बंगलादेशसँगको सम्बन्ध बिग्रँदै गएपछि भारतले स्थल मार्गबाट हुने बंगलादेशी तयारी कपडा (गार्मेन्ट) आयातमा रोक लगाएको छ।
भारतको विदेश व्यापार महानिर्देशनालयले शनिबार एक सूचना जारी गर्दै यस्तो बन्देज लगाएको हो। यसले बंगलादेशको तयारी कपडा उद्योगमा गम्भीर असर पार्नेछ। बंगलादेशबाट भारत निर्यात हुने करिब ७० करोड डलर मूल्यको तयारी कपडामध्ये लगभग ९३ प्रतिशत स्थल मार्ग हुँदै आउँछ।
यो निर्णयले बंगलादेशबाट भारत हुने निर्यातमा झन्डै ४२ प्रतिशत असर गर्ने भारतीय सञ्चार माध्यमहरूले लेखेका छन्। बंगलादेशबाट नेपाल र भुटानतर्फ निर्यात हुने वस्तुलाई भने रोक लगाइएको छैन।
महानिर्देशनालयले बंगलादेशबाट त्रिपुरा, असम, मेघालय र मिजोरमका स्थल बन्दरगाहमार्फत् विभिन्न वस्तु भारत प्रवेश गर्न रोक लगाउने आदेश पनि दिएको छ।
भारतीय पत्रिका 'द हिन्दु' का अनुसार यसरी रोकिएका वस्तुमा तयारी कपडा, प्लास्टिक, काठको फर्निचर, जुस, कार्बोनेटेड पेय पदार्थ, फलफूलको स्वादका पेय, बेकरी, कन्फेक्सनरी, सुती धागो र रङहरू समावेश छन्।
भारतको यो कदमले बंगलादेशमा अन्तरिम सरकार चलाइरहेका नोबेल विजेता मोहम्मद युनुसलाई अप्ठ्यारो पर्ने अनुमान गरिएको छ।
बंगलादेशमा १५ वर्षदेखि एकछत्र सत्ता चलाएकी शेख हसिना गत अगस्टमा राजीनामा दिएर भारत भागेकी थिइन्। त्यसयता युनुसले सत्ता चलाइरहेका छन्।
उक्त परिवर्तनपछि बंगलादेशको अर्थतन्त्र वार्षिक रूपमा हिसाब गर्दा दुई प्रतिशत मात्र बढेको छ। राजनीतिक अस्थिरताका कारण प्रत्यक्ष विदेशी लगानी ७० प्रतिशतभन्दा बढीले घटेको मानिन्छ। अर्थतन्त्र उकास्न बंगलादेशले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) गुहारेको छ।
सन् २०२२ फेब्रुअरीमा रूसले युक्रेनमाथि हमला गरेपछि तेलको मूल्य बढेको थियो। त्यसले बंगलादेशको अर्थतन्त्रमा समस्या देखिएपछि सन् २०२३ मा हसिनाले आइएमएफसँग चार अर्ब ७० करोड डलर लिने सम्झौता गरेकी थिइन्। त्यसैअनुसार पछिल्लो किस्तास्वरूप जुन महिनामा एक अर्ब ३० करोड डलर पाउने अपेक्षा गरिएको छ।
यसबीच भारतले चालेको पछिल्लो कदमले आइएमएफको अर्को किस्ता आएपछि पनि अर्थतन्त्रको समस्या समाधान गर्न युनुसलाई अप्ठ्यारो हुने देखिन्छ।
बंगलादेशले अप्रिल १३ मा स्थल बन्दरगाहबाट आउने भारतीय सुती धागोमा रोक लगाएको थियो। त्यसैको जबाफमा भारतको व्यापार महानिर्देशनालयले अहिलेको कदम चालेको बताएको छ।
तर कारण यति मात्र देखिँदैन।
बंगलादेश स्वतन्त्र हुनु अघिदेखि हसिनाको अवामी लिगसँग भारतको राम्रो सम्बन्ध थियो। उनी सत्ताच्यूत भएपछि युनुसले भारतलाई चिढ्याउने गरी चीन र पाकिस्तानसँग सम्बन्ध विस्तार गरेका छन्।
हसिनाले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुसी पार्न बंगलादेशमा अतिवादी मुसलमान समूहलाई नियन्त्रण गरेकी थिइन्। त्यसको बदलामा भारतले उनलाई आँखा चिम्लेर समर्थन गरेको थियो। लोकतन्त्र र मानवअधिकार उल्लंघन गर्दै विपक्षीलाई चरम दमन गरेको भनेर अमेरिका लगायत पश्चिमा देशले विरोध गर्दा पनि भारतले उनलाई जोगाएको थियो।
यसविपरीत युनुसले जमात–ए–इस्लामी दल लगायत अतिवादी मुसलमान समूहमाथि हसिना सरकारले लगाएको प्रतिबन्ध हटाइदिएका छन्। त्यस्तै, बंगलादेशमा रहेका हिन्दु अल्पसंख्यकमाथि पनि आक्रमण भइरहेको भारतको दाबी छ।
अर्कातर्फ भ्रष्टाचार र विपक्षीमाथि चरम दमन गरेको भन्दै विभिन्न मुद्दा खेपिरहेकी हसिना अहिले भारतको शरणमा छिन्। उनलाई भारतले बंगलादेश बुझाउन नमानेकाले पनि त्यहाँको सरकार भारतसँग रूष्ट छ।
केही दिनअघि बंगलादेशले हसिनाको अवामी लिगलाई प्रतिबन्ध लगाएपछि दुई देशको सम्बन्धमा थप तनाव आएको थियो। भारतले उक्त प्रतिबन्धको विरोध गरेको थियो।
'प्रजातान्त्रिक मुलुक भएकाले भारत स्वाभाविक रूपले प्रजातान्त्रिक स्वतन्त्रतामा कटौती र खुम्चँदो राजनीतिक स्थानका कारण चिन्तित छ,' भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले त्यसबारे प्रतिक्रिया जनाउँदै भनेका थिए।
बंगलादेशले भारतको टिप्पणीप्रति तुरून्तै कडा प्रतिक्रिया जनाएको थियो।
आवामी लिगमाथि प्रतिबन्ध लगाउनु आफ्नो अन्तरिक मामिला भएको भन्दै बंगलादेशले राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ताका लागि उक्त कदम चालिएको बताएको थियो।
यसबाहेक युनुसले मार्च अन्त्यमा चीन भ्रमण गर्दा गरेको टिप्पणीले पनि भारत धेरै चिढिएको बताइन्छ। चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका युनुसले बंगलादेशलाई दक्षिण एसियामा चीनको आर्थिक प्रभाव विस्तार गर्ने आधारका रूपमा प्रस्ताव गरेका थिए।
त्यति मात्र नभएर भारतका सात उत्तरपूर्वी राज्यहरू भूपरिवेष्ठित भएको टिप्पणी गर्दै बंगलादेशले मात्र त्यो क्षेत्रलाई बंगालको खाडीमा पहुँच दिन सक्छ भनेका थिए।
भारतका उत्तरपूर्वी राज्यहरूमा दशकौंसम्म भएको हिंसात्मक आन्दोलनमा बंगलादेश र चीनले सहायता गरेको आरोप भारतले लगाउने गर्थ्यो। भारतका अरू भूभागबाट उत्तरपूर्वी राज्यहरू अलग्गैजस्ता छन्। 'कुखुराको घाँटी' भनेर चिनिने साँघुरो 'सिलिगुडी करिडोर' ले यी राज्यलाई भारतसँग जोड्छ। सबभन्दा फराकिलो ठाउँमा पनि उक्त करिडोर २२ किलोमिटर मात्र चौडा छ। चीनबाट केही किलोमिटर मात्र दूरीमा रहेको उक्त करिडोरको नेपाल र बंगलादेशसँग पनि सीमा जोडिएको छ।
भारतसँग युद्ध भए चीनले उक्त करिडोर कब्जा गरेर उत्तरपूर्वी राज्यहरूसँग आफ्नो सम्पर्क तोड्छ भन्ने भारतलाई डर छ। त्यही भएर नै यसलाई 'कुखुराको घाँटी' भनिन्छ। अहिले ती राज्यहरूमा हिंसात्मक आन्दोलन केही सेलाएको भए पनि युनुसले त्यस्तो संवेदनशील मामिलामा, त्यो पनि चीनमा गएर टिप्पणी गरेकाले भारत रिसाएको मानिन्छ।
भारतको त्यस्तो संवेदनशील भूभागबारे उल्लेख गर्दै युनुसले चीनलाई बंगालको खाडीमा आउन निमन्त्रणा दिएका थिए। चीनको बंगलादेशी बन्दरगाहमा पहुँचलाई भारतले आफ्नो सुरक्षामा खतरा ठानेको छ।
युनुसले त्यस्तो टिप्पणी गरेको एक साता नबित्दै बिमस्टेक बैठकका लागि बैंकक गएका बेला मोदी र उनको भेट भएको थियो। युनुसले त्यसअघि भेट्न प्रयास गरे पनि मोदीले भेट नदिएको मानिन्थ्यो। तर चीनमा त्यस्तो अभिव्यक्ति दिएपछि युनुसलाई भेट्न मोदी राजी भएका थिए।
