जसको मन नेपालमा छ
ठमेलको 'बज्र बुक्स' छिर्नेबित्तिकै मानवशास्त्री डेभिड गेल्नरले दुवै हात जोडेर 'ज्वजलपा' भने।
काठमाडौं उपत्यकाको नेवा: सभ्यता र संस्कृतिमाथि लामो अनुसन्धान गरेका बेलायती नागरिक गेल्नरलाई नेपाल भाषामा अभिवादन गर्न मात्र होइन, नेपाल भाषा फरर बोल्नै आउँछ।
हामी अन्तर्वार्ता लिन जाँदा बज्र बुक्समा उनलाई भेट्न आउनेहरूको ओइरो थियो। कोही फोटो खिचाउँदै थिए, कोही कुरा गर्न आतुर थिए।
नेपाल भाषा र नेपाली भाषा दुवैमा राम्रो पकड भएकाले नै उनलाई पाँच दशकअघि काठमाडौं आएर बौद्ध धर्मबारे ज्ञान हासिल गर्न सहज भएको थियो।
गेल्नरलाई नेपाल चिनाइदिएको भने उनका बुबा अर्नेस्ट गेल्नरले हो।
अर्नेस्ट बेलायतस्थित लन्डन स्कुल अफ इकोनोमिक्सका प्राध्यापक थिए। उनले नेपालमा 'सिनास' (सेन्टर फर नेपाल एन्ड एसियन स्टडिज) स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। स्थापनाको चार वर्षपछि त्यसको अवस्था के–कस्तो छ हेर्न नेपाल आउँदा छोरा गेल्नर पनि साथमा आए।
त्यो २०३२ सालको कुरा हो। गेल्नर जम्मा १८ वर्षका थिए।
'आफू जन्मेको, हुर्के–बढेको सहरभन्दा फरक भूगोलमा आइपुग्दा म अचम्म परेको थिएँ,' गेल्नरले हामीसँग कुराकानी सुरू गर्दै भने, 'त्यति बेला काठमाडौंमा घरभन्दा बढी मन्दिर थिए। फराकिला खेतहरूबीच फाट्टफुट्ट मात्र घर देखिन्थे। पर्यटकहरू प्रायः वसन्तपुरको 'फ्रिक स्ट्रिट' (झोछेँ) मा बस्थे।'
उनले अगाडि भने, 'म चाहिँ झोछेँमा खासै बसिनँ। म आउँदा ठमेलको काठमाडौं गेस्ट हाउस पर्यटकहरूको नयाँ केन्द्र बन्दै थियो।'
त्यही काठमाडौं गेस्ट हाउसमा बस्दा अमेरिकाको येल विश्वविद्यालयका एक मानवशास्त्रीसँग उनको भेट भयो। ती मानवशास्त्री नेपालका विभिन्न ठाउँको पदयात्रामा जाँदै थिए। उनीसँगको कुराकानीबाट गेल्नर यति प्रभावित भए, उनी र उनका बेलायती साथी सँगसँगै पछि लागेर गए। गेल्नरका बुबा अर्नेस्ट भने यहाँको काम सकेर दुई–तीन सातामै बेलायत फर्के।
नेपाल घुम्ने क्रममा उनीहरू सबभन्दा पहिला तनहुँको डुम्रे गए।
त्यहाँ हार्बी ब्लुस्टेन नामका अनुसन्धाता आफ्नो स्थलगत अनुसन्धानको अन्तिम चरणमा थिए। दुई वर्ष गोर्खा–लमजुङ बसेका उनी नेपाली भाषा फरर बोल्थे। उनले डेभिड र उनका साथीहरूलाई गाउँको वृत्तान्त लगाए। त्यही आधारमा उनीहरूले गाउँको नक्सा तयार पार्न हार्बीलाई मद्दत गरे।
डुम्रेबाट डेभिड र उनका साथीहरू लमजुङको गनपोखरा गए। त्यहाँ नेपालका जनजातिहरूमाथि अनुसन्धान गरिरहेका अर्का मानवशास्त्रीसँग भेट भयो। उनीहरूले त्यहाँ पनि केही समय बिताए। अर्काको अनुसन्धानमा आफ्नो बुद्धिविवेक अनुसार सहयोग गरे।
