परराष्ट्र मन्त्री आरजु राणाले सुदूरपश्चिम प्रदेश अहिले मानव विकास सूचकांकमा निकै तल रहेकाले यसमा उल्लेखनीय सुधार हुने गरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्ने बताएकी छन्।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आइतबार काठमाडौंमा आयोजित आ.व. २०८२/०८३ का लागि संघीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरू विषयक अन्तर्क्रियामा उनले भनिन्, ‘प्रादेशिक तुलना गर्दा नेपालको मानव विकास सूचकांकमा सुदूरपश्चिम प्रदेश धेरै तल छ। मलाई लाग्छ हाल छैठौँ स्थानमा रहेको अवस्थामा उल्लेख्य सुधार गरेर माथि ल्याउन सकिने गरी हामीले आगामी ओजना र कार्यक्रमहरु निर्माण गर्नुपर्छ र त्यसैबमोजिमको बजेटको व्यवस्था गर्नुपर्दछ।’
उनले कनिका छरेजस्तो गरी अनेक शीर्षकमा बजेट छुट्याउने मात्र भन्दा पनि कुन समुदायलाई प्रत्यक्ष या अप्रत्यक्ष लाभ पुग्छ र कुन क्षेत्रको विकास हुन्छ भनेर ठोस रुपमा योजना र कार्यक्रम तय गर्ने र तोकिएको समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउनुपर्ने सुझाव दिइन्।
मन्त्री राणाले कृषि, पर्यटन र पूर्वाधार निर्माण नै सुदूरपश्चिम क्षेत्रका प्रमुख प्राथमिकता हुनुपर्नेमा जोड दिँदै कृषिजन्य उत्पादनलाई व्यवसायिक तथा आधुनिक कृषिसँग जोड्नुका साथै बजारीकरणमा विशेष ध्यान दिनुपर्ने बताइन्।
उनले सुदूरपश्चिममा पनि देशका अरू भूभागमा जस्तै मानिसहरूको बसाईंसराइले जमिन बाँझो छोड्ने प्रवृत्ति बढेकाले हाल खेतीयोग्य जमिन के कति छ भन्ने यकिन गरेर उक्त जमिनमा आधुनिक र व्यावसायिक खेतीका लागि योजना बनाउनुपर्ने बताइन्।
मन्त्री राणाले सुदूरपश्चिम क्षेत्र धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनका क्षेत्रमा निकै समृद्धि रहेकाले पर्यटन प्रवर्धन गर्न ‘हस्पिटालिटी’ लगायतका पर्यटकीय पूर्वाधार निर्माणका क्षेत्रमा प्रभावकारी योजना र बजेटका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
सुदूरपश्चिममा यस्ता पूर्वाधारका क्षेत्रमा बढीभन्दा बढी लगानीका लागि निजी क्षेत्रलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर सामूहिक रुपमा लाग्नुपर्नेमा उनले बताइन्।