अमेरिका र इसराइलले गजामा युद्धविरामका लागि वार्तामा संलग्न टोलीलाई फिर्ता बोलाएका छन्।
गजामा युद्धविरामका लागि कतारमा अप्रत्यक्ष रूपमा वार्ता भइरहेको थियो। कतारसँगै इजिप्ट र अमेरिकाले युद्धविरामको मध्यस्थता गर्दै आएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले युद्धविराम वार्तामा संलग्न टोलीलाई फिर्ता बोलाइएको बताएका छन्।
लामो समयको वार्ताका बाबजुद युद्धविराम नटुंगिएपछि अमेरिका र इसराइलले हमास युद्धविरामका लागि तयार नभएको भनेर वार्ता टोलीलाई नै फिर्ता बोलाएका भनेर विटकोफले बताएका छन्।
'मध्यस्थकर्ताहरूले ठूलो प्रयास गरे पनि हमासले राम्रो विश्वासका साथ समन्वय गरेको वा काम गरेको देखिँदैन,' उनले भनेका छन्।
इसराइलले भने वार्ता भंग भइनसकेको बताएको छ। बरु टोली फिर्ता बोलाएर केही प्राविधिक विषयमा छलफल भइरहेको उसले बताएको छ।
हमासले भने आफ्नो अन्तिम प्रतिक्रिया सकारात्मक रहेको दाबी गरेको छ। हमासले ट्रम्पका दूत विटकफको टिप्पणीप्रति आश्चर्य व्यक्त गर्दै स्थायी युद्धविरामको प्रयास भइरहेको बताएको छ।
केही हप्ताअघि ट्रम्पले ६० दिनको युद्धविराम सहमति नजिकै रहेको बताएका थिए।
तर पछिल्लो प्रतिक्रियाले त्यो आशामा ब्रेक लागेको छ। इसराइल र हामासबीचको मुख्य विवाद इसराइली सेना कहाँसम्म फिर्ता हुन्छ र बन्धक साटासाटको शर्तमाथि केन्द्रित छ।
हमासले इसराइली प्रस्तावको मूल खाका स्वीकार गरे पनि इसराइलले सीमामा सेनाको तैनाथ सीमित गर्नुपर्ने हामासको माग र बन्धक र कैदी साटासाटबारेको सर्त अस्वीकार गरेको भनिएको छ।
प्रधानमन्त्री नेतान्याहुले हालैको वाशिङ्टन भ्रमणमा ट्रम्पलाई हमास गम्भीर नभएको बताएका थिए।
हमाससँग अझै ५० जना बन्धक रहेको भनिएको छ। त्यसमध्ये कम्तीमा २५ जना जीवितै रहेको आकलन गरिएको छ।