यही प्रकारले उनीहरू पोखरा, माछापुच्छ्रे आधारशिविर, त्रिशूली हुँदै पश्चिम नेपालको गोलचक्कर मारेर काठमाडौं फर्के।

त्यो भ्रमणको एउटा विशेषता के रह्यो भने; उनीहरू जुन जुन ठाउँ पुग्थे, त्यहाँ कोही न कोही विदेशी मानवशास्त्रीसँग भेट हुन्थ्यो। स्थलगत अनुसन्धानमा खटिएका मानवशास्त्रीसँगको सानिध्यले उनीहरूलाई नेपाली समाज बुझ्न मद्दत पुग्थ्यो।
गेल्नरले आफ्नो पहिलो नेपाल भ्रमणका केही अनुभव पनि हामीसँग बाँडे।
'बाग्लुङको तीनचुले पुग्दा मलाई नेपालको सबभन्दा विकट ठाउँ पुगेजस्तो लागेको थियो। त्यहाँ कालो न कालो ढिँडो आलुसँग खानुपर्दा एकदमै नमिठो भएको थियो,' आफ्नो अनुहार बिगार्दै गेल्नरले भने, 'त्यो पदयात्रा मेरो लागि नेपाल सँगसँगै मानवशास्त्र बुझ्ने राम्रो अवसर बन्यो।'
चार महिना नेपाल बसेर उनी सिंगापुर गए। त्यहाँका एक बेलायती साथीसँग पाँच महिना बिताएपछि आफ्नो देश फर्के।
आफूले सोच्दै नसोचेको र जिन्दगीमा कहिल्यै नदेखेको नेपाल भ्रमणले गेल्नरको मथिंगल हल्लाइदिएको थियो। खासगरी काठमाडौं उपत्यकाको नेवा: सभ्यता र संस्कृति; र खासगरी बौद्ध धर्मको प्रभावले उनको रूचि र रूझानमा ठूलै परिवर्तन ल्याएको थियो।
गेल्नरले बेलायतको विश्वविद्यालयमा दर्शनशास्त्र र राजनीतिशास्त्र पढेका थिए। तर फर्केपछि उनलाई त्यही विषय पढ्न मन भएन। कुन विषय पढ्ने भनेर निधो गर्न नसके पनि दक्षिण एसियाको समाज, धर्म र इतिहास बुझ्न संस्कृत पढ्नुपर्छ भन्ने उनले बुझेका थिए। त्यही भएर अक्सफोर्ड विश्वविद्यालयबाट संस्कृतमा एमफिल पूरा गरे।
'चार महिना नेपाल बसेबाहेक मलाई दक्षिण एसियाबारे केही थाहा थिएन। त्यति बेला मेरा गुरू रिचर्ड गोम्ब्रेजले आफ्नो विद्यावारिधि श्रीलंकाको थेरवाद बौद्ध धर्ममाथि गर्नुभएको थियो। उहाँले सुझाव दिएपछि म पनि थेरवाद बौद्ध धर्ममा विद्यावारिधि गर्छु भनेर नेपाल आएँ,' गेल्नरले भने।
संस्कृतमा एमफिल गरेकाले यसपालि उनलाई नेपाल चिन्न र नेपालबारे अध्ययन गर्न सजिलो हुनेवाला थियो।
उनी नेपाल आएको केही समय धुलिखेलमा बसे। त्यहाँ उनका साथी डेक्लन क्विग्ली धुलिखेलका नेवारहरूमाथि अध्ययन–अनुसन्धान गरिरहेका थिए। उनको अध्ययन धुलिखेलका श्रेष्ठ र पनौतीका श्रेष्ठबीच किन विवाह हुँदैन भन्नेमा केन्द्रित थियो।
त्यस क्रममा डेक्लनसँग जोडिएको एउटा रोचक संस्मरण गेल्नरले सुनाए —
एकपटक उनीहरू बनेपाबाट पनौती जाँदै थिए। बसमा डेक्लनले एक १६–१७ वर्षका नेवार केटालाई नेपाल भाषामा सोधे, 'धुलिखेल र पनौतीका श्रेष्ठहरू किन आपसमा विवाह गर्दैनन्?'
