नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले आन्दोलनरत नेपाल शिक्षक महासंघसँग चरणबद्ध संवाद भइरहेको भन्दै बुधबारसम्म निष्कर्षमा पुगिने बताएका छन्।
नेपाल शिक्षक संघका जिल्ला अध्यक्षहरू र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिहरू सँग कुराकानी गर्दै उनले सोमबार यताका पटक-पटकका वार्तापछि सरकार, संयन्त्र, राजनीतिक दल र शिक्षक नेता सहमतिनजिक पुगेको बताएका हुन्।
'आन्दोलनरत शिक्षक भोलिसम्म कार्यस्थल फर्किने गरी नेपाल शिक्षक महासंघसँग गम्भीर रूपले वार्ता परिणाममुखी हुने गरी गृहकार्य भइरहेको छ,' महरले भने।
कांग्रेसबाट शिक्षकका माग सम्बोधनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका महरले मंगलबार बिहान शिक्षक नेताहरू सँगको भेटमा राजनीतिक दल माग सम्बोधनमा सकारात्मक रहेकाले छिट्टै निष्कर्षमा पुगिने बताएका हुन्।
तत्काल पूरा गर्न सकिने मागलाई सहमति गरी मन्त्रिपरिषद्बाट सम्बोधन हुने र विद्यालय शिक्षा ऐन जारीको अवधि निश्चित गर्ने तयारी भइरहेको उनको भनाइ छ।
शिक्षकको सम्मान हुने गरी शिक्षा भित्रका थुप्रै समस्या सम्बोधन हुने उनले बताए।
सोमबार राति मन्त्रालयबाट निस्किँदै नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल भएको र केही छलफल आवश्यक रहेको बताएका थिए। यद्यपि शिक्षा ऐन जारी गर्न माग गर्दै २८ दिनदेखि शिक्षकले काठमाडौंकेन्द्रित सडक आन्दोलनलाई जारी नै राखेका छन्।