पाँच पुस्तादेखिका वैद्य भन्छन्- गाँजाको आयुर्वेदिक लाभ लिन सकेनौं

दुई सय वर्ष पुरानो नवदुर्गा औषधालयका सञ्चालक नारायण गोपाल वैद्य। तस्बिरः चेतना गुरागाईं/सेतोपाटी


काठमाडौं सम्पदा

अमेरिकाको क्यालिफोर्निया राज्यले वर्ष २०१८ को सुरुआतसँगै गाँजा प्रयोग र बिक्री खुला गरेको छ।

अमेरिका त्यही देश हो, जसको दबाबमा करिब ४५ वर्षअघि नेपालले गाँजा प्रतिबन्ध लगायो। यसले पम्परागत प्रयोग बन्द भयो। केही आयुर्वेदिक औषधि गैरकानुनी साबित भए।

भक्तपुरका ८२ वर्षीय नारायण गोपाल वैद्य यसका भुक्तमान हुन्।

सुकुलढोकाबाट केही माथि इनाचोमा दुई सय वर्ष पुरानो ‘नवदुर्गा औषधालय’ चलाउने यी वैद्य झाडापखाला, अनिद्रा, शारीरिक पीडा, मानसिक तनाव लगायतका ओखतीमा गाँजा प्रयोग गर्थे। प्रतिबन्धपछि भने उत्पादन गर्न छाडेका छन्।

‘औषधिका रूपमा गाँजाले जे काम गर्छ, त्यसको विकल्पै छैन,’ उनले भने, ‘हामीले अर्काको देखासिकी प्रतिबन्ध लगायौं, अब उनीहरू खुला हुँदैछन्, हामी जहाँको तहीँ छौं।’

‘सरकारले नै प्रतिबन्ध लगाएपछि हामीले बनाउने कुरा आएन, बाबु–बाजे पालादेखि बनाउँदै आएको औषधि छाडिदियौं। अब उतिबेला हामीलाई गाँजा खान्न हुन्न भनेर सिकाउनेहरू नै यसको महत्व बुझेर प्रयोग गर्न थालेका छन्,’ नारायणले भने।

उनले बनाउन छाडेका झन्डै आधा दर्जन आयुर्वेदिक औषधिमा गाँजाजन्य मात्र छैनन्। केही जडिबूटी लोप हुनु र केही शुद्ध फेला पार्न नसक्नु यसका कारण हुन्।

दुई सय वर्ष पुरानो नवदुर्गा औषधालय। तस्बिरः चेतना गुरागाईं/सेतोपाटी

त्यसैमध्ये पर्छ, श्रीमृत्युञ्जय। उच्च ज्वरोको यो औषधि सिम्रिकबाट बन्छ। बजारमा शुद्ध सिम्रिक पाइन छाडेपछि बन्द गरेको उनी बताउँछन्।

उनले छाती पोल्दा खाने ‘विमलचन्द्र नारी’ पनि बनाउन छाडेका छन्। यसलाई शुद्ध श्रीखण्ड चाहिन्छ। यो सजिलै फेला पर्दैन।

शिलाजितबाट बन्ने औषधि पनि बन्द भएका छन्।

‘पहिले जडिबुटी पाउन मुश्किल थिएन, धेरैथरी औषधि बनाइन्थ्यो। अहिले गाह्रो छ। जे–जति पाइन्छ, त्यसैबाट बनाउँदैछु,’ उनले भने।

उनले आफैं उत्पादन गर्ने औषधिमा ग्यास्ट्रिक, पेट दुखेको, पायल्स, स्त्रीरोग, जन्डिसका औषधि, केही भिटामिन र च्यवनप्राश छन्।

सरकारले गाँजाको आयुर्वेदिक महत्व बुझेर प्रतिबन्ध हटाए लोप भइसकेका ओखती ब्युँताउन सकिने उनको सुझाव छ।

