै तातो चिया मज्जाले धान्ने र चियाकै स्वाद बढाउने गुणस्तरको कुकी कप प्रयोग गर्न थालेपछि क्याफेमा आउने ग्राहक संख्या ह्वात्तै बढ्यो। ती ग्राहकलाई चियाको चुस्कीसँगै कुटुकुटु कुकी टोकिरहेको देख्दा सन्दीप र नेकोन खुसी मान्छन्।
त्योभन्दा खुसी त त्यति बेला मान्छन्, जब आफ्नो लाख कोसिसबाट बनेको कुकी कप क्याफेकै पहिचान बनेको देख्छन्।


सन्दीपका अनुसार कुकी कपको प्रयोगपछि क्याफेको कारोबार लगभग दोब्बर भएको छ। पहिले दिनको १५ हजार रूपैयाँ कारोबार हुन्थ्यो भने अहिले २५ हजारभन्दा बढीको कारोबार हुन्छ।
उनीहरू दिनको १०० देखि १२० कप चिया/कफी बेच्छन्। बिक्री ह्वात्तै बढेपछि हरेक दिनका लागि दुई सय कुकी कप स्टक राख्ने गरेका छन्।
क्याफेमा चिया र कफीबाहेक ब्राउनी, कुकी, विभिन्न पेय पदार्थ पनि पाइन्छन्।
'अचेल धेरै जना ग्राहक कुकी कपमै चिया खाने भनेर आउँछन्। हाम्रो यो नयाँ अवधारणा ग्राहकहरूले मन पराइदिएकामा खुसी लाग्छ,' सन्दीपले भने।
यसैमा नेकोनले थपे, 'भविष्यमा पनि यस्तै नयाँ आइडिया ल्याउँदै व्यापार विस्तार गर्दै जाने उद्देश्य छ।'
हुन पनि उपलब्धिबाट सन्तुष्ट नहुनु एक असल व्यापारीको गुण नै हो। हरेक उपलब्धिपछि उनीहरू नयाँ चुनौती मोल्न तम्तयार भइहाल्छन्। सन्दीप र नेकोनको सन्दर्भमा त उनीहरू व्यापारिक साझेदार मात्र होइनन्, असल मित्र पनि हुन्।
दुई मित्र जोडिएपछि एकपछि अर्को चुनौती मोल्ने आँट पलाउनु झन् स्वाभाविक भइहाल्यो!
साझेदारी सुरू भएपछि मित्रतामा तलमाथि परेको त छैन?
मेरो यो प्रश्नमा उनीहरूले यत्ति भने, 'हामी अझै उही पाँच कक्षा पढ्ने साथीहरू जस्तै छौं। हाम्रो हँसीमजाक र रमाइलो गर्ने बानी फेरिएको छैन।'
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
***







