प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकारले ल्याएको नीति तथा कार्यक्रम विगतका नीति कार्यक्रमकै कपि पेस्ट भएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै ढकालले त्यसमा समावेश भएका कामहरूमा ठोस कुरा नलेखिएको र लेखिएका कुराहरू पनि सरकारले गर्न नसक्ने दाबी गरेका हुन्।
सरकारका नीति तथा कार्यक्रमले संसदलाई निराश तुल्याएको उनले बताए। बरू अहिले सरकारले जे-जे गरिरहेको छ ती कुराहरूलाई चाहीँ नीति तथा कार्यक्रममा उल्लेख नगरिएको भन्दै उनले व्यंग्य गरे।
'नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँधिन्छ, रवि लामिछाने, रेशम चौधरी लगायतलाई अवैधानिक तरिकाले नियन्त्रण गरिन्छ भनेर लेखेको भए हुन्थ्यो,' उनले भने।
उनले राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई दलीय भागबन्डा गरिएको विषयमा पनि आलोचना गरे।
'राष्ट्र बैङ्क त काँग्रेसको भागमा भन्दै खुल्लमखुल्ला बहस गरिन्छ । धितोपत्रको अध्यक्ष एमालेले लयो रे, त्यो पनि लेखेको भए हुन्थ्यो,' उनले भने।
सांसद ढकालले सदनको सिर्जनालाई मारेर आरोप र प्रत्यारोपको बहस गराइने थलो मात्रै बनाइएको उनले बताए। 'कि रक्सी मैले चोरेको होइन भनेर बहस गराइन्छ भनेर लेखेको भए हुन्थ्यो। निराश बनाइको छ सदनलाई,' उनले भने। -न्युज एजेन्सी नेपाल