असनलाई किन सवारीमुक्त बनाउनुपर्छ?
यसको जवाफ हो, २४२ वर्ष पुरानो तिलिङ्गा वैद्य पसल।
असनबाट इन्द्रचोक जाँदा लगभग सय मिटर हिँडेपछि दाहिनेतिर एउटा सानो बोर्ड देखिन्छ, जसमा लेखिएको छ–
‘तिलिङ्गा औषधालय– यहाँ आयुर्वेदिक शास्त्रीय विधिपूर्वक बनेको औषधि पाइनुका साथै ग्याष्ट्रिक, बाथ लगायत रोग उपचारका लागि सम्पर्क गर्नुहोला।’
यो पसलको परिचय यतिमै सीमित छैन।
बासुकृष्ण वैद्यले सञ्चालन गर्दै आएको यो औषधालय विसं १८३२ सालमा स्थापना भएको हो।
पदम श्रेष्ठद्वारा लिखित ‘नेपाल मण्डल सम्पदा’ र गोरक्षबहादुर न्हुछे प्रधानको पुस्तक ‘मेरा श्रद्धेय पुर्खाबारे संक्षिप्त इतिहास’ मा यो औषधालयबारे उल्लेख छ।
प्रधानले आफ्नो किताबमा बासुकृष्णका पुर्खालाई ‘ब्याग्री चिकित्सक’ को उपमा दिएका छन्। यसको कारण छ– ती वैद्यहरूले सुरुआती दिनमा बाघको समेत उपचार गरेर निको बनाएका थिए रे।
यो औषधालय पृथ्वीनारायण शाहका छोरा प्रतापसिंह शाहको शासनकालमा स्थापना भएको हो। त्यतिबेला राज्य विस्तारमा यी वैद्यका पुर्खा राजासँगसँगै हिँड्ने गरेको इतिहास छ। उनीहरू जहाँ–जहाँ लडाइँ हुन्छ, त्यहाँ शिविर बनाएर घाइते सिपाहीको उपचारमा खटिन्थे।
‘हाम्रो पुर्खालाई लडाइँ बेला राजाहरूले सँगै हिडाउँथे रे, घाइतेको उपचार गर्न,’ बासुकृष्णले भने, ‘यसरी सेवा गरेबापत् नै हाम्रा पुर्खालाई काजी अभिमानसिंह बस्नेतले यो घरमा औषधालय खोल्न अनुमति दिएका थिए।’
नेपाल राज्य विस्तार क्रममा प्रयोग भएका केही जडिबुटीजन्य ओखती उनलाई अझै थाहा छ।
उनले आफ्ना हजुरबाबाट सुनेअनुसार लडाइँमा चोटपटक लागेका घाइतेको उपचारमा बढीजसो ‘ब्रणबन्धन’ भन्ने औषधि प्रयोग हुन्थ्यो। ‘त्यो औषधि दिएपछि गोली लागेको घाइतेलाई पनि अरू उपचार गर्नु पर्दैन थियो रे,’ उनले भने, ‘मैले मेरो पुर्खाबाट सुनेको।’
यसरी नेपाल राज्य विस्तारकै इतिहाससँग जोडिएको यो औषधालयमा बासुकृष्ण आफैं आउजाउ गर्न थालेको ५५ वर्ष बितेको छ। उनी आफैंले सञ्चालन गर्न थालेको भने ४० वर्ष भयो। उनी सुरु–सुरुमा आफ्ना बुबा र काकालाई सघाउन जान्थे। लगभग १५ वर्ष सहयोगी भएर बसेपछि अन्ततः आफैंले चलाउन थाले।
यहाँ ग्याष्ट्रिक, बाथ, दम, पिनास, कमलपित्त, अल्काई, धातु रोग, स्वेतप्रदर लगायत रोगको उपचार हुन्छ।
पहिला यहाँ बासुकृष्णको मात्र औषधालय थिएन, लस्करै तीनवटा थिए। ती सबै उनीहरूकै परिवारका थिए– ठूला बुबा, माइला बुबा र उनको बुबाको।
