नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले राजनीतिमा गरेको दुःख र अटल यात्राले सम्भावनाका ढोका खुल्दै जाने बताएका छन्।
शनिबार नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले राजनीति गरेपछि त्यसको मूल्य खोज्नु गलत हुने बताएका हुन्।
उनले निरन्तर उतारचढावबीच पनि अविरल यात्राले सम्भावनाको ढोका खुल्दै जाने बताए। उपसभापति गुरूङले त्यसो भन्दै गर्दा पार्टी सभापति शेरबहादुर देउवाको उदाहरण दिए।
'हाम्रो सभापतिज्यु, पूर्वप्रधानमन्त्रीज्यु, यो राजनीतिक यात्राको क्रममा अविरल ढंगबाट यात्र गर्दा उहाँले खप्नुभएको उत्तारचढाव व्याख्या गर्नुपर्दैन। त्यो उत्तारचढावलाई छिचोलेर अघि बढ्नुभएको छ। रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बन्नुभयो। भनेर हुन्छ, अझै बन्नसक्नुहुन्छ नि उहाँ। ६ पटक, सात पटक पनि बन्न सक्नुहुन्छ। त्यो यात्रा हो। त्यो दुःख, अटल यात्राले ढोका खुल्दै जाने हो,' उनले भने।
यद्यपि राजनीतिमा त्याग गरेको कुराको मूल्य खोज्न नहुने उनले बताए।
'राजनीतिमा त्याग गरेँ, मैले के पाएँ भन्ने भाष्य खडा भएको छ, गलत हो। मैले त्याग गरेँ भनेपछि फेरि के पाएँ भन्ने हो ? त्याग भनेको त्याग नै हो। त्यागको मूल्य हुँदैन। राजनीति यात्रा हो कहाँ पुगिन्छ थाहा हुँदैन, अविरल यात्रा गर्ने हो,' उनले भने। -न्युज एजेन्सी नेपाल