डायलासिस भनेको हाम्रो शरीरमा रहेको रगतलाई वैज्ञानिक आधारमा रहेर सफा गरिने एक प्रकारको प्रविधि हो।
समान्यतया किड्नी फेल भएको अवस्थामा डायलासिस गर्नुपर्छ। हप्तामा २ पटकसम्म डायलासिस गर्नुपर्ने हुन्छ। किड्नी फेल भएका बिरामीलाई प्रत्यारोपण नहुँदासम्म लागि डायलासिस गरिन्छ। कतिपय अवस्थामा बिरामीले प्रत्यारोपणका लागि किड्नी पाउन सकेन अथवा किड्नी प्रत्यारोपण हुन सकेन भने लामो समयसम्म डायालसिस गर्नुपर्ने हुन्छ।
प्राविधिक रूपमा डायलासिस भन्नाले उसको जीवन लम्ब्याउने मात्र हो, जसले मिर्गौला प्रत्यारोपणसम्म जानको लागि पुलको काम गर्छ।
डायलासिसले गर्दा शरीरको बिकार तत्वहरूलाई सफा गरेर उसलाई बाँच्ने आधार बनाउन सहयोग गर्छ। तर प्रत्यारोपण भयो भने उसले पहिला जस्तो जिउथ्यो त्यस्तै फिर्ता हुने कारणले सकेसम्म मिर्गौला प्रत्यारोपण नै गर्नुपर्छ।
डायलासिस गर्दा चार घण्टाभित्रमा उसको शरीरमा भएको फोहोर रगत सफा गर्न सकिन्छ। मेसिनको माध्यमबाट बिरामीको शरीरमा भएको प्रत्येक रगत सफा हुँदै जान्छ। त्यही भएर हप्तामा २ देखि ३ पटकसम्म डायलासिस नगरेसम्म उसको क्रिएटिनिन बढ्दै जान्छ।
एकपटक डायलासिस गरेपछि कति दिनसम्म काम लाग्छ भन्ने कुरा बिरामीको अवस्था अनि उसको खानपिनमा निर्भर रहन्छ।
कतिपय बिरामीको डायलासिस अस्थायी पनि हुन्छ। कहिलेकाहीँ संक्रमण धेरै भएको अवस्था, सर्प, बारुला,अरिंगालले टोकेको बेला, कहिलेकाहीँ झाडापखला लाग्दा समेत डायलासिस जरूरी पर्न सक्छ। त्यस्तो बेला १ देखि ३ पटकसम्म डायलासिस गरेपछि किड्नी पहिलाकै अवस्थामा फर्किन्छ।
पिसाब कम हुने भएकाले डायलासिसका बिरामीले सबभन्दा धेरै खानपनिमा ध्यान दिनुपर्छ। त्यसमा पनि पानी र झोलिलो पदार्थ खाने विषयमा अझै ध्यान दिनुपर्छ।
कुनै कारणले शरीरमा पानी रह्यो भने उसलाई सास फेर्न गाह्रो हुन्छ। फोक्सो, मुटुमा असर गर्ने भएकाले बिरामीले पानी खान ध्यान दिनुपर्छ।
अर्को किड्नीले गर्ने भनेको नाइट्रोजन र अम्लियपन पनि सफा गर्ने हो। त्यसैले सोडियम र पोटासियम भएका खाना मिलाएर खानुपर्ने हुन्छ। नुनिलो र मसलेदार खाना र माछामासु कम खान पर्छ। त्यस्तै फ्राइ गरेको खाना सकेसम्म खान हुँदैन भने उमालेको खाना अनि सागब्जी खानुपर्छ।
डायलासिस गरिरहेका बिरामीको सामान्य मानिसको जस्तै दैनिकी हुनुपर्छ। दैनिक ७/८ घण्टा सुत्ने चाँडो उठ्ने अनि हल्का व्यायाम गर्नुपर्छ। बिहान उठेर हल्का चिया, पानी पिउन सकिन्छ। डायलासिसमा बसेका बिरामीले एक दिनमा ५ सयदेखि ८ सय मिलिलिटर झोल खान मिल्छ।त्यसैले पानी र झोलीलो पदार्थ खाँदा त्यसलाई आधार बनाउनु पर्छ।
बिहान उठेर हल्का हिँडडुल गर्न मिल्छ। सामान्य दाल भात तरकारी खान मिल्छ। तर दालमा पानी हुने भएकाले ८ सय एमएलसम्मको मात्रालाई ध्यान दिनुपर्छ।
फलफूलमा जस्तो पनि खान मिल्दैन। स्याउ, मुला, गाँजर र मेवा खान मिल्छ। डायलासिस गरिरहँदैमा आफ्नो काम गर्न नमिल्ने भन्ने होइन तर बिरामीको शारीरिक र मानसिक अवस्थाले गर्दा धेरै बलको काम गर्न गाह्रो हुन्छ। यद्यपी आफूले गर्दै आएका नियमित काम रोक्नु पर्दैन।
मिर्गौलाको मुख्य काम भनेको शरीरमा भएको रगतलाई सफा गरेर चाहिने मात्रामा लिएर बाँकी रहेको पिसाब निकाल्ने हो। तर मिर्गौला फेल हुँदै गएपछि त्यो प्रक्रिया कम हुँदै जाने हुन्छ। जसले गर्दा पिसाब बन्ने प्रक्रिया कम हुन्छ।
कुनै कारणबस पिसाब राम्रोसँग खुलेन अथवा शरीरबाट निक्लिने अवस्था रहेन तर नियमित पानी पिइराख्नुभयो भने त्यो पिएको पानी शरीरमै रहन्छ। त्यसले फोक्सो र मुटुमा समस्या पार्न सक्छ। त्यही भएर किड्नीका बिरामीले पानी र झोलीलो पदार्थमा ध्यान पुर्याउन जरूरी छ।
किड्नीका बिरामीको रोग प्रतिरोधी क्षमता कम हुने भएकाले भीडभाडमा धेरै नजाने, मास्क लगाउने आफ्नो औषधि समयमै खानुपर्छ। यस्ता सावधानी अपनाएमा किड्नीको बिरामी भए पनि समस्या कम हुन सक्छ।
(डायलासिस गरिरहेका बिरामीले कस्ता सावधानी अपनाउने के गर्ने,के नगर्ने लगायतका विषयमा भरतपुर र कोसिस अस्पतालमा कार्यरत मिर्गौला रोग विशेषज्ञ डा.सन्तोष गुरूङसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)