नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनमा सभापतिमा उठ्ने बताएका छन्।
उनलाई भेट्न निवासमा पुगेको नेपाल प्रजातन्त्र सेनानी संघको टोलीसँग उनले १५ औं महाधिवेशनमा सभापति उठ्ने भन्दै साथ दिन आग्रह गरेका हुन्।
भेटका क्रममा प्रजातन्त्र सेनानीहरूले अहिले पार्टी बिग्रिएको गुनासो गर्दै पार्टी बचाउनका लागि अब सभापतिमा अघि बढ्न उनीसँग आग्रह गरेका थिए।
‘१५ औं महाधिवेशनमा सभापति उठ्छु। तपाईंहरूको दरिलो साथ चाहियो,’ जबाफमा उनले भने।
भेटका क्रममा उनले प्रजातन्त्र सेनानीहरूले देशमा लोकतन्त्र ल्याउनलाई ठुलो योगदान नै नेपाल प्रजातन्त्र सेनानी संघको रहेको भन्दै राज्यले सम्मान गर्नुपर्नेमा त्यसो हुन नसके भन्दै असन्तुष्टि जनाए।
प्रजातन्त्र सेनानीहरूसँग उनले प्रजातन्त्रको सुदृढीकरण, प्रजातन्त्र सेनानीहरूको सम्मान र पुराना नेता कार्यकर्ताकाे संरक्षण र अवसरमा समान सहभागिताका लागि पनि आफूले नेतृत्व गर्न चाहेकाे काेइरालाले बताए।
काठमाडौंमा बसेको संघको २ दिनको बैठकको निर्णय सुनाउँदै अध्यक्ष बालकृष्ण दाहालले पार्टीमा वडा तहदेखि प्रजातन्त्र सेनानीहरूको प्रतिनिधित्व सुनिश्चितता सहितको मागपत्र पनि कोइरालालाई हस्तान्तरण गरे।