अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पल कम्पनीलाई भारतमा उत्पादन विस्तार नगर्नू भने पनि सो कम्पनीको मुख्य ठेकेदारले भारतमा ठूलो कारखाना लगाउने भएको छ।
ट्रम्पले चीनसँग व्यापार युद्ध सुरू गरेकाले एप्पल कम्पनीले आगामी वर्ष सम्ममा अमेरिकीमा बिक्री हुने सबैजसो आइफोन भारतमा बनाउने घोषणा केही समयअघि गरेको थियो।
तर भर्खरै कतार भ्रमणका बेला एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकलाई भारतमा निर्माण विस्तार नगर्नू भनेको ट्रम्पले खुलासा गरेका थिए। एप्पलले अमेरिकामै उत्पादन बढाउने दाबी पनि ट्रम्पले गरेका थिए।
उनले त्यस्तो दबाब हाले पनि एप्पलको मुख्य ठेकेदार फक्सकनले भारतमा डेढ अर्ब डलरको पार्टपुर्जा बनाउने कारखाना बनाउन अघि बढेको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
वर्षौंदेखि एप्पलका उपकरणहरू जडान गर्दै आएको फक्सकन तमिलनाडु राज्यको चेन्नई नजिकै सो कारखाना खोल्न लागेको हो। सो कारखानाबाट उक्त ताइवानी कम्पनीलाई आफ्नो मुख्य ग्राहक एप्पललाई पार्टपुर्जा आपूर्ति गर्नेछ।
यो कदमले एप्पल चीनबाट टाढा हुँदै भारतमा केन्द्रित गएको देखाउँछ।
अमेरिकामा वर्षमा छ करोडभन्दा बढी आइफोन बिक्री हुन्छ। त्यसमध्ये धेरै जसो हाल चीनमा बन्छन्।
चीनसँगको व्यापार युद्धका कारण २०२६ को अन्त्य सम्ममा अमेरिकामा बिक्री हुने सबैजसो आइफोन भारतमा बनाउने लक्ष्य एप्पल कम्पनीले लिएको हो भनेर फाइनान्सियल टाइम्सले लेखेको थियो। त्यसको मतलब अहिले भारतमा भइरहेको उत्पादन बढाएर झण्डै दोब्बर पुर्याउनु पर्ने हुन्छ।
तर मध्यपूर्वको भ्रमणको क्रममा कतारमा ट्रम्पले प्रमुख व्यापारीहरूसँगको एक कार्यक्रममा त्यसबारे बोल्दै एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकसँग आफू रिसाएको बताएका थिए।
'हामी तिमीलाई वास्तवमै राम्रो व्यवहार गर्दैछौं। तिमीले चीनमा वर्षौंसम्म त्यत्रा कारखानाहरू बनाउँदा पनि हामीले सह्यौं। तिमीले भारतमा निर्माण गर भन्ने हामी चाहँदैनौं,' ट्रम्पले कुकलाई भनेको कुरा उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको थियो।
ट्रम्पका सामु नझुकेपछि चीनलाई लगाएको उच्च भन्सार दर घटाएको देखेर भारतले पनि उनको प्रतिकार गर्ने नीति अंगालेपछि उनको त्यस्तो टिप्पणी आएको थियो।
भारत अमेरिकाविरूद्ध विश्व व्यापार संगठन (डब्लूटिओ) गएको छ। अमेरिकाले भारतको स्टिल र आलमिनियममा लगाएको २५ प्रतिशतको भन्सारको बदलामा भारतले अमेरिकी वस्तुमा भन्सार लगाउने भनेर डब्लुटिओलाई जानकारी गराएको छ।
ट्रम्पले कुकलाई अमेरिकामै आइफोन बनाउन भने पनि त्यो काम त्यति सजिलो छैन।