जबाफमा ती केटाले भने, 'नियम पालना मयाः (नगर्ने)।'
नेपाल भाषा मात्र बुझ्ने डेक्लनले 'नियम' र 'पालना' शब्दको अर्थ बुझेनन्। गेल्नरले भने सजिलै बुझे।
'भर्खर नेपाल आएको भए पनि मैले ती दुवै शब्दको अर्थ बुझेँ, किनभने मैले संस्कृत पढेको थिएँ,' गेल्नरले भने, 'संस्कृत पढेको भएर मलाई नेपाली र नेपाल भाषा दुवै सिक्न सजिलो भयो।'
नेपाल भाषा सिक्नमा त मानवशास्त्री राजेन्द्र प्रधानको पनि हात छ।
धुलिखेलमा केही समय बिताएर काठमाडौं आएका गेल्नरका लागि मानवशास्त्री प्रधानले कोठा मात्र खोजिदिएनन्, नरदेवीमा नेपाल भाषा सिक्ने ठाउँसम्म पत्ता लगाइदिए।
उनी साताको पाँच दिन सुवर्णमान तुलाधरकहाँ नेपाल भाषा सिक्न जान्थे।

भाषा सिक्ने क्रममै उनी विद्यावारिधिको तयारी पनि गर्दै थिए। उनलाई आफ्नो अनुसन्धान एउटा खास ठाउँमा केन्द्रित गर्नु थियो। त्यति बेला काठमाडौं उपत्यकाका बौद्ध विहारमा अध्ययन–अनुसन्धान गरिरहेका जोन लकले सुझाव दिए, 'तिमी पाटन सहरलाई केन्द्र बनाएर अनुसन्धान गर।'
गेल्नरलाई उनको सुझाव चित्त बुझ्यो।
त्यसपछि उनी काठमाडौंभन्दा धेरै नेवाः बौद्धधर्मीहरूको बसोबास रहेको पाटन सरे र नागबहाःको एक शाक्य परिवारको घरमा दुई कोठा लिएर बस्न थाले। उनको अनुसन्धानको केन्द्र 'गोल्डन टेम्पल' भनेर चिनिने क्वाः बहाः (हिरण्यवर्ण महाविहार) थियो।
'म साइकल चढेर पाटनबाट काठमाडौं जान्थेँ। साताको एकपटक ब्रिटिस काउन्सिल पुग्थेँ। त्यसबीच नरदेवीमा नेपाल भाषा सिकाउने गुरूकहाँ पनि गइरहन्थेँ। म आफूलाई जान्न मन भएका शब्दहरूको लामै सूची बोकेर गुरूकहाँ जाने गर्थेँ,' गेल्नरले भने।
त्यति बेला ब्रिटिस काउन्सिलको अफिस कान्तिपथमा थियो। त्यहाँ उनी आफ्नो निम्ति चिठीपत्र आएको छ कि छैन भनेर हेर्न जान्थे। त्यो इन्टरनेट र फोनको जमाना थिएन। सम्पर्कको एक मात्र माध्यम चिठीपत्र नै थियो, जुन बेलायतबाट नेपाल आइपुग्न कम्तिमा तीन साता लाग्थ्यो।
बेलायतबाट प्रकाशित हुने पत्रपत्रिका पनि ब्रिटिस काउन्सिलमा पढ्न पाइन्थे। ती सबै तीन साता पुराना हुन्थे। गेल्नर ती पुराना अंक पढ्न पनि ब्रिटिस काउन्सिल गइरहन्थे।
डेढ वर्षभन्दा बढी समय पाटनमा बस्दा साइकल चढेर काठमाडौं ओहोरदोहोर गर्दाको क्षण सम्झिँदै गेल्नरले भने, 'त्यो समय बाटो पूरै खाली हुन्थ्यो। गाडीहरू एकदमै कम थिए। साइकलमा सरर हावा खाँदै डुल्न कम्ता रमाइलो हुन्थ्यो! अहिले त डरलाग्दो भइसक्यो यहाँको बाटो!'
साताको कम्तिमा एकपटक काठमाडौं पुग्नुजस्तै दिनहुँ हिरण्यवर्ण महाविहार पुग्नु पनि गेल्नरको दिनचर्या थियो।
बौद्ध धर्म र त्यसका विधिविधानबारे चासो राख्ने गेल्नरले हिरण्यवर्ण महाविहारका आशाकाजी भन्ने पुजारीलाई आफ्नो गुरू बनाएका थिए। आफ्नो अध्ययन–अनुसन्धान क्रममा दुईचोटि अप्ठ्यारो परिस्थिति सामना गर्नुपरेको उनी बताउँछन्।
भएछ के भने, हिरण्यवर्ण महाविहारमा नयाँ 'बापाचा' (विहारका पुजारी) फेर्ने समारोह चल्दै गर्दा उनी फोटो खिच्दै रहेछन्। एक जना विहारका सदस्य आएर उनलाई भनेछन्, 'तिमी अर्कै धर्मको मान्छे, हाम्रो विहारमा आएर किन यसरी फोटो खिचेको?'
त्यस्तै, अर्को एकचोटि त्यही विहारका एक सदस्यले उनलाई भोज खान बोलाएका थिए। तर एक वृद्ध सदस्यले अर्कै समुदायको मान्छेलाई सहभागी गराउन हुँदैन भने।
बौद्ध धर्ममा रूचि भएको र नेपाल भाषा पनि आउने भएकाले त्यो विहारका सबैजसो पुजारी र सदस्यले गेल्नरलाई माया नै गर्थे। ती दुई घटनामा भने नमीठो अनुभव भोगेको उनी सम्झन्छन्।

गेल्नरले हामीसँगको कुराकानीमा नेपालमा गरेको अनुसन्धानबारे पनि चर्चा गरे।
उनको मुख्य चासो नेपालको थेरवाद बौद्ध धर्ममा थियो। बौद्ध धर्मकै एउटा शाखा मानिने थेरवाद ध्यान र एकाग्रताका माध्यमबाट व्यक्तिगत मुक्ति हासिल गर्नमा केन्द्रित छ।
आफ्नो अध्ययनका आधारमा थेरवादलाई व्याख्या गर्दै उनले भने, 'समाजशास्त्रको दृष्टिबाट मेरो निष्कर्ष के थियो भने, थेरवादमा आधुनिकता र परम्परागत दुवै गुण छ। तर सबै थेरवादी आधुनिकतावादी होइनन्। नेपालका नेवार, मगर, थारू, गुरूङ समुदायमा पनि हामी आधुनिकता भेट्छौं।'
पाटनमा बसेर गरेको अध्ययनका आधारमा गेल्नरले विद्यावारिधि त गरे नै, सँगसँगै सन् १९९२ मा 'मंक, हाउसहोल्डर एन्ड तान्त्रिक प्रिस्ट' नामको किताब पनि प्रकाशन गरे। यो किताबले ललितपुरका हिन्दु–बौद्धधर्मी नेवारहरूको जीवनशैली, सामाजिक संरचना, विधिविधान, धर्म र अनुष्ठानको वर्णन गर्छ। नेपालको बोद्ध धर्ममा चासो राख्नेहरूका लागि यो एक महत्त्वपूर्ण किताब हो।
यो किताब प्रकाशनको तीन वर्षपछि गेल्नर र डेक्लनको सम्पादनमा 'कन्टेस्टेड हाइआर्की' नामक अर्को किताब प्रकाशन भयो।
नेवा: समुदायको जातीय विविधताबारे लेखिएको उक्त किताबमा गेल्नर र डेक्लनसहित जेरार्ड तोफा, हिरोसी इसी, तोड लेविस र राजेन्द्र प्रधान गरी ६ जना मानवशास्त्रीको नेवाः समाजबारे विभिन्न अनुसन्धानमूलक लेख संकलित छन्।
'नेवाः समाज बुझ्नु भनेको एकदमै गाह्रो र धेरै समय लाग्ने विषय हो। एउटा मानिसले आफ्नो पूरा जीवन लगाए पनि नेवा: समाज पूर्ण रूपमा बुझ्न सक्दैन। त्यही भएर हामीले विभिन्न क्षेत्रका नेवाः समुदायबारे अनुसन्धान गरिरहेका अनुसन्धाताको कामलाई संयुक्त रूपमा प्रकाशित गरेका थियौं,' उनले भने।
गेल्नरले नेपालका भिक्षु–भिक्षुनी र तान्त्रिकहरूसँग अन्तर्वार्ता गरेर थुप्रै लेख पनि लेखेका छन्। तत्कालीन समय नेपालमा भएका राजनीतिक तथा सामाजिक आन्दोलनको अध्ययन पनि उनले गरेका छन्। सन् २००२ देखि २००५ सम्म सञ्चालन भएको 'द इम्प्याक्ट अफ एक्टिभिजम् इन नेपाल' नामक परियोजनामा जोडिएर उनले आन्दोलनसम्बन्धी काम गरेका थिए।
यति मात्र होइन, उनले बेलायतमा बस्ने नेपाली समुदायमाथि पनि अध्ययन गरेका छन्। उनले बेलायतको 'इकोनोमिक एन्ड सोसल रिसर्च काउन्सिल' को लगानीमा सन् २००९ मा 'भर्नाकुलर रिलिजन' र २०१३ मा नेपालका दलित समुदायबारे अध्ययन–अनुसन्धान गर्ने अवसर पनि पाएका थिए। त्यसै क्रममा उनको भेट अर्का अनुसन्धाता कृष्ण अधिकारीसँग भयो, जोसँग मिलेर उनी अझै पनि नेपालका विभिन्न जाति, वर्ग र संस्कृतिबारे अध्ययन–अनुसन्धान गरिरहेका छन्।
