मेरो नाम सौरभ थापाश्रेष्ठ। पहिलोचोटि सुन्दा पक्कै प्रश्न उठ्छ — थापा कसरी श्रेष्ठ हुनसक्छ?
धेरैलाई लाग्छ, मेरी आमा 'थापा' र बुबा 'श्रेष्ठ' भएर मैले 'थापाश्रेष्ठ' थर प्रयोग गरेको हुँला!
कतिले सोध्छन् पनि — तिमी नेवा: श्रेष्ठ कि के?
स्कुलमा मेरा साथीहरूलाई आफ्नो नामको अर्थ बताउन झन्झट हुन्थ्यो। मलाई भने नामको भन्दा थरको अर्थ खुलाउन झन्झट लाग्थ्यो।
कतिपय अवस्थामा प्रश्न सोध्ने व्यक्तिहरू नेवा: नै हुन् भने उनीहरूले नेपाली भाषामा सोधेको प्रश्नको जबाफ म नेपाल भाषामा फर्काइदिन्थेँ। त्यसपछि दोस्रो प्रश्न आउँथ्यो — तिमी कसरी नेवा:? कता हो घर?
धन्न, मलाई सानैदेखि नेवा: भाषा बोल्न सिकाइयो। म नेवा: भाषा राम्ररी बुझ्ने र बोल्न सक्ने भएँ। मैले नेपाल भाषामा जबाफ फर्काउँदा कति जना अकमक्क पर्ने स्थिति आउँथ्यो। यसरी सबैलाई अलमल पारेको आफ्नै थरबारे आज यो लेख लेख्ने मौका जुर्यो।
नेवा: पहिचान भनेको 'राष्ट्रियता' हो, 'जाति' होइन भन्ने विश्लेषण यथेष्ट पढ्न र सुन्न पाइन्छ। नेपालको इतिहासमा काठमाडौं उपत्यकामा राज्य गर्ने राजकीय परिवारदेखि उत्तर-दक्षिणबाट आवतजावत गरी बसोबास गरेका धेरैले नेवा: भाषा र सभ्यता आत्मसात् गरेका थिए। कालान्तरमा उनीहरू नेवा: समुदायकै हिस्सेदार भए।
नेवा: पहिचानको लामो इतिहासमा पहिलोचोटि लिच्छवि राजा सुपुष्प देवको पालामा वर्ण व्यवस्थालाई व्यावसायिक विभाजनको अंशका रूपमा प्रस्तुत गरिएको थियो। पछि जयस्थिति मल्लको समयमा यो अझ परिष्कृत भयो। त्यो समय ४ वर्ण र ६४ जातमा विभाजन गरिएको थियो। अन्तत: यसलाई विभिन्न कालखण्डमा आ-आफ्नो ढंगले व्याख्या र व्यवस्थित गर्ने कामले निरन्तरता पायो। आजको समाजसम्म आइपुग्दा यो एक विकृत सामाजिक व्यवस्थाका रूपमा उपस्थित भएको पाइन्छ।
नेपाल भाषामा स्यस्य: भनिने 'श्रेष्ठ'हरूलाई विशेष गरेर छथरि र पाँचथरि भनेर विभाजन गरिएको पाइन्छ। पाँचथरि श्रेष्ठहरूमा 'स्यस्य: बिनां' अर्थात् 'श्रेष्ठको उपनाम' को उपस्थिति छ। जयस्थिति मल्लको पालामा नेवा: समाजमा श्रेष्ठहरूलाई क्षत्री समूहको स्थानमा राखिएको लेखक सिल्भाँ लेभीको 'नेपाल' नामक किताबमा उल्लेख छ।
अब कुरा गरौं, थापाश्रेष्ठको उत्पत्ति कसरी भयो?