फेब्रुअरीमा एप्पलले ट्रम्पको चार वर्षको कार्यकालमा अमेरिकामा पाँच खर्ब डलर खर्च गर्ने प्रतिबद्धता जनाएको थियो। तर आइफोन बनाउन नभएर एप्पलले त्यो लगानी आर्टिफिसियल इन्टेलिजेन्सका (एआई) लागि चिप्स र सर्भरहरू उत्पादन गर्नका लागि गर्न लागेको हो।
एप्पलले चाहेर पनि तुरून्तै अमेरिकामा आइफोन बनाउन सम्भव छैन।
अमेरिकामा विशाल चिनियाँ आपूर्ति शृंखला र कारखानाहरू खडा गर्न एप्पलका लागि ठूलो चुनौती हुनेछ। त्यसका लागि चाहिने धेरै दक्ष प्राविधिक कामदार पनि अमेरिकामा उपलब्ध नभएर एसियामा केन्द्रित छन् भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
एप्पलले हाल अमेरिकामा केही उत्पादन, त्यो पनि सीमित संख्यामा मात्रै बनाउँछ। विश्लेषकहरूका अनुसार अमेरिकामा आइफोन उत्पादन बढाउन अर्बौं डलर खर्च गरे पनि एप्पललाई वर्षौं लाग्नेछ।
ट्रम्प सरकारका अधिकारीले हजारौं अमेरिकीले पेच कस्दै अमेरिकामै आइफोन बनाउने छन् भन्दै आएका छन्। तर त्यो सम्भव छैन। वाणिज्य मन्त्री हावर्ड लट्निकले गत महिना मात्रै चीनमा जत्तिकै परिमाणमा अमेरिकामा आइफोन बनाउन रोबोटहरू चाहिन्छ भनेर कुकले आफूलाई भनेको बताएका थिए।
त्यसपछि लट्निकले अझै पनि अमेरिकीले नै आइफोन बनाउने, तर पेच कसेर नभएर रोबोट चलाएर बनाउने दाबी गरेका थिए।
ठूलो लगानी गरेर कारखानाहरू लगाएर केही वर्षमा ट्रम्पले भने जसरी अमेरिकामै बनाउन थाले पनि आइफोन लगायत एप्पलका उत्पादन ज्यादै महँगा हुनेछन्।
एप्पलको सबभन्दा कमाइ हुने आइफोन मात्रै नभएर आइप्याड र म्याकबुकहरू पनि मुख्यतः चीनमै बन्छन्।
ब्लुमबर्गका अनुसार करिब ८७ प्रतिशत आइफोन, ८० प्रतिशत आइप्याड र ६० प्रतिशत म्याकबुक चीनमा बन्छन्।
चीनमा दक्ष कामदार उपलब्ध हुने मात्रै नभएर अमेरिकाको तुलनामा ज्यादै कम तलबमा तिनले काम गर्छन्। अमेरिकामा कानुनले अनुमति दिनेभन्दा धेरै घण्टासम्म कारखानामा खटिन्छन्।
त्यही भएर चीनबाट त्यत्रो टाढा अमेरिका ढुवानी गरेर लैजाँदा पनि ती उत्पादन अमेरिकामा बन्ने भन्दा धेरै सस्ता हुन्छन्।
भारतमा पनि कामदारको ज्यालादर चीनको जस्तै सस्तो छ। चीनको छिमेकी भएकाले उत्पादन गर्न चाहिने पार्टपुर्जाहरू पनि भारत पुर्याउन तुलनात्मक रूपमा सजिलो हुनेछ। अमेरिका टाढा भएकाले उत्पादनका लागि चाहिने पार्टपुर्जाहरू जुटाउनै पनि मुश्किल हुनेछ।
यी विभिन्न कारणले ट्रम्पले दबाब हाले पनि अमेरिकामै आइफोन उत्पादन तत्काल बढाउन सम्भव छैन।
त्यही भएर फक्सकनले भारतमा डेढ अर्ब डलरको पार्टपुर्जा बनाउने कारखाना बनाउन लागेको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)
यो पनि:
ट्रम्पले दबाब दिए पनि आइफोन भारतको सट्टा अमेरिकामा बनाउन कठिन!