नारायण गोपालले यस्तो सुझाव त्यसै दिएका होइनन्।

उनीसँग पाँच पुस्तादेखि चल्दै आएको आयुर्वेद ज्ञान छ। भारतको वनारसबाट आयुर्वेदमा ‘शास्त्री’ गरेका बुबा कृष्णगोपालको हस्तलिखित किताब छ। पहाडे कागजमा लेखिएको किताबमा धेरैथरी औषधि बनाउने विधि संकलित छन्। यसमा गाँजाजन्य आयुर्वेदिक ओखती पनि पर्छन्।

‘मैले बुबाबाटै आयुर्वेद ज्ञान सिकेको हुँ, कहिलेकाहीँ अलमलिएँ भने यही किताब हेर्छु। छोरालाई पनि यसैबाट सिकाएँ,’ कालो मसीले नेपाली भाषामा लेखिएका पाना पल्टाउँदै उनले भने, ‘यो किताब लेखिएकै सय वर्षभन्दा बढी भयो।’

नारायणका अनुसार नवदुर्गा औषधालय खोल्ने उनका जिजुबाजे कुलमान वैद्य हुन्। उनको पुर्खा भने त्यसअघि पनि वैद्य काम नै गर्थ्यो। पसल खोलेको दुई सय वर्ष भयो।

कुलमानपछि उनका छोरा जगतमानले पेसालाई निरन्तरता दिए। उनी राणाकालीन प्रधानमन्त्री चन्द्रशमशेरका ‘राजवैद्य’ थिए। दिनहुँ भक्तपुरबाट काठमाडौं धाउँथे।

नारायण गोपालका हजुरबुबा जगतमान वैद्य र हजुरआमा। जगतमान राणाकालीन प्रधानमन्त्री चन्द्र शमशेरका ‘राजवैद्य’ थिए। तस्बिर सौजन्य: वैद्य परिवार

जगतमानको निधनपछि छोरा कृष्णगोपालले यो बिँडो धाने। उनी अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरका ‘राजवैद्य’ थिए।

नारायण भने दरबार कहिल्यै गएनन्।

‘मेरो पालामा राणा शासन सकियो। राजवैद्य हुन पाइनँ,’ उनले हाँस्दै भने, ‘म यहीँ जनताकै वैद्य भएर बसेँ।’

नवदुर्गा औषधालयको नाम पहिले ‘श्रीदुर्गा औषधालय’ थियो। ०५० सालमा नारायणका दाजुभाइ छुट्टिँदा नाम फेरियो। उनी साइँला हुन्। जेठा र माइला दाजुको निधन भइसकेको छ। उनीहरू पनि वैद्य नै थिए। कान्छा सप्तमान उनकै छेउमा यस्तै औषधालय चलाउँछन्।

नारायणका दुई छोरा छन्। जेठा श्रीगोपाल ट्राभल एजेन्सी चलाएर बसेका छन्। कान्छा श्रीराम भने पुर्ख्यौली पेसामै छन्।

‘बुबा पसलमा धेरै समय बस्न सक्नुहुन्न। मैले उहाँसँग काम सिक्दै, सघाउँदै आएको छु,’ श्रीरामले भने।

श्रीराम ३९ वर्षका भए। उनका दुई सन्तान छन्। आफ्ना बाबुबाजेको पेसा नै निरन्तर लैजाने उनको योजना छ। ‘मलाई यही काम मनपर्छ। सानैदेखि देख्दै, सिक्दै आएको छु। पुर्ख्यौली वैद्य हुँ, वैद्य नै रहन्छु,’ उनले भने।

नारायणगोपाल वैद्यका कान्छा छोरा श्रीराम। नवदुर्गा औषधालय चलाउने उनी पाँचौं पुस्ता हुन्। तस्बिरः चेतना गुरागाईं/सेतोपाटी

मेडिकल औषधिले दिएको प्रतिस्पर्धासँग उनलाई चिन्ता छैन। आयुर्वेदिक औषधिको बजार र आफ्नो ‘ब्रान्ड’ स्थापित भइसकेकाले उनी यो व्यवसायमा ढुक्क छन्।

‘बुबाबाजेले सबैलाई यसैको आम्दानीले हुर्काउनुभयो,’ उनले भने, ‘मैले पनि छोराछोरीलाई राम्रै व्यवस्था गरेको छु। उनीहरूलाई पनि आयुर्वेद नै पढाउने सपना छ।’

उनीहरू ‘नवदुर्गा’ ब्रान्डमा औषधि बिक्री गर्छन्। बजारबाट एकनासका बट्टा किनेर ल्याउँछन्। ब्रान्ड, औषधिको नाम र जडिबुटीको मिश्रणसहित स्टिकर टाँस्छन्। औषधालयकै भित्री कोठामै जडिबुटी र मसला पिस्ने मेसिन र भण्डारण छ।

श्रीरामका अनुसार सबभन्दा बढी बिक्री हुने च्यवनप्राश हो। अन्य औषधिको पनि पछिल्ला पाँच वर्षयता माग बढ्दै गएको उनले बताए।

‘पहिले आयुर्वेदिक औषधिको बजार खुम्चिसकेको थियो। नियमित ग्राहकबाहेक अरु खासै आउँदैनथे,’ उनले भने, ‘पछिल्लो समय एलोपेथिक औषधिका विभिन्न असर देखिन थालेपछि आयुर्वेदमा चासो बढेको छ।’

कतिपयलाई ‘हातले बनाएको’ ओखतीले पनि आकर्षित गर्ने उनी बताउँछन्।

‘कोही भने डाक्टरी औषधि खाँदाखाँदा रोग निको नभएपछि आउँछन्। कतिको हामीसँग औषधि हुन्छ कतिको हुँदैन,’ उनले भने, ‘अचेल सबैखाले जडिबुटी पाइँदैन, ज्ञान भए पनि सामग्री अभावमा औषधि बनाउन सकेको छैन।’

सहजै पाइने जडिबुटी भनेका अमला, नीम, चिराइतो, पिपला, जटामसी, बेल, बोजो, हर्रो, बर्रो लगायत हुन्। घाँटी दुख्ने समस्या भएका औषधिमा जिरा, ल्वाङ, सुकुमेल, मह, दूध, जाइफल, जेठी मधु, अलैंची, दालचिनीजस्ता मसला मिसाइन्छ।

पहिले जडिबुटी खोज्न नारायण र उनका बाबु गाउँ–गाउँ धाउँथे। जंगल–जंगल चहार्थे। पूर्वी पहाडी जिल्लासम्म पुगेर जडिबुटी खोजेको उनको अनुभव छ। अहिले कहीँ जान पर्दैन। काठमाडौंका नरदेवी, इटुम्बहाल र मखनका पसलमा फोन गरेर मगाएपछि यहीँ ल्याइदिन्छन्।

नारायणगोपालका बाबु कृष्णगोपालले लेखेको आयुर्वेद औषधि बनाउने विधिबारे लेखेको किताब। तस्बिरः चेतना गुरागाईं/सेतोपाटी

सहज आपूर्ति भए पनि सबैथरीका जडिबुटी नपाइँदा जानेजति औषधि बनाउन नसकेको उनको भनाइ छ। आफूले जानेका र बुबाको किताबमा भएका थुप्रै औषधि बनाउन जडिबुटी नपाउँदा आयुर्वेद ज्ञान हराउला भन्ने चिन्ता पनि छ।

‘मैले जानेका सबै छोरालाई सिकाउन सामग्री नै छैन। बुबाले किताबमा यति धेरै कुरा लेख्नुभएको छ, ती बनाउन सकिँदैन,’ उनले भने।

ज्वलन्त उदाहरण त, गाँजा नै हो।

प्रकृतिबाटै मासिएका वा दुर्लभ जडिबुटी त छाडौं, खेत–कान्लामा सहजै उम्रिने गाँजाधरि रोक लगाउनुले यसको आयुर्वेदिक लाभ लिन नसकेको उनी बताउँछन्।

‘उच्च औषधीय गुण भएका जडिबुटी संरक्षण र प्रवर्द्धन गरियो भने धेरै फाइदा लिन सकिन्छ,’ उनले भने।

आफ्ना बाबुले आयुर्वेद औषधि बनाउने विधिबारे लेखेको किताब हेर्दै नारायणगोपाल वैद्य। तस्बिरः चेतना गुरागाईं/सेतोपाटी

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.