काठमाडौंका सबैजसो रेस्टुरेन्टको मेनुमा अचेल मःम अपरिहार्य बनेको छ। पहिले यस्तो थिएन। मःम खान छुट्टै रेस्टुरेन्ट जानुपर्थ्यो।
सहरका चोक, गल्ली र कुनाकाप्चामा मःम मात्र पाइने स–साना लोकल पसल हुन्थे, जहाँ ठूलो स्टोभमाथि ठूलो भाँडामा लगातार मःम पकाइन्थ्यो। पसलभित्र छिर्नासाथ मःमको महक नाकमा ठोक्किन आइपुग्थ्यो।
त्यो बेलाका ती लोकल मःम पसल कति बन्द भइसके; कति आज पनि उसैगरी, उही रूपमा चलिरहेका छन्।
जुन उसैगरी, उही रूपमा चलिरहेका छन्; ती मःम पसलसँग धेरै मान्छेका धेरै यादहरू जोडिएका छन्।
मेरो यो शृंखला काठमाडौंका तिनै पुराना मःम पसलसँग जोडिएका याद समेट्ने कोसिस हो।
काष्ठमण्डपबाट भीमसेनस्थान जाने बाटोको मुखैमा दायाँतर्फ एउटा डबली छ। त्यो डबलीको सबभन्दा कुनामा छ — राम मःम कर्नर।
होचो ढोका भएको यो साँघुरो मःम पसल छिर्न अहिले पनि उसैगरी टाउको निहुराउनुपर्छ। अहिले पनि यहाँ एकैचोटि धेरै मान्छे अट्दैनन्। कुर्सी–टेबलहरू लगभग उस्तै छन्। र उस्तै छ, यहाँको स्वाद।
यो मःम पसलको सुरूआत आजभन्दा ४० वर्षअघि भएको हो।
स्थानीय राम श्रेष्ठले हनुमानढोका दरबारको ठ्याक्कै अगाडि लक्ष्मीनारायण मन्दिरमुनि सडकमा बसेर मःम व्यवसाय सुरू गरेका थिए। उनी त्यति बेला पातको टपरीमा मःम बेच्थे। हरेक साँझ राम दाइको हातबाट टपरीमा मःम खानेहरूको भिड लाग्थ्यो।
केही वर्ष सडकमा मःम बेचेपछि उनले काष्ठमण्डप छेउको डबलीमा पसल राखे। उनले खोलेको पसल अहिले पनि जस्ताको तस्तै छ। उनले बेच्ने मःम अहिले पनि जस्ताको तस्तै छ। तर राम श्रेष्ठ छैनन्।
करिब पाँच वर्षअघि उनको मृत्यु भयो। अहिले यो पसल उनका छोराले चलाउँछन्।
'अहिले सबैका लागि राम दाइ नै मै भइसकेँ,' छोरा ध्रुव श्रेष्ठले भने, 'आज पनि बुबाको पालाका ग्राहकहरू मःम खान आउँछन्। बुबा खोई त भनेर सोध्छन्। नयाँ ग्राहकहरूले चाहिँ पसलको नाम हेरेर मलाई नै राम दाइ भन्छन्।'
उनका अनुसार राम पहिले रेस्टुरेन्टमा जागिर खान्थे। आफ्नै व्यवसाय गर्ने सोच आएपछि जागिर छाडेर मःम व्यवसाय सुरू गरे।
'बुबाले जागिर खाएको त मैले थाहा पाइनँ। टपरीमा मःम बेचेको पनि मैले देखिनँ। म जन्मिँदा उहाँले यो पसल खोलिसक्नुभएको थियो,' ३९ वर्षीय ध्रुवले भने, 'म यही पसलमा बुबाले मःम बनाएको हेर्दै हुर्केको हुँ।'
उनले अगाडि भने, 'मैले थाहा पाएसम्म सुरूमा यहाँ एक प्लेट मःम १० रूपैयाँमा पाइन्थ्यो।'

ध्रुवले सानैदेखि मःम व्यापारमा सघाए पनि ठूलो भएपछि यही काम गर्छु भन्ने सोचेका थिएनन्। उनलाई पढाइ सकेर विदेश जाने इच्छा थियो। उनले नेपाल टेलिकम लगायत अरू एक–दुई ठाउँमा काम पनि गरेका थिए। तर विदेश जाने योजना पूरा नभएपछि र जागिरमा खासै सन्तोष नलागेपछि उनले बुबाकै बाटो समाते।
'अर्काको जागिर खानुभन्दा त बुबाले भनेजस्तै आफ्नै काम गर्नु ठिक हो भन्ने लाग्यो,' उनले भने, 'त्यसपछि यही पसल सम्हाल्ने निधो गरेँ।'
उनले यो पसल सम्हाल्न थालेको २०७२ को भुइँचालोपछि हो। त्यति बेला पसल भएको पुरानो घरमा नराम्ररी क्षति पुगेको थियो। घर पुनर्निर्माण क्रममा करिब एक वर्ष पसल बन्द गर्नुपर्यो। जब खुल्यो, तब यसको जिम्मेवारी ध्रुवले सम्हाले।