थापाश्रेष्ठलाई पनि पाँचथरिभित्रै पारिएको देखिन्छ। भक्तपुरको थिमिमा बसोबास गर्ने श्रेष्ठहरूको 'उपनाम' कसरी अस्तित्वमा आयो भन्नेबारे विभिन्न विश्लेषण गरिएको छ। श्रेष्ठको उपनाम घर, टोल, व्यापार, देवता, पन्छी, जनावर, आचरण, प्रकृति र स्थानहरूका आधारमा विकसित भएको देखिन्छ। तिनैमध्ये 'थापा' एउटा उदाहरण मात्र हो। यस्ता थुप्रै उपनाम 'श्रेष्ठ' सँग जोडिएर आउँछन्।
जस्तै — बाग:, धन्तवरसिं, अदुवा, थिकु, नानिचा, माक:, बासँ, था, भिन्दूवा आदि।
'थिमिया स्यस्य: बिनां' का लेखक धर्मकृष्ण चपलिछें श्रेष्ठका अनुसार श्रेष्ठ 'उपनाम' कसरी उत्पत्ति र विकास भयो भन्नेबारे प्रमाणित इतिहास छैन। यो उपनाम एकैपटक अस्तित्वमा नआएर क्रमिक रूपमा विकास भएको उनको तर्क छ।
मेरो पनि यस्तै उपनाम हो थापा। हरेकपटक आफ्नो पूरा नाम भन्दा सबैले 'थापाश्रेष्ठ' कसरी भयो भनेर प्रश्न गरेपछि मैले यसबारे घरमा कुरा गरेको थिएँ। तर घरबाट पनि ठोस जबाफ पाइनँ। उनीहरू 'पहिलेदेखि यस्तै हो' भन्थे। म भने आफ्नो जिज्ञासा शान्त पार्न कुनै लिखित अभिलेख वा लोककथा छ कि भनेर खोजबिन गरिरहन्थेँ।
त्यसैबीच मैले पहिलोचोटि 'ऐतिहासिक सहर बोडे' पुस्तकमा यो थरको अस्तित्वबारे लेखक सजिब थापाश्रेष्ठको विश्लेषण पढ्न पाएँ।
उनका अनुसार कुनै मल्ल राजाका पालामा तलेजु पूजा गर्दा स्थापना गरिने माटाको घैंटोलाई नेपाल भाषामा 'थापंई' भनिन्छ। नेवा:हरूको दसैं भोज गर्दा यस्तो पूजा गर्नुपर्छ। हो, त्यही 'थापंई' लिएका कारण उनीहरूलाई पनि थापंई नैफ भन्न थालियो। त्यही थापंई अपभ्रंश हुँदै थापा भयो।
अहिलेसम्म पनि दसैंको महानवमीको दिन हाम्रो ढुकुटीमा रहेको माटाको घैंटो र एउटा ठूलो तरबारको पूजा गर्ने चलन छ। त्यो तरबार किन छ र किन पूजा गरिन्छ भन्ने चाहिँ मलाई थाहा छैन। मैले पढेको र बुझेको हिसाबमा त्यो तरबारले हाम्रो परिवारको सम्बन्ध मल्लकालको युद्धसँग जोडेको देखिन्छ।
सजिब थापाश्रेष्ठ लेख्छन्, 'कोही कोही थापाहरू शत्रुले हमला गर्दा आफूहरूले छेकेका कारण थापा भनेको भनाइ राख्छन्। हमला गर्दा छेक्नेलाई नेपाल भाषामा थापानेगु भनिन्छ।'
बोडे निवासी ७० वर्षीय विनोद खम्बु श्रेष्ठका अनुसार मध्यपुरका थापा खलकहरू मूलत: थिमिको इनाय्लाछि टोलमा बसोबास गर्थे। त्यहाँ थापाहरूको एउटा सगोल घर थियो। उक्त सगोल घरमा आशामरू नाउँका एक वृद्ध थापाहरूको मूल (कूल) घरमा धेरै वर्ष भाडामा बस्थे। उनी आदर्श माध्यमिक विद्यालय थिमिमा पियन पदमा कार्यरत थिए। पछि उनले छाडेपछि थापाहरूको त्यो सगोल घर अन्दाजी २०४५ सालतिर बिक्री गरियो। त्यसबापत् एक दाजुभाइले दामासाहीले सात सय रूपैयाँ पाएका थिए भन्ने विनोद खम्बुको भनाइ छ।
खम्बुकी पत्नी ६८ वर्षीया विजयलक्ष्मी थापा श्रेष्ठले भनेअनुसार इनाय्लाछि कूलघर भएको थापा खलकमध्ये जेठो खलक इनाय्लाछिमै रहेको र एउटा हाँगो बोडेतिर बसाइँ सरेको थियो। सम्भवत: माहिलो र कान्छो थिमिको बाहाखा बजारमा सरेका थिए भनेर सुन्नमा आएको उनी बताउँछिन्।
अध्ययनकै सिलसिलामा चपलिछें श्रेष्ठले 'थिमिया स्यस्य: बिनां' मा लेखेअनुसार मध्यकालीन समयमा लायकु अर्थात् दरबारतिर बस्ने 'थाय्पात' हरू नै थापा भएको अनुमान गरिन्छ। पहिले दरबार पछाडि बसोबास गर्ने उनीहरू अहिल थिमी बाहाखा बजार र बोडेमा प्रशस्त छन्।