वैद्य ओखतीमा मान्छेको रुचि घट्दै गएपछि पसल चलाउन गाह्रो भयो। सहरीकरणले वैद्य औषधि बनाउन पनि सकस हुन थाल्यो। ठूला बुबा र माइला बुबा पसल छाडेर हिँडे। उनको मात्र बाँकी रह्यो।
‘म पनि हजुरआमाको बचन राख्न मात्र यहाँ टिकेको छु,’ उनले भने, ‘हजुरआमा भन्नुहुन्थ्यो, मान्छेको रोग निको पार्नुजस्तो पुण्य काम केही हुन्न, अरू धर्म गर्नै पर्दैन, जे परे पनि यो पेसा नछाड्नू।’
‘हजुरआमाको त्यो बचन तोड्न मन मानेन, त्यसैले जति गाह्रो परे पनि छाडेर हिँड्न सकेको छैन,’ उनले भने।
उनी र उनीजस्ता कयौं पुराना व्यवसायी टिकेर बस्नुले नै हो, आजसम्म असनको गरिमा जोगिएको। र, यसलाई काठमाडौंकै ‘डिपार्टमेन्ट स्टोर’ भनिएको।
[caption id="attachment_108330" align="alignnone" width="825"]
तस्बिरः शान्ति तामाङ/सेतोपाटी[/caption]
अहिलेकै अवस्थामा भने बासुकृष्ण मात्र होइन, अरूलाई पनि यहाँ टिकेर बस्न गाह्रो छ। गाडीको घन्चमन्च, हुलमुल र नयाँ पसलको चकाचौंधबीच यस्ता पुराना पसल मान्छेका आँखामा पर्दैनन्। कारोबार त्यसै कम हुन्छ। असनको साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व जोगाउँदै लैजाने हो भने मात्र यस्ता पसल प्रबर्द्धन गर्न सकिने सहरी विकास अभियन्ताहरू बताउँछन्।
बासकृष्ण आफैं यसमा सहमत छन्।
असनको भिडभाडले आफ्नो पसल ओझेल पर्दै गएकोमा बेलाबेला उनलाई चिन्तित पनि बनाउँछ। ‘यत्रो हुलमुलमा कसको आँखा परोस्! खोज्दै आउनेहरू पनि पसल पत्ता लगाउन नसकेर फर्कन्छन्,’ उनले भने, ‘त्यसमाथि अचेल आयुर्वेदिक औषधि भनेपछि मान्छे त्यसै नाक खुम्च्याउँछन्।’
यति हुँदाहुँदै उनका केही नियमित ग्राहक छन्, जो उपत्यका वरिपरिका नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा लगायत मात्र होइन, कास्की र तनहुँदेखि आउँछन्। डाक्टरले दिने ‘एलोपेथिक’ दवाईबाट हैरान भएकाहरू पनि आउने गरेको बासुकृष्ण बताउँछन्।
पाटन पुर्ख्यौली घर भएका उनको पसलमा बिक्री हुने औषधि उनी आफैंले बनाउने हो। यसमा श्रीमती र दुई जना कर्मचारीले सघाउँछन्। औषधि बनाउन लामो समय लाग्छ। महँगो पनि हुन्छ। कुनै–कुनै औषधि बनाउन त नुनदेखि सुनसम्म चाहिन्छ। कतिपय कच्चापदार्थ वा जडिबुटी भनेको बेला पाइँदैन। यसले लागत महँगो पर्छ। त्यही भएर पनि कतिपय मान्छे वैद्य औषधि प्रयोग गर्न हच्किने उनको अनुभव छ।
‘औषधि बनाउनु भनेको त्याग र तपस्याको काम हो। हत्तपत्त जोकोही यस्तो पेसामा लाग्न सक्दैनन्। यसले पनि वैद्य काम विस्तारै हराउँदै गएको हो,’ उनले भने।
आयुर्वेदमा साध्य, कृत्य साध्य र असाध्य गरी तीन चरण हुन्छ।
साध्य रोगको सुरुआती चरण हो भने कृत्य साध्य मध्यम र असाध्य भनेको अन्तिम चरण।
उनी असाध्य चरणमा पुगेका बिरामी उपचार गर्दैनन्। क्यान्सरको समेत उपचार गर्ने उनी असाध्य भएका बिरामीलाई भने औषधि नै दिँदैनन्। त्यसबाहेक अन्य सबै किसिमका बिरामी उपचार गर्छन्।
दरबार हाइस्कुलबाट २०३९ सालमा एसएलसी पास गरेका बासुकृष्णले वैद्य काम पढेर जानेका होइनन्। आफ्ना काका विश्वनाथ वैद्य प्राणाचार्यबाट यी सबै उपचार र औषधि बनाउने विधि सिकेका हुन्। केही महिना नरदेवी आयुर्वेद अस्पतालमा शिक्षा पनि लिए।
‘म आफ्नो आयुर्वेदिक ज्ञानको श्रेय काकालाई दिन्छु,’ उनले भने, ‘उहाँ भने औपचारिक शिक्षाबिनै यो पेसामा लाग्नुभएको थियो। पुर्खाबाट जे सिक्नुभयो, त्यसैलाई माझ्दै लैजानुभयो।’
सुरुआती दिनमा यो औषधालयमा ३ सय ६५ प्रकारका औषधि पाइन्थे।
हृदयधारा, मकरब्रज, नवरस, बज्रप्राणेश्वर, ब्रणबन्धन, सत्तिजीवन, सुलादी लगायत औषधि उनको घरमै बनाइन्थ्यो। ती औषधि बनाउन हर्रोबर्रा, चिराइतो, अमला, मेथी, कपुर, ज्वानु, हिन, मह, सुकुमेल, दालचिनी, अलैंची, रक्तचन्दन, तिलको तेल, घ्यूकुमारी, जटामसी लगायत जडिबुटि प्रयोग हुन्थे।
बासुकृष्णको औषधालयमा परिवर्तन आएको छ– ३ सय ६५ प्रकारका औषधि घटेर ६५ मा झरेको छ।
बाँकी ३ सय प्रकारका औषधि कता हराए?
‘औषधि बनाउन गाह्रो छ। सामग्री भनेको बेला पाइँदैन। पाइए पनि महँगो छ। कतिपय जडिबुटी आफ्नै बगैंचामा उत्पादन गर्छु। कतिपय भारतबाट मगाउँछु। कति त पाइँदै पाइन्न। अनि कहाँबाट बनाउनुँ?’ उनले जवाफ दिए।
केही समयअघि एक जना व्यक्तिले उनलाई ‘अमृतविन्दु’ बनाइदिन भन्यो। उनले ‘लाखौं रुपैयाँ दिए पनि नसक्ने’ जवाफ दिए।
‘पहिलाजस्तो सजिलो छैन। २१ वटा नुनका प्रकारबाट रक्सीजस्तो बनाउनुपर्छ, माटोको भाँडोमा। त्यही पनि अहिले त ‘सूर्य नमक’ भन्ने पाउनै छाड्यो। अनि कहाँबाट बनाउन सक्नु?’ उनले भने।
यो पेट दुखेका बेला खाने औषधि हो। एक गिलास पानीमा १० थोपा हालेर खाँदा तुरुन्त ठिक हुने उनको दाबी छ।
आफ्नो पुस्तासम्म आइपुग्दा त यो हालत छ भने नयाँ पुस्तामा गएपछि वैद्य ओखती मासिएरै जाला भन्ने उनलाई चिन्ता छ। र, सँगसँगै यो पनि चिन्ता छ– समयक्रमसँगै फेरिँदै गएको असनबाट पुराना पसलहरू जम्मै हराउने त होइनन्?
‘यो असन त्यो असन रहेन, आकाश–जमिन फेरिइसक्यो। आधुनिकताले छपक्कै छोपेको छ। सबै नयाँ बनाउने धूनमा छन्, पुरानो मासेर नयाँ बन्ला त?’ उनले भने, ‘काठमाडौं सभ्यता जोगाउने भनेको असन सभ्यता जोगाउनु पनि त हो।’
यो पनि हेर्नुहोस्: