दाङमा स्थानीय तह र निजी क्षेत्रको साझेदारीमा प्लास्टिक फोहोरबाट टायल र इन्टरलक इँटा उत्पादन सुरू भएको छ। यस्तो इँटा पार्किङ स्थल, फुटपाथ, आँगन जस्ता ठाउँमा बिछ्याउन प्रयोग हुन्छ।
राप्ती गाउँपालिका र हेटौंडास्थित इको फ्यामिलीको सहकार्यमा प्लास्टिक फोहोरबाट टायल–इँटा उत्पादन सुरू भएको हो। यहाँबाट लुगामा हाल्ने टाँक पनि उत्पादन हुन्छ।
यस किसिमको उत्पादन मुलुकमै पहिलो भएको उत्पादक कम्पनी इको फ्यामिली प्रालिको दाबी छ।
'उत्पादन सुरू भएको एक महिना भयो,' कम्पनी सञ्चालक समितिका अध्यक्ष रूपेशराज कँवरले भने, 'एक महिनामै करिब १५ लाख रूपैयाँको टायल–इँटा बिक्री भएको छ।'
राप्ती गाउँपालिका र कम्पनीबीच २०७९ भदौमा दुइटा सम्झौता भएको थियो। प्लास्टिक फोहोरबाट टायल–इँटा र कुहिने फोहोरबाट मल उत्पादन गर्ने। सोही अनुरूप कम्पनीले राप्ती गाउँपालिकामै कुहिने फोहोरबाट चाँडै मल पनि उत्पादन गर्नेछ।
कँवरका अनुसार 'कम्पोस्ट पिट' बाट एक खेप मल उत्पादन गर्न २८ दिन लाग्छ। 'डाइजेस्टर' बाट गर्दा २४ घण्टामा तयार हुन्छ। गाउँपालिकाले उत्पादन प्रविधि र मल बजारीकरणको जिम्मेवारी टुंगो लगाउन बाँकी छ।
टायल र इँटा उत्पादनका लागि गाउँपालिकाले दुई करोड २० लाख रूपैयाँ लगानीमा भौतिक संरचना तयार गरिदिएको छ। कम्पनीलाई दुई बिघा जमिन १५ वर्षका लागि निःशुल्क उपलब्ध गराएको छ। करिब एक बिघामा पर्खाल लगाइदिएको र उद्योगसम्म बिजुली पुर्याइदिएको छ। दुइटा टहरा बनाइदिएको छ।


गाउँपालिकाले हाल मासिक २० हजार रूपैयाँ कम्पनीलाई अनुदान पनि दिइरहेको छ।
सम्झौतामा १५ वर्षपछि कम्पनीले उद्योगका सबै संरचना गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ। कम्पनीले नै किनेका मेसिन भने हस्तान्तरण गर्नुपर्ने छैन। गाउँपालिकाले मूल्यांकन गरी किन्न भने सक्नेछ।
हालसम्म कम्पनीले साढे एक करोड रूपैयाँका नौवटा मेसिन किनेको कँवरले बताए।
कम्पनीले उत्पादनमा प्रयोग नहुने फोहोर कबाडमा बेच्न पाउँछ। त्यसबापत गाउँपालिकाले निकासी कर लिने प्रावधान सम्झौतामा छ। त्यस्तै उद्योगबाट निस्केको पानी प्राकृतिक प्रशोधन गरेर मात्र जमिन वा खोलामा पठाउनुपर्नेछ।
'अहिलेसम्म हामीले पानी पुनःप्रयोग गरिरहेका छौं। पुनः प्रयोग हुन नसक्दा मात्र प्रशोधन गरेर बाहिर पठाउनेछौं,' उनले भने।
कम्पनीले उत्पादित टायल–इँटा गाउँपालिका कार्यालय र यहाँका बासिन्दाले किन्दा २० प्रतिशत छुट दिनुपर्ने प्रावधान छ। यसबाहेक बाहिर बेच्दा कर तिर्नुपर्छ।
प्लास्टिकबाट बनेको एउटा टायलको ५५ रूपैयाँ र इन्टरलक इँटाको ३३ रूपैयाँ मूल्य पर्छ। भुइँमा बिछ्याएपछि टायल र इँटा दुवैको ३३ टन भारवहन क्षमता हुने कँवरले बताए।
'आँगन, पार्क, पार्किङस्थल, फुटपाथ र बाटोमै पनि हाम्रो उत्पादन ढुक्कले बिछ्याउन सकिन्छ,' उनले भने, 'सिमेन्ट र बालुवाबाट बनाएको भन्दा प्लास्टिकबाट बनेको यो टायल र इँटा धेरै बलियो छ।'
हाल दैनिक साढे तीन सय वटा इन्टरलक इँटा र १५० वटा टायल उत्पादन भइरहेको छ। माग उच्च भए पनि सो अनुसार उत्पादन गर्न नसकेको कँवरले बताए। उत्पादन बढाउन फोहोर पनि बढाउनुपर्छ। गाउँपालिकाबाट दैनिक करिब दुई टन फोहोर उत्पादन हुन्छ। यसमा एक टनभन्दा बढी कुहिने फोहोर हो।
पूर्ण क्षमतामा उत्पादन भएपछि दाङ जिल्लाको माग पूरा हुने उनको विश्वास छ।
इको फ्यामिली कम्पनीमा अध्यक्ष कँवरका साथ आइटी इञ्जिनियर राजु बलामी, आर्किटेक्ट इञ्जिनियर मुकेश जोशी, मेकानिकल इञ्जिनियर प्रतीक खरेल र सभिलि इञ्जिनियर विपिन कार्की सदस्य छन्।
यो कम्पनीले पाँच वर्षअघि हेटौंडामा प्लास्टिक फोहोरबाट टायल र इन्टरलक इँटा उत्पादन थालेको थियो। स्थानीय पालिकाबाट सहयोग नपाएपछि काम रोकिएको कँवरले बताए।
कम्पनीले प्लास्टिक फोहोरबाट काठको प्लाइउड जस्तै पोलिउड पनि उत्पादन गर्ने तयारी गरेको छ।


'अहिले बजारमा वाटरप्रुफ (पानीले नबिगार्ने) प्लाइउड बन्दैछ। त्यसको प्रतिस्थापनमा हामी पोलिउड उत्पादन गर्छौं,' कँवरले भने।
प्लास्टिक नकुहिने फोहोर हो। यो फोहोर व्यवस्थित नभएर जताततै फैलिँदा यसले जमिनको तापक्रम बढाउँछ, उर्वराशक्ति ह्रास हुन्छ। जलाउँदा कार्बन–मोनोअक्साइड जस्तो हानिकारक ग्यास उत्पादन हुन्छ। यस प्रकारका सामान उत्पादन गर्दा फोहोरको दीर्घकालीन व्यवस्थापनमा सहयोग पुग्ने उनको भनाइ छ।
'नेपालमा फोहोरको दीर्घकालीन व्यवस्थापन हुन सकेको छैन,' उनले भने, 'एक ठाउँको फोहोर अर्को ठाउँ लगेर फाल्ने चलन छ। यसो गर्नु व्यवस्थापन होइन, स्थानान्तरण मात्रै हो। यसरी समस्या समाधान हुँदैन। नयाँ उत्पादनमै जानुपर्छ।'
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले फोहोरको दीर्घकालीन व्यवस्थापन गर्ने उद्देश्यले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटबाट काम सुरू गरेको बताए। सोही उद्देश्य अनुसार इको फ्यामिलीसँग सम्झौता भएको हो।
'फोहोर आफैमा ठूलो समस्या होइन। प्लास्टिकजन्य फोहोर मोहरमा रूपान्तरण गर्ने हाम्रो उद्देश्य हो,' अध्यक्ष विष्टले भने, 'निर्वाचनका बेला हाम्रो घोषणापत्रमा फोहोर व्यवस्थापनको कुरा उल्लेख गरेका थियौं। त्यसैअनुसार अघि बढेका हौं।'
टायल र इँटा उत्पादन भरखरै सुरू भए पनि चर्चा निकै फैलिएको उनले बताए। लुम्बिनी प्रदेशको राजधानी रहेको स्थानीय तह भएकाले प्लास्टिकमुक्त बनाउने उद्देश्य अनुरूप योजना बनाएर अघि बढेको उनको भनाइ छ।
प्लास्टिकबाट टायल–इँटा उत्पादन गर्ने काम परीक्षणकालमै छ।
'उत्पादनको माग बढ्यो भने विज्ञहरूको रायसुझाव अनुसार अघि बढ्नेछौं,' उनले भने।
