असनलाई किन सवारीमुक्त बनाउनुपर्छ?
यसका जवाफ हुन्, ६० वर्षीया सुवर्ण श्रेष्ठ।
सुवर्ण असनबाट इन्द्रचोक जाने भित्री गल्लीमा बाटैछेउ नुन बेच्छिन्। यो नुन हामीले अचेल खानेजस्तो आयोडिनयुक्त नुन होइन। धेरै वर्षअघि बजारमा छ्यासछ्यास्ती भेटिने ढिकेनुन हो, जसलाई तिब्बतबाट ल्याएको ‘भोटेनुन’ भनिन्थ्यो।
अचेल यो जतासुकै पाइँदैन। असनमै मात्र पाइन्छ। त्यसमा पनि सुवर्ण एक्ली छिन्, ढिकेनुन बेच्ने।
असनलाई काठमाडौंको ‘डिपार्टमेन्ट स्टोर’ यसै भनिएको होइन। यहाँ नुनदेखि सुनसम्म पाइन्छ। त्यसैमध्ये सुवर्णले बेच्ने ढिकेनुन एक हो। पूर्वमा रानीपोखरी, दक्षिणमा भोटाहिटी महाबौद्ध, पश्चिममा न्हैकन्तलादेखि बांगेमूढासम्म र उत्तरमा त्यौडसम्म फैलिएको असन बजारको चिनारी भनेकै यस्तै पुराना पसल हुन्। र, खासमा काठमाडौंको पहिचान भनेको पनि यही हो।
प्राचीन सहर काठमाडौंको यो मौलिकता जोगाउन असनजस्तो ठाउँको संरक्षण हुनुपर्ने सहरी विकास अभियन्ता भूषण तुलाधर बताउँछन्।
‘पुरानो सभ्यता जोगाउन पुराना बजारमा सवारी निषेध गरेर पैदलमार्ग बनाउनु उपयुक्त तरिका हो,’ उनले भने, ‘यसले इतिहास बोकेका यस्ता पुराना पसल सबैका आँखामा पर्छन्। अन्ततः स्थानीयको आर्थिक कारोबार नै फस्टाउँछ।’
सुवर्णको पसल छ पुस्ता पुरानो हो। यसको सुरुआत कसरी भयो उनलाई थाहा छैन। कीर्तिपुरबाट बिहे गरेर आएपछि बल्ल यो पसलसँग उनको नाता जोडियो।
‘भर्खर बिहे गरेर आउँदा उहाँ (श्रीमान) भन्नुहुन्थ्यो, हामीले यो पसल चलाउन थालेको पाँच पुस्ता भयो,’ सुवर्णले भनिन्, ‘श्रीमानको मृत्युपछि अचेल मै हेर्छु।’
उनी आफैं पसलमा बसेर ढिकेनुन बेच्न थालेको पनि २४ वर्ष भइसक्यो।
सुवर्णको पसलमा नुनबाहेक अर्थोक केही पाइन्न। पहिले त उनी ढिकेनुन मात्र बेच्थिन्, अचेल आयोडिनयुक्त ‘आयोनुन’ पनि बेच्न थालेकी छन्। ‘आयोनुन बेच्न थालेको १२ वर्ष भयो, ग्राहकलाई जुन मन पर्छ त्यही लान्छन्,’ उनले भनिन्।
उच्च रक्तचाप, जोर्नी दुखेको, मधुमेहका बिरामीलाई ढिकेनुन लाभदायक मानिन्छ। घर ‘अर्थिङ’ गर्न, बरफ र कुल्फी बनाउन पनि यसको खाँचो पर्छ। चाहिनेहरू खोजी–खोजी उनीकहाँ आउँछन्।
सुवर्णका अनुसार पाँच जना चिकित्सक उनका नियमित ग्राहक छन्। घर बनाउनेहरू ‘अर्थिङ’ गर्न बोराका बोरा लैजान्छन्। ग्राहक धेरै नभए पनि जो आउँछन्, घटीमा एक पाथी लैजान्छन्। चालीस–पचास बोरासम्म लैजाने ग्राहक पनि आउने उनले बताइन्।
बालुवाटारकी ६० वर्षीया उमा श्रेष्ठ उनकी नियमित ग्राहक हुन्।
उमा ढिकेनुन लिन साताको एकचोटि असन आएकै हुन्छिन्। घरमा आयोनुनको सट्टा यही प्रयोग गर्छिन्। हरेक साँझ ढिकेनुन पानीमा घोलेर खुट्टा डुबाउने उनको बानी छ। यसो गर्दा थकान कम हुने, गोडा दुखेको निको हुने र राम्ररी निद्रा पर्ने उनी बताउँछिन्।
बल्खुका राजेन्द्रप्रसाद पौडेल त डाक्टरले नै ढिकेनुन खान सुझाएपछि खोजी–खोजी आएका थिए। ‘डाक्टरले आयोडिन धेरै भएर हड्डी मक्कियो भन्दै ढिकेनुन खान सुझाउनुभयो,’ उनले भने।
यहाँ ढिकेनुन पाथीमा बिक्छ। दुई किलो एक पाउ बराबर एक पाथीको ४० रुपैयाँ पर्छ। सुवर्णले पाथीको ३ रुपैयाँ हुँदादेखि नुन बेच्न थालेकी हुन्। एक पाउ जाने कपको १० रुपैयाँ लिन्छिन्।
यो नुन उनी साल्ट ट्रेडिङबाट ल्याएर बेच्छिन्। सकिनेबित्तिकै साल्ट ट्रेडिङलाई खबर गर्छिन्। उसैले पठाइदिन्छ।
उनी नुन बेच्न एक सय ५० किलो अट्ने काठको भाँडा प्रयोग गर्छिन्। यो भाँडा त्यति नै पुरानो हो, जति यो पसल। उनी हरेक बिहान ८ बजेतिर भाँडोमा नुन भर्छिन्। छेउमा केही पोका आयोनुन राख्छिन्। र, पसल सुरु गर्छिन्।
झमक्क साँझ नपुरुञ्जेल पसल खुल्लै हुन्छ।
पसल बन्द गर्दा पनि भाँडो लिएर घर जाने होइन। त्यहीँ छोपछाप पारेर राख्ने हो। अहिलेसम्म एक ढिक्का नुन हराएको उनलाई सम्झना छैन।
‘नुन चोर्यो भने भाडा लाग्छ रे,’ सुवर्णले भनिन्।
सडकछेउ थापिएको भए पनि पसल अनधिकृत होइन। यो साल्ट ट्रेडिङमा दर्ता छ। ‘श्रीमानले कहिलेकाहीँ कुरा हुँदा हाम्रो पसल साल्ट ट्रेडिङमा दर्ता छ भन्नुहुन्थ्यो। मैले अरू सोधपुछ गरेको छैन,’ सुवर्णले भनिन्।
नेपालले २०४४ सालदेखि खानेनुनमा आयोडिन मिसाउने नीति लिएको हो। त्यसपछि परम्परागत रूपमा प्रयोग हुँदै आएको ढिकेनुन हरायो। उतिबेला असनमै पनि ढिकेनुन बेच्ने थुप्रै थिए। अचेल सबै विस्थापित भइसके।
ती सबैको प्रतिनिधित्व सुवर्ण एक्लैले गर्छिन्।
यो पनि हराउनसक्छ, जोगाएन भने!
र, सुवर्णको पसल जोगाउनु भनेको असन जोगाउनु पनि हो।