बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१२ बेलासपुरमा एक युवतीको हत्या भएको छ।
दैलेखको भैरवी गाउँपालिका-२ घर भई बेलासपुर बस्दै आएकी १९ वर्षीया निर्मला थापा शुक्रबार उनी बस्दै आएकी डेरामा मृत भेटिएकी हुन्।
निर्मलाको हत्या आरोपमा उनीसँगै बस्दै आएका बर्दियाको बारबर्दिया नगरपालिका-३ का ३३ वर्षीय प्रकाश सुनार पक्राउ परेका छन्।
निर्मलाको शव सड्न लागेको अवस्थामा डेराबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी दीपक पातलीले जानकारी दिए।
शनिबार शव पोस्टमर्टमपछि प्रहरीले परिवारको जिम्मा लगाइसकेको छ।
डिएसपी पातलीका अनुसार प्रकाश आफैले प्रहरीलाई फोन गरेर निर्मलाको हत्या गरेको र प्रहरीमा आत्मसमर्पणका लागि आउँदै गरेको जानकारी गराएका थिए।
उनले 'नपत्याए गएर हेर्नू' भनेर ठेगाना पनि दिएका थिए। सोही आधारमा खटिएको टोलीले शुक्रबार निर्मलालाई मृत अवस्थामा उनकै डेरामा भेटेको थियो।
प्रकाशलाई पनि धम्बोजी चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रमम प्रकाश र निर्मला तीन वर्षदेखि सँगै बस्दै आएको खुलेको डिएसपी पातलीले जानकारी दिए।
एउटै होटलमा काम गर्दा उनीहरूबीच प्रेम सम्बन्ध हुँदै 'लिभिङ टुगेदर'मा थिए।
पछिल्लो समय उनीहरू नेपालगन्जकै छुट्टाछुट्टै रेस्टुरेन्टमा काम गर्थे। त्यसो भएपछि उनीहरु एकअर्काबीच शंका गर्ने र त्यसमै विवाद हुन थालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रकाश यसअघि नै विवाहित थिए। बारबर्दियामा उनकी श्रीमती, एउटा छोरा र एउटी बस्छन्। प्रेम र लिभिङ टुगेदरमा रहन थालिसक्दा पनि निर्मलालाई भने यो विषयमा थाहा थिएन। विवाहित भन्ने थाहा पाएपछि त्यही विषयमा पहिल्यै किन नभनेको भनेर विवाद हुने गरेको प्रहरीले जनाएको छ।
प्रकाश निर्मलालाई कान्छी श्रीमती भन्थे। हत्यापछि प्रहरीलाई फोन गर्दा पनि 'कान्छी श्रीमतीलाई मारेँ' भनेर जानकारी दिएका थिए।
प्रकाश नेपालगन्जमा निर्मलासँगै बस्छ भन्ने कुरा बारबर्दियामा रहेको उनका परिवारलाई पनि थाहा थियो।
निर्मलाको हत्या बुधबार राति भएको अनुसन्धानबाट खुलेको छ।
डिएसपी पातलीका अनुसार बुधबार दुई जनाबीच भनाभन भएको थियो। विवाद भएको केही बेरपछि निर्मला निदाएकी थिइन्। उनी निदाएपछि आफू डोरी खोज्न लागेको र त्यही डोरीले निर्मलाको घाँटी कसेर हत्या गरेको प्रकाशले प्रारम्भिक बयानमा प्रहरीलाई बताएका छन्।
निर्मलाको हत्यापछि उनी रातभरि त्यही कोठामा बसेका थिए। बिहानपख उनी बाहिरबाट ताल्चा लगाएर निस्किएका थिए।
बिहीबार दिउँसो उनले निर्मलाको अभिभावकलाई पनि फोन गरेर आफूले उनको हत्या गरेको जानकारी दिएका थिए। शुक्रबार प्रहरीलाई फोन गरेपछि घटना बाहिरिएको थियो।
‘मैले कान्छी श्रीमती निर्मलालाई मारिदिए,लास कोठामै छ,’ प्रकाशको भनाइ उद्धृत गर्दै डिएसपी पातलीले भने, ‘न पत्याएर कोठामा गएर हेर्नुहोस। म प्रहरीसमक्ष आत्मसर्पण गर्न आउँदै छु।’
प्रकाशको त्यो फोन पछि प्रहरी नेपालगंज– १२ बेलासपुरमा उनीहरु बस्ने कोठा पत्ता लगाउँदै गएको थियो। घटनाबारे थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको डिएसपी पातलीले जानकारी दिएका छन्।