गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरूलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएका छन्।
सोमबार गृह मन्त्रालयमा बसेको बैठकले पहिरोबाट विस्थापितहरूलाई तत्काल त्रिपाल र खाद्यान्न लगायतका राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएको हो।
मन्त्री लेखकले विस्थापितहरूका लागि तत्काल हेलिकप्टरबाट राहत सामाग्री र स्थलगत अध्ययनका लागि प्राविधिक टोली समेत पठाउन निर्देशन दिएका हुन्।
बैठकमा मन्त्री लेखकले तत्काल विस्थापितहरूको खाने र बस्ने व्यवस्था गर्न र प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर रिपोर्ट तयार गर्न समेत निर्देशन दिए।
राहत तथा स्थलगत अध्ययनका लागि कर्णाली प्रदेश सरकारसित आवश्यक समन्वय गर्न मातहतका निकायलाई निर्देशन दिए।
हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमताल फुटेर लेदोसहितको पहिरोले स्थानीय विस्थापित भएका छन्।
त्यसैगरी बैठकमा मन्त्री लेखकले प्रिमनसुनपूर्व नै विपद प्रतिकार्यका लागि आवश्यक तयारी र समन्वय थाल्न निर्देशन दिएका छन्।
उनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सात वटै प्रदश र ७७ वटै जिल्लाका सुरक्षा समितिसँग बैठक छलफल गरी प्रिमनसुनपूर्व नै तयारी थाल्न निर्देशन दिएका छन्।
साथै विपद प्रतिकार्यमा निजी संघसंस्थाहरूसँग भएको स्रोत साधन र क्षमता समेत उपयोग गर्ने गरी समन्वय तथा सहकार्य गर्ने व्यवस्था मिलाउन मन्त्री लेखकले जोड दिए।
बैठकमा बोल्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले तत्काल राहत वितरणलाई अघि बढाउन जोड दिए।
उनले जलवायु परिर्वतनका कारण हिमाली क्षेत्रमा उच्च जोखिम रहेको बताए।
बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो।