डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख (डिएफओ) अमरप्रसाद शाहमाथि कार्यकक्षमै कुटपिट गरेका आरोपित मध्ये थप दुई युवा पक्राउ परेका छन्।
असार २२ गते कार्यकक्षमै डिएफओ शाहमाथि कुटपिट गरेको आरोपित मध्य जाजरकोटको भेरी नगरपालिका –३ का २२ बर्षीय कुशल कुमाल र कुशे गाउँपालिका – ८ घर भइ भेरी – ३ पिपलडाँडामा बस्ने १९ बर्षीय आशिषबिक्रम शाही पक्राउ परेका छन् । उनीहरु दुबै जना बाँकेको कोलहपुरबाट पक्राउ परेका थिए।
जिल्ला प्रहरी कार्यालय जाजरकोटको आग्रहमा इलाका प्रहरी कार्यालय कोहलपुरले कुमाल र शाहीलाई कोहलपुर नगरपालिका – १२ चप्परगौडीमा लुकिछिपी बसेको अवस्थामा शुक्रबार बिहान ५ बजे पक्राउ गरेको थियो।
यसअघि नै प्रहरीले भेरी नगरपालिका–७ का विराजन शाहीलाई पक्राउ गरेको थियो । उनी अघिल्लो शुक्रबार बिहान ६ बजे जिल्लाको नलगाड नगरपालिका – १० रावत गाउँबाट पक्राउ परेका थिए ।
पक्राउ परेका तीनै जना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ। जाजरकोटका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार घटनाका योजनाकार विराजन शाही हुन ।
पक्राउ परेका तीनै जना आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।