उक्त भेटमा युनुसले चीनमा गरेको टिप्पणीप्रति इसारा गर्दै वातावरण बिग्रिने खालको अभिव्यक्ति नदिन र बंगलादेशमा अल्पसंख्यक हिन्दुको सुरक्षाको विषय मोदीले उठाएको मानिन्छ। त्यस्तै, युनुसले हसिनालाई बंगलादेश बुझाउन र सन् २०२६ मा नवीकरण हुनुपर्ने गंगा नदी सन्धि लगायत जलस्रोत बाँडफाँटको विषय उठाएको मानिन्छ।
त्यो भेटको केही दिनमै भारतले अरू देशहरूलाई वस्तु निर्यात गर्न आफ्ना बन्दरगाह बंगलादेशलाई प्रयोग गर्न दिएको अनुमति खारेज गरेको थियो।
भारतसँग राम्रो सम्बन्ध भएकी हसिनाको अनुरोधमा मोदीले सन् २०२० मा भारतीय संरचना प्रयोग गरेर मध्य–पूर्व र युरोप लगायत अरू देशमा बंगलादेशी सामान निर्यात गर्ने सुविधा दिएका थिए।
मोदीले उक्त सुविधा रोकेकाले युनुससँग उनको वार्ताको राम्रो परिणाम ननिस्किएको देखिन्थ्यो। बंगलादेशलाई सचेत पार्न उसको वैदेशिक व्यापारमा प्रभाव पार्ने कदम भारतले चालेको थियो।
त्यसको केही दिनमै बंगलादेशले स्थल बन्दरगाहमार्फत हुने भारतीय सुती धागोको आयात रोकेको थियो। त्यसको एक साता नबित्दै १५ वर्ष अन्तरालपछि पहिलोपटक बंगलादेश र पाकिस्तानका विदेश मन्त्रालय अधिकारीहरूले वार्ता थालेका थिए।
यसबीच केही दिनअघि अवामी लिगलाई प्रतिबन्ध लगाउनु र त्यसबारे भारतले प्रतिक्रिया जनाउँदा रूखो टिप्पणी गरेपछि बंगलादेश आफूसँग सम्बन्ध सुधार गर्न नचाहेको भनेर भारतले बुझेको छ। त्यसैले स्थलमार्गबाट हुने बंगलादेशी तयारी कपडा लगायत आयात रोक्ने निर्णय लिएको देखिन्छ।
यसले लामो समयदेखि सुमधुर रहेको दुई देशको सम्बन्धमा अझै तनाव थपिनेछ। स्वतन्त्रता दिलाउन मुख्य भूमिका खेलेको भारतलाई चिढ्याउनाले बंगलादेशलाई अझ नोक्सानी हुने देखिन्छ।
ब्रिटिसले भारत र पाकिस्तान विभाजन गर्दा बीचमा भारत पर्ने गरी पूर्वी र पश्चिमी पाकिस्तान बनाएका थिए। अहिलेको पाकिस्तान पश्चिममा पर्थ्यो भने बंगलादेश पूर्वी पाकिस्तान थियो। क्षेत्रफल र सत्ता-शक्तिका हिसाबले पश्चिमी पाकिस्तान केन्द्र थियो। जनसंख्या भने पूर्वमा धेरै थियो। दुवैतिर प्राय: सबै मुसलमान भए पनि सांस्कृतिक रूपमा पश्चिम र पूर्वी पाकिस्तान फरक थिए। पश्चिममा उर्दू बोलिन्थ्यो, पूर्वमा बंगाली।
भाषाकै कारण हेपिनुपरेपछि हसिनाका बुबा शेख मुजिबुर रहमानको नेतृत्वमा पूर्वी पाकिस्तानमा गृहयुद्ध नै सुरू भयो।
सुरूमा भारतले पूर्वी पाकिस्तानका विद्रोहीहरूलाई तालिम र हतियार दिएको थियो। पछि १९७१ डिसेम्बर ३ मा उसले पूर्वी पाकिस्तानमा आफ्नो सेना नै पठायो। त्यसको १३ दिनपछि पूर्वी पाकिस्तानको विद्रोह दबाइरहेको पाकिस्तानी सेनाले भारतसँग आत्मसमर्पण गर्यो। अनि डिसेम्बर १६ मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भयो।
भारतसँग बुबाकै पालादेखि धेरै निकट सम्बन्ध भए पनि हसिनाले चीनसँग पनि सम्बन्ध विस्तार गरेकी थिइन्। चीनसँग व्यापार विस्तार गर्दै उनले चिनियाँ लगानीसमेत भित्र्याएकी थिइन्। भारतलाई विश्वासमा लिएर चीनबाट हतियार पनि किनेकी थिइन्।
युनुसले भने चीनसँग सम्बन्ध विस्तार गर्ने नाममा भारतलाई चिढ्याएका छन्। दुवैसँग सन्तुलित सम्बन्ध नराखेर टाढाको चीनलाई खुसी पार्न दैलोमा रहेको भारतलाई बिच्क्याएका छन्। यसले आगामी दिनमा उनलाई थप चुनौती आउने देखिन्छ।
***