नयाँ ढंगले मःम व्यवसाय गर्ने सोच बनाएर बुबाको हातबाट जिम्मेवारी लिएका भए पनि अहिलेसम्म खासै केही नयाँ गर्न नसकेकोमा उनलाई थकथकी छ।
उनले बुबाकै पालादेखि बेच्दै आएको बफ (राँगाको मासु) मःमलाई नै निरन्तरता दिइरहेका छन्। बिस्तारै चिकेन, भेज लगायत विभिन्न किसिमका मःम बेच्ने उनको योजना छ।
नयाँ केही गर्न नसके पनि बुबाको पालादेखि जुन गुणस्तरको मःम र जुन स्वादको अचारका लागि यो पसल लोकप्रिय थियो, त्यसलाई भने ध्रुवले बचाएर राखेका छन्।
मःमका पारखीहरूको निम्ति मःमको डल्लोभन्दा अचारको महत्त्व विशेष हुन्छ। अचारको स्वादले नै मःम मिठो वा नमिठो बनाउँछ। पुराना ग्राहकहरू अचारको स्वाद सम्झेरै यहाँ आउने गरेको उनी बताउँछन्।
'कोही यहाँ हामी बुबासँग आउँथ्यौं भन्छन्, कोही चाहिँ यहाँ बच्चा बेला मःम खाएका थियौं भन्दै आउँछन्,' ध्रुवले भने, 'मःम र अचारको स्वाद अहिले पनि उस्तै रहेछ भनेर खुसी मान्छन्। म उनीहरूको खुसी देखेर दंग पर्छु।'
'हाम्रो मःमको स्वाद तीन पुस्ताले चाखिसकेको छ,' उनले अगाडि भने, 'मान्छेको सम्झना भनेको ठाउँ र स्वादसँग पनि जोडिएको हुँदो रहेछ।'
कतिपय ग्राहक त यस्ता पनि आउँछन्, जसले लक्ष्मीनारायण मन्दिर अगाडि राम दाइको हातबाट टपरीमा मःम खाएका थिए। उनीहरू अहिले पनि सालको पातमा मःम खान पाए हुन्थ्यो भन्छन्।
स्थानीय सँगसँगै केही विदेशी ग्राहक पनि आउँछन्। एक जना जापानी नागरिक त हरेकचोटि नेपाल आउँदा मःम खान आउने गरेको ध्रुवले बताए।
उनका अनुसार पुराना ग्राहकको दाँजोमा नयाँ भने कम आउँछन्। यो पसल साँघुरो र होचो भएकाले अहिलेको नयाँ पुस्तालाई खासै आकर्षित गर्दैन। तर अघिल्लो पुस्ताको मुखबाट चर्चा सुनेर एकचोटि यहाँको मःम चाख्नेहरू भने बारम्बार आउने ध्रुवको अनुभव छ।
'पहिलेको दाँजोमा ग्राहक धेरै कम भइसके,' उनले भने, 'अचेल खाजाका विकल्प अनेक छन्। मान्छेहरू फेरि फेरि खाजा खान चाहन्छन्। हामीकहाँ मःमबाहेक केही पाइँदैन।'
त्यसबाहेक महँगा रेस्टुरेन्टहरूले जस्तो पसल झकिझकाउ बनाउन नसकेकाले पनि नयाँ पुस्ताका ग्राहक तान्न नसकेको हो कि भन्ने उनलाई लाग्छ।
'मान्छेहरू अचेल स्वादभन्दा रेस्टुरेन्टको वातावरणमा ध्यान दिन्छन्। कोही कोही त फोटो खिचाउनकै लागि मात्र रेस्टुरेन्टमा छिर्छन्। त्यस्ता ग्राहकलाई हामीले फोटो खिचाउने वातावरण दिन सकेका छैनौं। बुबाकै पालादेखि हाम्रो ध्यान मःमको गुणस्तर र अचारको स्वादमै केन्द्रित रह्यो,' उनले भने।
यति हुँदाहुँदै यहाँ ग्राहकको कमी भने छैन। दिउँसो २ देखि राति ९ बजेसम्म खुल्ने यो पसलमा साँझको समय राम्रै ग्राहक आउँछन्। एक प्लेट मःमको १२० रूपैयाँ पर्छ। यो अरू धेरै ठाउँभन्दा सस्तै हो।
ध्रुवका अनुसार उनी अहिले दिनको साढे तीन सयदेखि चार सय प्लेट मःम बेच्छन्। यो पहिलेको दाँजोमा धेरै कम भएको उनको भनाइ छ। बुबाको पालामा दिनकै आठ–नौ सय प्लेट मःम बेचेको उनलाई सम्झना छ।
यहाँ ध्रुवबाहेक ६ जना कर्मचारी छन्। उनीहरूको तलबमा महिनाको डेढ लाख रूपैयाँ जति जान्छ। घर भाडा महिनाको ६५ हजार रूपैयाँ छ। सबै खर्च कटाएर हुने आम्दानीबाट उनी सन्तुष्ट छन्।
'यो पसलले नै मलाई चिनाएको छ,' उनले भने, 'त्यसैले यो छाडेर अरू काम गर्नेबारे त सोच्नै सक्दिनँ। बरू अरू किसिमको मःम थपेर पसल विस्तार गर्ने सोचमा छु।'
***