अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग कुराकानी गर्नुअघि ट्रम्पलाई प्रभावित पार्न युरोपेली नेताहरूले आइतबार उनीसँग कुराकानी गरेका छन्।
रूस र युक्रेनको युद्ध रोक्नेबारे कुरा गर्न ट्रम्पले सोमबार पुटिनलाई फोन गर्ने कार्यक्रम छ।
जर्मन चान्सलर फ्रेडरिक मर्ज, फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री किअर स्टार्मरले शुक्रबारपछि ट्रम्पसँग त्यसबारे दुई पटक कुराकानी गरिसकेको फाइनान्सियल टाइम्सले लेखेको छ।
ट्रम्प र पुटिनको फोन कुराकानी रूस र युक्रेनको युद्ध रोक्न निर्णायक हुनसक्ने अपेक्षा गरिएको छ। युक्रेनको हितलाई बेवास्ता गर्दै रूसलाई फाइदा हुने पुटिनका सर्त मान्लान् भनेर चिन्तित युरोपका नेताहरूले वार्ताअघि ट्रम्पलाई प्रभावित पार्न प्रयास गरिरहेका छन्।
'राष्ट्रपति ट्रम्पको राष्ट्रपति पुटिनसँगको कुराकानीलाई मध्यनजर गर्दै नेताहरूले बिना सर्त युद्धविरामको आवश्यकता र पुटिनले शान्ति वार्तालाई गम्भीरतापूर्वक लिनुपर्नेबारे ट्रम्पसँग कुरा गरे,' स्टार्मरका प्रवक्ताले भने।
मर्जले पनि थप प्रगति हुनेछ भनेर युरोपेली नेताहरूले आशा गरेको बताएका छन्।
'मेरो दृढ विश्वास छ कि युरोपेलीहरू र अमेरिकीहरू दुवै यो भयानक युद्ध चाँडै अन्त्य होस् भनेर सँगै र अब उद्देश्यपूर्ण रूपमा काम गर्न दृढ छन्,' मर्जले थपे।
बेलायत, फ्रान्स, जर्मनी र पोल्याण्डका सरकार प्रमुखहरूले किभमा जेलेन्स्कीसँग मे ९ मा भेटेपछि ३० दिने युद्धविरामको प्रस्ताव गरेका थिए। उनीहरूले तीन दिनभित्रमा सो प्रस्ताव कुनै पनि सर्त नराखी स्वीकार गर्न रूसलाई आग्रह गरेका थिए।
पुटिनले भने सो प्रस्ताव अस्वीकार गर्दै बरू युक्रेनसँग बिहीबार टर्कीमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। त्यसपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनले प्रत्यक्ष वार्ताको लागि गरेको प्रस्तावको स्वागत गर्दै वार्तामा सामेल हुने बताएका थिए। त्यतिबेला मध्यपूर्वको भ्रमणमा रहेका ट्रम्प पनि वार्ताका लागि टर्की जान सक्ने अपेक्षा गरिएको थियो। तर, पुटिन आफै भने सो वार्तामा गएनन्। पुटिन नगएपछि जेलेन्स्की टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानलाई भेटेर फर्केका थिए।
सो वार्तामा पुटिन नगएपछि पुटिनले आफूसँग कुरा नगरी युद्ध नरोकिने जिकिर गर्दै ट्रम्पले उनीसँग फोनमा कुरा गर्ने बताएका थिए। त्यसैअनुसार ट्रम्पले सोमबार पुटिनसँग फोन गर्न लागेका हुन्।
रूस-युक्रेन युद्धविरामको मध्यस्थता अमेरिकाले गरिरहेको छ। ट्रम्पले सार्वजनिक रूपमा र निजी रूपमा युद्धविरामका लागि दुवै देशलाई दबाब दिँदै आएका छन्।
अमेरिकाको मध्यस्थतामा साउदी अरबमा अमेरिकी अधिकारीहरूले रूसी र युक्रेनी अधिकारीहरूसँग छुट्टाछुट्टै वार्ता गरेका थिए।
तर ती वार्ताहरूबाट हल ननिस्किएपछि मध्यपूर्व हेर्ने ट्रम्पका विशेष दूत स्टिभ विटकफले पटक-पटक पुटिनसँग लामा-लामा छलफल गरेर युद्धविराम सहमतिका लागि प्रयत्न गरेका थिए। तर सफल हुन सकेको छैन।
यसअघि अमेरिकाले युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्ने प्रस्ताव युक्रेनले सहजै स्वीकार गरे पनि पुटिनले सहमति दिएका थिएनन्।
पुटिनले युक्रेनलाई नेटोमा आबद्ध गर्न नहुने, सेना सीमित गर्ने र अहिलेसम्म रूसले कब्जा गरेको युक्रेनी भूभाग मात्र नभएर आफ्नो नियन्त्रणमा नभएका भागहरूको पनि स्वामित्व हुनुपर्ने माग गरिरहेका थिए।
पुटिन युद्धविरामका लागि तयार नभए रूसमाथि प्रतिबन्ध कडा बनाउँदै लैजाने ट्रम्पले चेतावनी समेत दिएका थिए।
युरोपेली मुलुकहरूले पनि रूसमाथि प्रतिबन्ध लगाउने र युक्रेनलाई थप समर्थन जुटाउने विषयमा छलफल गरेका छन्।
सोमबार ट्रम्प र पुटिनबीच हुन लागेको फोन वार्ताअघि पनि ट्रम्पलाई प्रभावित पार्न युरोपेली नेताहरूले उनीसँग कुरा गरेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)