भारतले पाकिस्तानमा आक्रमण गरेको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का नेताहरूमा मतभेद देखिएको छ।
बुधबार राति भारतले पाकिस्तानमाथि गरेको मिसाइल आक्रमणबारे माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी तहकै नेताहरूले फरक फरक अभिव्यक्ति दिएका हुन्।
महासचिव देव गुरूङले भारतले पाकिस्तानमाथि गरेको हमलाको विरोध जनाउँदा उपमहासचिव जनार्दन शर्माले समर्थन जनाएका छन्।
महासचिव गुरूङले भारतले पाकिस्तानमाथि गरेको मिसाइल आक्रमण पहलगाम हमलाको जबाफ भने पनि त्यसमा पाकिस्तानको संलग्नता पुष्टि भइनसकेको बताएका छन्।
उनले आतंककारी गतिविधिको विरोध गर्नुपर्ने तर पहलगाम घटनामा संलग्नता पुष्टि नभई पाकिस्तानमाथि आक्रमण गर्नु न्यायोचित नहुने बताएका छन्।
'अतः त्यस प्रकारको सैन्य कार्यबाहीहरु अविलम्ब बन्द गरी दुवै मुलुकबीच संवाद गरिनुपर्छ। पलगाम हत्या काण्डबारे स्वतन्त्र प्रकारको अन्तरराष्ट्रिय कमिसन गठन गरी छानबिन गरिनुपर्छ,' उनले लेखेका छन्।
महासचिव गुरूङले भारत पाकिस्तान दुवै छिमेकी मुलुक भएका कारण संयुक्त राष्ट्रसंघको वडापत्र र पन्चशीलको सिद्वान्तका आधारमा नेपाल मौन बस्न नमिल्ने बताएका छन्।
'नेपालले युद्व होइन, शान्तिको पक्ष लिनै पर्छ। शान्तिको लागि आफ्नो दायित्व निर्वाह गर्नै पर्दछ,' उनले लेखेका छन्।
उपमहासचिव जनार्दन शर्माको भने फरक तर्क छ।
उनले आतंकवादविरूद्ध लड्नु सबै राष्ट्रको कर्तव्य हुने बताएका छन्।
'भारतले आतंकवाद विरुद्ध "अपरेसन सिन्दूर" सञ्चालन गरेको छ। आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो। आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो। साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवस्यक छ,' उनले लेखेका छन्।
नेपालले भारत-पाकिस्तान तनावबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन। चीन, अमेरिका, रूस लगायतका देशहरूले दुवै देशलाई संयम रहन आह्वान गरेको छ। फ्रान्सले भारतको पक्ष लिएको छ।
बुधबार भारतले पाकिस्तानका विभिन्न ९ वडा स्थानहरूमा लक्ष्य गरी हवाइ आक्रमण गरेको थियो। भारतको आक्रमणमा कम्तिमा ३१ जना पाकिस्तानीहरूको मृत्यु भएको पाकिस्तानको सेनाले जनाएको छ।
जम्मू-कश्मिर क्षेत्रमा पाकिस्तानी सेनाको बमबारीमा १० जना भारतीयको मृत्यु भएको बताइएको छ।