अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले हुम्ला, तिलगाउँको तिल्चुङ खोलामा आएको लेदोसहितको बाढी 'थर्मोकार्स्ट' का कारण भएको निष्कर्ष निकालेको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक सोमबार सिंहदरबारमा बसेको थियो।
बैठकमा गृहमन्त्री रमेश लेखक, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्ट, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी लगायत सहभागी थिए।
अहिलेसम्म प्राप्त भू–उपग्रह प्रणालीमार्फत उपलब्ध तस्बिर, तिलगाउँका स्थानीयहरूले सोमबार त्यस क्षेत्र पुगेर खिचेर ल्याएका श्रव्यदृश्य सामग्रीहरूको आधारमा इसिमोडले तिल्चुङ खोलाको जलाधार क्षेत्रमा हिमताल बिस्फोट नभएको र थर्मोकार्स्टकै कारण बाढी उत्पन्न भएको निचोड प्रस्तुत गरेको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए।
'तिल्चुङ खोलामा जहाँबाट बाढी उत्पन्न भयो, त्यहाँका पाँच जना स्थानीय पुग्नुभएको रहेछ। उहाँहरूले खिचेको दुइटा तालजस्तो ठाउँका तस्बिर र त्यसको भिडिओ पठाउनुभएको रहेछ। र, इसिमोडले आफैले पनि संकलन गरेको भू–उपग्रह तस्बिरका आधारमा बाढीको कारण थर्मोकार्स्ट नै हो भन्ने उहाँहरूको निष्कर्ष छ,' केसीले भने।
-1747670433.jpeg)
यसबारे इसिमोडका जलवायु तथा वातावरणीय जोखिम वरिष्ठ सल्लाहकार डा. अरूणभक्त श्रेष्ठलाई पनि हामीले सोध्यौं।
उनले पनि त्यस क्षेत्रको भू–उपग्रह तस्बिर र स्थानीयहरूले ल्याएको श्रव्यदृश्य सामग्रीको आधारमा इसिमोडले थर्मोकार्स्ट नै भएको प्रारम्भिक निष्कर्ष निकालेको बताए।
'स्थानीयहरूले पुगेर ल्याएको तस्बिरमा प्रस्टै देखिएको छ। तालजस्तो बनेको दुइटा ठाउँको माथिल्लो सतहको हिउँ चर्किएर दबिएझैं देखिएको छ। त्यहाँ पानीको मात्रा छैन। हिउँ मात्रै छ। यस्तो अवस्थामा तालजस्तो स्थानमुनि दरार बन्ने र त्यहाँबाट (हिउँले अँठ्याएर राखेको माटो, चट्टान अन्य भू–सामग्री) बाहिर निस्कएर बाढीको रूप लिने अवस्था हुन्छ। त्यसलाई हामी थर्मोकार्स्ट भन्छौं,' उनले भने।
अहिलेसम्म उपलब्ध र प्राप्त सामग्री अध्ययन गर्दा त्यहाँ हिमताल बिस्फोट भने नभएको डा. श्रेष्ठले जानकारी दिए।
'त्यहाँ ताल बिस्फोट भएको होइन। हिमताल बनेको ठाउँमा मोरिन (तालको प्राकृतिक बाँध (जहाँको जमिनलाई हिउँले सिमेन्टेड शैलीमा समातेर राखेको हुन्छ) देखिन्छ। त्यहाँ हिउँ पग्लिएर बनेको पोखरीको मुनिपट्टिको भागमा रहेको पर्माफ्रस्ट नै पग्लिँदै कुनै ठाउँबाट निस्किएर तटीय क्षेत्रमा बाढी आएको देखिन्छ,' उनले भने।
बाढी उत्पत्ति भएको ठाउँमुनिको जमिन निकै कमजोर र भिरालो समेत भएकाले पर्माफ्रस्ट पग्लिँदै ठूलो भेलबाढीको रूप लिएको इसिमोडले प्रारम्भिक अनुमान गरेको छ।
डा. श्रेष्ठले त्यस क्षेत्रमा विस्तृत अध्ययन आवश्यक रहेको र प्राधिकरणले नै त्यसको अग्रसरता लिनुपर्ने बताए।
प्राधिकरणको सोमबार बसेको बैठकले तिल्चुङ खोलामा आएको बाढीबाट विस्थापित भएकाहरूको उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ। त्यसका लागि जिल्ला विपद व्यवस्थापन समिति मार्फत तत्कालै खाद्यान्न, गैरखाद्यान्न लगायत राहत सामग्री पठाउने निर्णय भएको प्राधिकरणका प्रवक्ता केसीले बताए।
'त्यहाँ खाद्यान्न, गैरखाद्यान्न लगायत राहत सामग्री परिचालन गर्ने निर्णय भएको छ। आजको बैठकमा तीनवटै सुरक्षा अंगका प्रमुखहरू उपस्थित हुनु हुन्थ्यो। उहाँहरूले सहजीकरण गर्नु हुनेछ,' केसीले भने।
अर्को तिल्चुङ खोलाको जलाधार क्षेत्र लगायत अन्यत्र पनि जोखिममा रहेका हिमताल, तलैयाहरूको अध्ययन गर्ने र त्यसका लागि इसिमोड लगायत त्यस क्षेत्रमा काम गरिरहेका संघ–संस्थाहरूको सहयोग लिने निर्णय भएको उनले बताए।
गत जेठ १ गते हुम्लाको तिलगाउँमा लेदो सहितको बाढी आएको थियो। बाढीले १५ किलोवाट क्षमताको जलविद्युत आयोजना, दुइटा घर, सिँचाइ कुलो, पाँच वटा काठेपुल, बाटोमा क्षति पुर्याएको थियो।
विस्थापितहरूलाई बस्ती नजिकैको हिमशिखर स्कुलमा राखिएको छ। बाढीका १८ घरधुरीका ३३ जना विस्थापित भएका छन्।
करिब ५४ सय मिटर उचाइमा रहेका ठाउँबाट बाढी उत्पत्ति भएकाले त्यस क्षेत्रका सुरक्षाकर्मी पुग्न सकेका छैनन्।
आइतबार तिलगाउँ पुगेका जनपद, सशस्त्र प्रहरीले क्षतिको विवरण संकलन गरेर फर्किएका थिए।
स्थानीय पाँच जनाको समूह ताल बिस्फोटको आशंकामा तिल्चुङ बाढीको उत्पत्ति नै भएको ठाउँमा पुगेर फर्किएको थियो।
यो पनि पढ्नुस्ः