पन्ध्र वर्षदेखि गेल्नरसँग सहकार्य गर्दै आएका कृष्ण भन्छन्, 'गेल्नरले नेपालको संस्कृतिदेखि राजनीतिका विषयमा काम गर्नुभएको छ। बसाइ सरेर गएका मान्छेले आफ्नो परम्परागत चाडपर्व कसरी मनाउँछन् भन्ने विषयमा मैले उहाँसँग मिलेर काम गरेको छु। हामीले संयुक्त रूपमा थुप्रै लेख लेखेका छौं। उहाँ मिलेर काम गर्न एकदम सरल र सहज हुनुहुन्छ।'

डेभिड गेल्नरले अनुसन्धानसँगै विभिन्न विश्वविद्यालयको प्राध्यापक भएर पनि काम गरेका छन्। उनले आठ वर्ष बेलायतको ब्रुनेल विश्वविद्यालयमा चिकित्सा मानवशास्त्र पढाएका थिए। त्यस्तै, 'स्कुल अफ एन्थ्रोपोलोजी एन्ड म्युजियम इथ्नोग्राफी' को प्रमुख भएर पनि काम गरे।
त्यसबाहेक बेलायतकै अक्सफोर्ड विश्वविद्यालयमा पनि पढाएका उनले केही समयअघि मात्र त्यहाँबाट राजीनामा दिएका छन्।
राजीनामापछिको समयलाई गेल्नर आफ्नो आरामदायी दिनका रूपमा वर्णन गर्छन्। अहिले उनी दक्षिण एसियाली अनुसन्धानमा केन्द्रित छन्। केही विद्यार्थीको विद्यावारिधिमा सल्लाहकारको भूमिका पनि निर्वाह गरिरहेका छन्।
अहिले नेपालमा गेल्नरसँग जोडिएका विषयमा विभिन्न सभा–सम्मेलन आयोजना भइरहेको छ। त्यसै क्रममा त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको दुईदिने सम्मेलनमा गेल्नरले आफ्ना कामबारे मन्तव्य दिएका थिए।
उक्त सम्मेलनका आयोजक प्राध्यापक तथा मानवशास्त्री सुरेश ढकालले गेल्नरबारे सेतोपाटीसँग भने, 'उहाँले किशोरावस्थादेखि नेपाल आएर विभिन्न क्षेत्रमा योगदान गर्नुभएको छ। उहाँ थुप्रै नेपाली विद्यार्थीका प्रशिक्षक हुनुहुन्छ। उहाँको कामले हामीजस्तो अध्ययन–अनुसन्धानमा लागेका मानिसलाई नेपालको संस्कृति, समुदाय र पहिचानलाई फरक ढंगबाट सोच्न बाटो देखाउँछ। मैले उहाँ नै संयोजक भएको संस्थाबाट विद्यावारिधिका लागि अनुदान पाएको थिएँ।'
गेल्नरलाई नेपालीहरूको उदारता र विदेशीलाई नेपालीहरूले गर्ने व्यवहार एकदमै मन पर्छ। विदेशी अनुसन्धाताहरूलाई नेपाल राम्रो गन्तव्य भएको उनी बताउँछन्। आफ्नो लामो नेपाल अनुभवका आधारमा उनी भन्छन्, 'संस्कृति र जातका आधारमा हुने विभेद अहिले धेरै हदसम्म कम भइसकेको छ। यसलाई अझै सुधार्न सकिन्छ।'
हाल ६८ वर्षीय गेल्नर भन्छन्, 'नेपालसँग मेरो आजीवन सम्बन्ध गाँसिएको छ। यहाँ मेरा पुराना साथीहरू धेरै छन्। हामी सबै एक समय जवान थियौं, सँगसँगै बूढा भयौं। यी साथीहरू भेट्न पनि मलाई नेपाल आइरहन मन लाग्छ।'
'शरीरमा ऊर्जा भएसम्म म नेपाल आइरहनेछु। नेपालको अध्ययन–अनुसन्धानमा संलग्न भइरहनेछु,' गेल्नरले भने।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
***