'थापा हाम्रो बहादुरीको कदर गर्दै दिइएको उपाधि थियो,' थिमि निवासी ६७ वर्षीय निरञ्जन थापाश्रेष्ठ भन्छन्, 'यो नाम मूल रूपमा 'थाँ-पाँ' लेखिएको थियो, जसमा 'थाँ' को अर्थ 'माथि' र 'पाँ' ले ढाललाई जनाउँछ। किम्बदन्तीअनुसार मल्लकालमा जब आक्रमणकारीहरूले थिमिमाथि आक्रमण गरे, तब हाम्रा पुर्खाहरूले ठूलो साहसका साथ सहरको रक्षा गरे।'
उनले अगाडि भने, 'दरबार अग्लो जमिनमा रहेकाले आक्रमणकारीहरूले माथि चढ्ने प्रयास गरे। तर हाम्रा पुर्खाले सहरलाई खतराबाट जोगाए। उनीहरूलाई माथि पुग्नबाट रोके। त्यही भएर हाम्रो नाम थाँ-पाँ रहन गयो।'
समय बित्दै जाँदा 'थाँ-पाँ' भाषिक रूपान्तरण भई 'थापा' का रूपमा विकास भएको उनको भनाइ छ।
अर्का लेखक डा. तुलसीनारायण श्रेष्ठको 'नेपालका नेवारहरू: पहिचान र पृष्ठभूमि' पुस्तकमा 'थरपा' थरको जिकिर गरिएको छ। यो थर 'क्षेत्रीय' वा 'भारदार' वर्गसँग जोडिएको हुन सक्छ भन्ने उनको भनाइ छ। यो पछि अपभ्रंश भई नेवा: समुदायको थापा बन्न पुगेको उल्लेख छ। पछि यिनै थापाहरू श्रेष्ठसँग मिसिन पुगी वर्तमान 'थापाश्रेष्ठ' भन्ने थरबाट चिनिन थालेको विश्वास गरिन्छ। तत्कालीन पाटनका थरपाहरू नै वास्तवमा आजकालको मध्यपुरका थापाश्रेष्ठ हुन् भन्ने लेखक अनुमान गर्छन्।
उनै लेखक अर्को विश्लेषण पनि गर्छन्, जसअनुसार मध्यकालीन 'थरपा' हरू खस समुदायका थापा क्षेत्री नै थिए, जो पछि नेवा: समुदायमा मिसिन पुगी नेपाल भाषा र संस्कृति आत्मसात् गरी नेवा: भए।
विनोद खम्बुका अनुसार उपत्यकामा बस्ती बसाउन रणनीतिक रूपले सुरक्षित उच्च स्थान रोजिन्थ्यो। मध्यपुर (थिमि) क्षेत्रको बस्ती विकास पनि यही आधारमा भएको पाइन्छ। बाह्य आक्रमण रोक्न उच्च स्थानबाट शत्रुलाई रोक्ने र सामना गर्ने काम थापाहरूले गर्थे। यसरी शत्रुको हमलालाई रोक्न सफल भएका कारण कालान्तरमा थांपां बाट थापा हुन गएको उनको भनाइ छ।
थिमिबाट बाहाखा बजार र बोडे सरेका 'थापाश्रेष्ठ' मध्ये कतिपय परिवार अझै पनि थिमिस्थित दिगुभैरव मन्दिरमा रहेको आफ्नो इष्ट देवता पूजा गर्न पुग्छन्। कतिपयले आफ्नै घरमा इष्ट देवता स्थानान्तरण गरेर पुज्ने गरेको अवस्था छ। यसले 'थापाश्रेष्ठ' को कूलस्थान थिमि नै रहेको प्रमाणित गर्छ। यद्यपि कुन समय वा अवस्थामा उनीहरू बसाइँ सरे भन्ने लिखित इतिहास छैन। उक्त इष्टदेवता मान्ने हिसाबले उनीहरूको पूर्वास्थाको जानकारी भने दिन्छ।
त्यस्तै, नेपाल भाषा एकेडेमीले प्रकाशन गरेको नेवा: सांस्कृतिक ज्ञानकोष- नेवा: म्हसिकामा पनि थिमिका स्यस्य:हरूको उपनामबारे उल्लेख गरिएको छ।
त्यसमा 'थापाश्रेष्ठ' थरको उत्पत्तिबारे तत्कालीन दरबारिया हैसियतमा सल्लाहकारको भूमिका निर्वाह गर्नेहरूलाई 'थाय्पा' भनिन्थ्यो। 'थाय्पा' चाहिँ विशेष गरेर ज्येष्ठताका आधारमा दिइने एक प्रकारको पद हो। शब्दको क्रमिक विकासक्रममा 'थास' बाट 'थाय्' अर्थात् नेपाल भाषामा ठाउँलाई जनाउँछ भने 'पाल' बाट 'मनू' अर्थात् मान्छेलाई जनाउने शब्दमा परिवर्तन भएको देखिन्छ। यस अर्थमा 'थासपाल' बाट क्रमश: थाय्पाल-थाय्पा:-थाय्पा हुँदै थापा भएको जिकिर गरिएको छ।
विभिन्न पुस्तकका लेखकले आफ्नो तर्क र विभिन्न आधारमा विश्लेषण गरे पनि 'थापाश्रेष्ठ' भनेको नेवा: समुदाय वा पहिचानको एक हिस्सा हो। उनीहरू अहिले मध्यपुरका बोडे र थिमिमा बसोबास गर्ने नेवा: हुन्।
(सौरभ थापाश्रेष्ठ कला, सम्पदा र संस्कृतिमा रूचि राख्ने विकास अध्ययनका विद्यार्थी हुन्।)
***