नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले तीन महिनाभित्रै महाधिवेशन गराउन प्रतिबद्ध रहेको बताएको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले १२ औं महाधिवेशनका लागि केन्द्रीय समिति प्रतिबद्ध रहेको बताएको हो।
‘नेविसंघको १२ औं महाधिवेशन सम्पन्न हुन नसक्नुका प्राविधिक कारणहरूको गम्भीर समीक्षा गर्दै उब्जिएका समस्या समाधानका उपायहरूका सन्दर्भमा निर्देशन समितिसँग आवश्यक परामर्श गरी तीन महिनाभित्र महाधिवेशन सम्पन्न गराउन केन्द्रीय कार्यसमिति प्रतिबद्ध रहेको आम विद्यार्थी साथीहरूमा जानकारी गराउन चाहन्छु,’ अध्यक्ष दुजाङ शेर्पाले भने।
नेविसंघले चैत ५ को स्ववियु निर्वाचनमा होमिनुपरेकोले पनि महाधिवेशनको काम रोकिन पुगेको बताउँदै आएको छ। तैपनि ६६ जिल्लामा जिल्ला कार्यसमिति गठन गरिएको र अधिकांश क्याम्पस इकाइ पनि गठन भइसकेको उनको भनाइ छ।
महाधिवेशन गर्नका लागि सदस्यता वितरणजस्ता आवश्यक प्रारम्भिक कार्यहरू सम्पन्न गरिसकिएको पनि अध्यक्ष शेर्पाले बताए।
प्रवक्ता सुरज सेजुवालका अनुसार १२ औं महाधिवेशनको प्रस्तावित मितिसहित प्रतिवेदन कांग्रेसलाई बुझाइसकिएको छ। महाधिवेशनलाई यथाशीघ्र गर्न आफूहरू तयार रहेको पनि उनले बताए।
‘स्ववियु निर्वाचनमा होमिनुपर्दा महाधिवेशन तोकिएको समयमा हुन सकेन,’ उनले भने, ‘हामीले कांग्रेसलाई महाधिवेशनको प्रस्तावित कार्यतालिका पनि पेस गरिसकेका छौं।’
कांग्रेसले चैतभित्र महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थालाई प्रतिवेदन बुझाउन भनेको थियो।