मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमा नाकाबाट अवैध रूपमा आयात हुने माछा, अण्डा र कुखुरामा प्रतिबन्ध लगाउन जरूरी रहेको बताएका छन्।
अवैध रूपमा सीमा नाकाबाट भित्रिएका अण्डा, माछा र कुखुराको मासु खानयोग्य नरहेको बताएका हुन्। जसकारणले नेपालमा कृषकलाई पनि समस्या भइरहेको उल्लेख गरे।
जनकपुरमा शुक्रबार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री सिंहले भारतीय सीमाबाट आउने माछामा फर्मालिनको प्रयोग हुने गरेको पाइएको र त्यसले क्यान्सर निम्तिरहेको बताए।
मुख्यमन्त्री सिंहले भने, ‘हामी खुला बोर्डरमा छौँ। हाम्रो खुला सिमाना भएको हिसाबले धेरै सामानहरू यताबाट उता र उताबाट यता भइरहेको छ। त्यो चाहेर पनि हामीले रोक्न सक्ने स्थिति छैन। राष्ट्र कुखुरा, अण्डा, माछामा आत्मनिर्भर भइसकेको थियो। तथापि बोर्डरबाट अनधिकृत रूपमा आएर यहाँका किसानहरू ठूलो मर्कामा परेका छन्। माछा कस्तो आइरहेको छ भने त्यो फर्मालिन लगाएको माछा जो यहाँबाट प्याक भएर काठमाडौंसम्म जाँदो रहेछ। त्यसलाई रोक्नुपर्छ। त्यो खाएपछि क्यान्सर पक्कै लाग्छ।’
मुख्यमन्त्री सिंहले लागुऔषध नियन्त्रण नभए अहिलेको समाजमा ठूलो प्रभाव पर्ने जिकिर गरे।
प्रहरी समायोजन गर्न पनि उनले माग गरे। सरकारसँग प्रहरी नभएसम्म काम गर्न कठिन हुने उनले बताए।—न्युज एजेन्सी नेपाल