राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था र संविधानविरुद्ध देखिएका गतिविधिहरूलाई नजिकबाट नियालिरहेको बताएका छन्।
आइतबार राष्ट्रिय सभाको बैठकमा उनले नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानका विरुद्धमा देखिएका गतिविधिहरूबारे सिंगो राष्ट्रिय सभा नै गम्भीर बन्न आवश्यक रहेको बताएका हुन्।
'यस सन्दर्भमा सिंगो राष्ट्रिय सभा नै गम्भीर बन्न आवश्यक ठानेको छु । समयमा कानुन निर्माण गर्न नसक्दा ऐन कानुनको माग गर्दै सडकमा विभिन्न खालका आन्दोलनहरू भइरहेका छन् । सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई हामीले निर्माण गर्नुपर्ने कानुनहरू यथासम्भव टुङ्ग्याउन र नागरिकको समस्या सम्बोधन गरी सुशासन कायम गर्न सबैको पहलकदमी र साझा प्रतिबद्धता आवश्यक छ,' उनले भने।
अध्यक्ष दाहालले सडकमा मुखरित विषयवस्तु र जनताले अपेक्षा गरे बमोजिम सेवा प्रवाह लगायतका विषयहरूमा गम्भीर ढङ्गले विचार विमर्श गरी निष्कर्षमा पुग्नु अहिलेको कर्तव्य रहेको पनि बताए।
अध्यक्ष दाहालले निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयक लगायतका महत्त्वपूर्ण कानुनहरू राष्ट्रिय सभामा प्राप्त हुनासाथ कारबाही अगाडी बढाउने र समयमै पारित गर्ने विश्वास समेत व्यक्त गरे। - न्युज एजेन्सी नेपाल